प्रदेशका कर्मचारी दसैंमा रित्तो हात «

प्रदेशका कर्मचारी दसैंमा रित्तो हात

दोलखा-जिल्ला वन कार्यालय दोलखाका रेञ्जर कपिल रावल दसैं मान्नका लागि घर जान घरबाट खर्च मागेर फर्किए । अछाम घर भएका रावलले सरकारी जागिर खाए पनि पहिलो पटक घर फर्कनसमेत ऋण खोजेर गाडी भाडा गरेर घर गए ।
इलाम घर भएका पशु अस्पतालमा काम गर्ने झलनाथ कोइरालाको हालत पनि उस्तै भयो । सरकारी जागिरको ५ वर्षे अवधिमा उनी पहिलोपटक आर्थिक वर्ष सुरु भएदेखि नै तलब नपाएपछि रित्तो हात लिएर दसैं मनाउन घर फर्किए । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका एक कर्मचारीले भने– हिजोसम्म त तलब आउला भन्ने आश थियो, अब त्यो निरासामा परिणत भयो दसैं खल्लो हुने भयो ।
यी माथिका प्रतिनिधि पात्र मात्र हुन् । तीन तहको सरकारमध्ये यस वर्ष ३ नं. प्रदेश मातहातका कर्मचारीहरू दसैं मनाउन रित्तो हात घर फर्केका छन् । प्रदेश सरकार माताहातका डिभिजन वन, खानेपानी, कृषि, भूसंरक्षण, पशु सेवा, सिँचाइ, जिल्ला प्राविधिक कार्यालय, जल उत्पन्न कार्यालयका दोलखाका मात्र २ सय ५० कर्मचारीहरू तलब र दसैं खर्चबिनै दसैं मनाउन बाध्य भएका छन् ।
सरकारले कर्मचारीका लागि दसैंतिहारजस्ता चाडपर्व मनाउन एक महिनाको तलब बराबरको खर्च दिँदै आएको छ । तर, यसपाली साउनदेखिको तलब समेत प्रदेश सरकार माताहातका कर्मचारीले पाएका छैनन् । हरेक महिना तलब बुझ्दै आएका कर्मचारीहरू ३ महिनाको तलब दसैंमा समेत नपाउँदा निराश भएका छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका प्रमुख कोष नियन्त्रक भीष्म न्यौपानेले घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीबाहेकको तलब आइतबारसम्म नआएको जानकारी दिए । प्रदेश तहका मन्त्रालयले आन्तरिक व्यवस्था गरेर सोमबार सोझै तलब हाल्न सक्ने जानकारी दिए । तर, जिल्ला जिल्ला भूसंरक्षण कार्यालय दोलखाका प्रमुख सुरेश दाहालले सोमबार दिउँसोसम्म तलब आउँने कुनै छाँट भएपछि घर हिडेको बताए ।
तलब नपाउने कर्मचारीहरू कार्यालय सहयोगीदेखि उपसचिव तहसम्मका छन् । केही दिन अघि ४ नं. प्रदेशमा सरुवा भएका डिभिजन वन कार्यालय दोलखाका प्रमुख गोविन्द दाहालले धेरै वर्षमा यसपालीको दसैं खल्लो हुने प्रतिक्रिया दिए । उनले सामाजिक सञ्जालमा लेखे, “खल्लो दसैं २०७५” तै पनि रुक्खासुक्खा जे छ, त्यसैले दसैं उतारौं भन्दै सबैमा शुभकामना ।”
दसैंको अघिल्लो दिन सोमबारसम्म कार्यालय खुलेका छन् । मंगलबारदेखि दसैं विदा सुरु हुँदैछ । “सोमबार दिउँसोसम्म प्रदेश सरकारबाट केही सम्बोधन हुने आशा गरेका थियौं” डिभिजन सिँचाइ कार्यालयका एक कर्मचारीले भने, “अब त दसैंका लागि ऋण खोज्नु पर्ने भयो, त्यो पनि कसले पत्याउला, बालबच्चा र परिवारलाई कसरी खुसी बनाउने अर्को चिन्ता थपियो ।”
अर्का कर्मचारीले भने– घरमा केही हुने र आम्दानीको अन्य स्रोत हुनेले त केही गरी मनाउलान्, तर जागिरकै मात्र भर पर्नेले ४ महिनासम्म तलब नपाएर मनाउने चाडपर्व कस्तो होला आफैं सोच्नुस् ।
दिलबहादुर केसी

प्रतिक्रिया दिनुहोस्