सुर्तीको भुत्तानी नहुँदा ठोरीका किसानलाई समस्या «

सुर्तीको भुत्तानी नहुँदा ठोरीका किसानलाई समस्या

वीरगन्ज-वन्यजन्तुले बाली लगाउन नदिएपछि वैकल्पिक खेतीको रुपमा सुर्ती खेती गरेका पर्साका ठोरीका कृषकले सुर्तीको पात बिक्री गरेको डेढ महिना भन्दा लामो समयमा पनि भुक्तानी नपाएपछि मर्कामा परेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज नजिक पर्ने पर्साको ठोरी गाउँपालिकाका किसानले लगाउन अन्य बालीहरु वन्यजन्तुले नष्ट गरिदिने गरेकाले वैकल्पिक खेतीको रुपमा सुर्ती खेती गर्दै आएका छन् । ९ महिना भन्दा लामो समय मेहनत गरेर बिक्री गरेको सुर्तीको भुक्तानी रोकिएपछि घर खर्च टार्न र खेती गर्न लिएको ऋण तिर्न समस्या परेको किसानहरुले दुखेसो गरेका छन् ।
ठोरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने शान्तिटोल, सुन्दरटोल, निर्मलबस्ती, वडा नम्बर ३ को ब्रम्हानगर, नयाँबस्ती, बुद्धनगरलगायतका गाउँका किसानले सुर्तीको पात बिक्री गरेबापतको भुक्तानी अहिलेसम्म पाएका छैनन् । सुर्ती खेती गरेका ठोरीकै केही किसानहरुले सुर्ती बिक्री गरेर भुक्तानी लिएको भएपनि निषेधाज्ञाको बहानामा भुक्तानी रोकिएपछि आफूहरु मर्कामा परेको शान्तिटोलका किसान राजु थिङले बताए । साउनको पहिलो हप्तामा सुर्तीको पात बिक्री गरेका थिङले डेढ महिना बित्दासमेत रकम नपाएको बताए । यस वर्षका लागि सुर्ती खेती गर्न बिऊ राख्ने समय भइसकेपनि अघिल्लो वर्षको सुर्तीको बक्यौता नपाएपछि फेरि खेती गर्ने कि नगर्ने भन्ने अन्योल भएको किसानहरुको भनाइ छ । ठोरीका धेरैजसो किसानले सुर्ती बिक्री गरेपछि भुक्तानीको रकमले अन्य बाली लगाउने गरेका छन् ।
तर, सुर्ती बिक्री भएको लामो समय हुँदा समेत पैसा हातमा नपरेपछि खेती गर्न लगाएको ट्याक्टरको भाडा समेत तिर्न नसकेको शान्तिटोलका स्थानीय किसान बुद्धी तामाङ्ले बताए । लकडाउन र निषेधाज्ञाले गर्दा आर्थिक समस्या परिरहेको समयमा सुर्तीको रकमसमेत समयमा नपाएपछि घर खर्च टार्न नै समस्या परेको निर्मलबस्तीका किसान पूर्ण थिङ्को दुखेसो छ । ठोरीका किसानहरुले सिमरा स्थित सूर्य नेपाल प्रालिमा सुर्ती बिक्री गर्ने गरेका छन् । सूर्य नेपालले सामान्यतः सुर्ती बिक्री गरेको २ सातापछि रकम भुक्तानी गर्ने गर्छ ।
किसानको सहजताका लागि गएको वर्षदेखि किसानलाई ठोरी ४ विजयबस्तीमा रहेको सयपत्री बचत तथा ऋण सहकारीले रकम भुक्तानी दिँदै आइरहेको छ । सूर्य नेपालले सिमरास्थित एभरेष्ट बैंकमा किसानको रकम जम्मा गर्ने र त्यहाँबाट सयपत्री बचत तथा ऋण सहकारी संस्थाले ठोरीका किसानलाई रकम भुक्तानी गर्ने गरेको छ । तर, निषेधाज्ञाका कारण सिमरामा रहेको एभरेष्ट बैंकले रकम नपठाएपछि किसानलाई सुर्तीको रकम भुक्तानी गर्न नसकिएको सहकारीका व्यवस्थापक सन्तोष श्रेष्ठले जानकारी दिए ।
निषेधाज्ञाका कारण बैंकमा कर्मचारी अभावले रकम पठाउन ढिलो भएको एभरेस्ट बैंकले जानकारी गराएको श्रेष्ठको भनाइ छ । निषेधाज्ञा खुकुलो भएकाले चाँडै सुर्ती किसानको भुक्तानी सुरु गरिने श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्