डलर महँगिदा रेमिट्यान्स पाउनेलाई भने राहत «

डलर महँगिदा रेमिट्यान्स पाउनेलाई भने राहत

दसैं भित्रिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन उकालो लागेको छ । सामान्यतः दसैंको बेला व्यापारीले पनि मौका हेरेरे वस्तु तथा सेवाको मूल्यवृद्धि गर्ने प्रचलन नयाँ भने होइन । तर, यसपालिको दसैंंमा भने विप्रेषण आउने घरपरिवारलाई भने केही राहत पुगेको छ ।
अमेरिकी डलर हालसम्मकै बलियो बनेकाले पनि रेमिट्यान्स भिœयाउने परिवारलाई दसैंको महँगीमा डलरबाट हुने आम्दानीले केही सन्तुलन गर्ने निश्चित छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले नेपाल पठाउने रेमिट्यान्सको धेरै हिस्सा डलरमा नै आउँछ । पछिल्लो समयमा एक अमेरिकी डलर बराबर ११८ नेपाली रूपैयाँ पुगेको छ । यो अवस्थामा डलरमा रेमिट्यान्स पठाउनेलाई बढी नै फाइदा हुन्छ । जुन फाइदाले महँगिएको दसैंको बजारमा किनमेलका लागि केही राहत पुग्नेछ । चाडबाडमा नेपालीहरूको नयाँ लुगा लगाउने, मिठो खाने संस्कृति भएकाले चाडपर्वका लागि भन्दै विदेशमा रहेका आफन्तले पैसा पठाउने गरेका यो समयमा रेमिट्यान्स आप्रवाह बढी हुने गरेको अधिकारीहरू बताउँछन् ।
डलर बलियो भएका कारण आयातित वस्तु तथा सेवाको मूल्यवृद्धि भएको छ । आयातित वस्तु तथा सेवा खरिद गर्दा पनि रेमिट्यान्स भिœयाउने व्यक्ति तथा परिवारका लागि महँगीकै ठूलो असर पुग्ने देखिँदैन । डलर बलियो भएका कारण रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए । “डलरका कारण बढेको रेमिट्यान्स दसैंले झनै बढाएको छ,” ढुंगानाले भने, “सामान्यतया अन्य महिनाको तुलनामा दसैंको महिनामा रेमिट्यान्स आप्रवाह धेरै हुन्छ ।” यसपालिको दसैंंको महँगीले रेमिट्यान्सले केही सहज बनाउने उनले बताए । “औसत वार्षिक रूपमा ६ अर्ब अमेरिकी डलर रेमिट्यान्स आउँछ,” उनले भने, “यसपालि दसैं तथा डलर बढेको हुनाले वैदेशिक रोजगारीमा गएका नेपालीले सापट गरेर सिमेत नेपाल पठाउने गर्छन् ।” विप्रेषण आप्रवाह गर्ने कम्पनीहरू दिएको जानकारीअनुसार पनि असोज महिनामा रेमिट्यान्स आप्रवाह अन्य महिनाको तुलनामा बढेको उनले बताए । डलर बलियो हुँदा विप्रेषण आप्रवाहमा बढ्न जाने भएकाले महँगी नियन्त्रण गर्नसमेत सहयोग गर्ने उनको भनाइ छ ।
विगतको तुलनमा यसपालिको असोजमा डलर बलियो भएकाले पनि रेमिट्यान्स आप्रवाह बढेको रेमिटर्स एसोसिएसनका अध्यक्ष दिवाकर थापाले बताए । विगतको तुलनामा डलरमा आउने विप्रेषण पनि बढेको उल्लेख गर्दै उनले भने, “विदेशमा गएका नेपाली कामदारको आम्दानी पनि बढेको छ त्यसका साथै अमेरिकी डलर बलियो भएकाले पनि नेपाली मुद्रामा परिवर्तन गर्दा धेरै हुने भएकाले बढेको महशुस हुन्छ ।” रेमिट्यान्स पठाउने ग्राहकको संख्यामा समेत वृद्धि भएको थापाको भनाइ छ ।
चालू आर्थिक वर्षमा पनि अन्य महिनाको तुलनामा असोजमा रेमिट्यान्स आप्रवाह बढ्ने निश्चित छ । गत आर्थिक वर्षको तेस्रो महिना अर्थात असोजमा मात्र ६१ अर्ब रूपैयाँ बरावरको रेमिट्यान्स आएको छ । अघिल्लो वर्षको असोज महिनामा मात्र ५६ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । यसले पनि दसैंंको समयमा रेमिट्यान्स आउने क्रम बढ्दो रहेको स्पष्ट छ । भदौको तुलनामा असोजमा आउने रेमिट्यान्स ५० प्रतिशतभन्दा धेरैले बढेको छ । दसैं, तिहार तथा छठको अवसरमा नेपाल भित्रिने नेपाली तथा विदेशमा रहेका नेपालीले नेपाल पैसा पठाउने भएकाले असोज महिनामा रेमिट्यान्स धेरै आउने गरेको हो ।
रेमिट्यान्स आप्रवाह बढेको भए पनि नेपाली रेमिट कम्पनीहरूले विदेशी रेमिट कम्पनीहरूसँग साझेदारी गरेर रकम ल्याउने र लैजाने गर्छन् । रकम ल्याउने क्रममा पछिल्लो समयमा विदेशी रेमिट्यान्स कम्पनीले पैसा उठाएर नेपाल नपठाउने समस्या समेत वढेको छ । त्यो विकृतिलाई मध्यनजर गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीयसंस्थाले विदेशी पैसा नेपाल नभित्राएससम्म लाभकर्तालाई रेमिट्यान्स भुक्तानी दिन नपाउने व्यवस्था गरेको छ ।
नेपाली कम्पनीले रेमिट्यान्स भुक्तानी दिने तर, आफुले भुक्तानी लिन पर्ने समयमा मुद्दा मामिला गर्नु पर्ने समस्या आउने भएकाले अनिवार्य रूपमा विदेशी रकम भित्राएपछि मात्र भुक्तानी दिने व्यवस्था गरेको हो । यसभन्दा अघि विदेशी रेमिट कम्पनी र नेपाली बैंक वित्तीय संस्थाबीच हुने गरेका कारोबारका प्रक्रियालाई नै रद्द गरेर मुद्रा भित्राउने वा बैंक ग्यारेन्टी गर्नु पर्ने व्यवस्था केन्द्रिय बैंकले गरेको छ । विदेशी कम्पनीले भुक्तानी नदिएको खण्डमा त्यसको दायीत्व नेपाली कम्पनीले नै लिनु पर्ने भएकाले पनि रेमिट कारोबारको प्रक्रिया प्रभावकारी बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्