४० सडकलाई ७० करोड बजेट «

४० सडकलाई ७० करोड बजेट

लमजुङ-गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि लमजुङमा ४० वटा सडक योजनाका लागि झन्डै ७० करोड बजेट विनियोजन गरेको छ । जिल्लाको विभिन्न स्थानीय तहका सडक निर्माण, मर्मतसम्भार तथा स्तरोन्नतिका लागि झन्डै ७० करोड बजेट विनियोजन गरेको हो ।
गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले पूर्वाधार विकास कार्यालयमार्फत बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले बजेट विनियोजन गरेको सडक योजनामध्ये १६ वटा सडक योजनाका लागि एक करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी बेसीसहर–बाग्लुङपानी–घलेगाउँ–भुजुङ सडकका लागि १५ करोड ५९ लाख रुपैयाँ विनियोजन गरेको छ । सोबाहेक करापुटार–डढुवा–साल्मेभन्ज्याङ–मालिङ–कपुरगाउँ सडकका लागि ११ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन भएको प्रदेश सरकारको रातो किताबमा उल्लेख छ ।
त्यसैगरी जिल्लाको राइनास नगरपालिका अन्तर्गत पर्ने नेपालडाँडा तार्कुघाट बोराङखोला सडक का लागि ६ करोड रुपैयाँ विनियोजन भएको छ । बेसीसहर नगरपालिका अन्तर्गतको उदिपुर रिट्ठेबगर रामचोकबेसी–नौथरबेसी शेरा सडक र क्होलासोँथारको सिंग्दी पसगाउँ बगंैचा सडकका लागि छुट्टाछुट्टै तीन÷तीन करोड विनियोजन भएको छ ।
रातो किताबमा उल्लेख भएअनुसार पूर्वी लमजुङको बोराङखोला विचौर सडक स्तरोन्नतिका लागि दुई करोड ५० लाख, भोटेओडार बेलघारी भार्ते गौडा सडकका लागि दुई करोड विनियोजन भएको छ । यस्तै प्रादेशिक सडक मर्मत सम्भारका लागि एक करोड ५० लाख विनियोजन गरेको छ । बेसीसहरकै रिठेबगर बूढीकुवा तिवारी डाँडा फलेनी सडकका लागि एक करोड ५० लाख विनियोजन भएको छ भने मध्यनेपालको भोर्लेटार बांग्रे नेटा पाँणिनी सडकका लागि एक करोड २५ लाख विनियोजन गरेको छ । दूधपोखरी गाउँपालिका अन्तर्गत प्यारजुङ गौडा इलमपोखरी विचौर दूधपोखरी कुनाघाट सडक, राइनासको हर्राबोट–राइनासकोट गौडा सडक, बेसीसहर गाउँसहर काउलेपानी नाल्मा करापुटार सडकका लागि पनि छुट्टाछुट्टै एक करोड २५ लाख रुपैयाँ विनियोजन भएको छ ।
यस्तै सुन्दरबजारको हाँडेटार भागीरथी भन्ज्याङ जिताकोट समिभन्ज्याङ सडक, खत्रेठाँटी कुन्छा सोतिपसल सिसाघाट सडक र सत्र सय दुराडाँडा पुरानकोट बाख्रेजगत सडकका लागि पनि छुट्टाछुट्टै एक करोड २५ लाख रुपैयाँ विनियोजन भएको छ । प्रदेश सरकारले बगैचा बालुवा मुग्री बेसी सडक, लामाबगर ओखरी गौडा सडक र बुढीकुवा आँपचौर बेसीसहर सडकका लागि छुट्टाछुट्टै एक÷एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
जिल्लाका विभिन्न स्थानीय तहमा रहेका १८ वटा सडक निर्माण मर्मतसम्भार र स्तोरन्नतिका लागि ५० लाखका दरले बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले बजेट विनियोजन गरेअनुसार जिल्लामा ५० लाखभन्दा मुनिका भने तीनवटा मात्रै सडक रहेका छन् ।
रातो किताबमा उल्लेख भएअनुसार गाउँसहर दरबार सडकका लागि ४० लाख, बेसीसहरकै नेवार हटियादेखि ढापखेत कुनाखेत हुँदै निर्माणाधीन नेपाली सेना कृषि क्याम्पस जाने सडकका लागि ३५ लाख र बेसीसहर बजारको हाइस्कुल चोकदेखि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जाने सडकका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सडक निर्माण, मर्मत तथा स्तरोन्नतिका लागि ६९ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्