उद्योग वाणिज्य संघले थाल्यो बजार अनुगमन «

उद्योग वाणिज्य संघले थाल्यो बजार अनुगमन


दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यावसायिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा भए नभएको बारेमा अनुगमन सुरु गरेको छ । सोमबारदेखि बजारमा पुगेर मापदण्ड पूरा गरे नगरेको बारेमा जानकारी लिन थालेको हो । निषेधाज्ञा खुलेपछि बजारमा भिडभाड बढेपछि मापदण्ड बारेमा अनुगमन थालिएको स्वास्थ्य सुरक्षा अनुगमन समितिका संयोजक टंकसिह बुढाथोकीले जानकारी दिए । अनुगमनका क्रममा व्यवसायीहरुले स्वास्थ्य मापदण्ड पूरा गरेको नै पाइएको बुढाथोकीले बताए । “अनुगमनका क्रममा नागरिकहरु सचेत नै रहेको पाएका छौं” बुढाथोकीले भने ।
केही स्थानमा व्यक्ति व्यक्ति बीचको दूरी कायम नराखेको पाइएको उनले बताए । दूरी कायम नभएका स्थानमा सेवाग्राहीलाई सचेत बनाइएको उनले बताए । व्यवसायीलाई व्यवसाय गर्दा अपनाउनु पर्ने अन्य सजगताका बारेमा पनि जानकारी गराइएको संयोजक बुढाथोकीले बताए । सोमबार बालमन्दिर चोक, दामोदर चोक, बैंक रोड, न्युरोडमा अनुगमन तथा सचेतना गराइएको थियो ।

बजार खुलेसँगै चहल पहल
सोमबारदेखि निषेधाज्ञा खुकुलो भएपछि बजारमा चहलपहल बढेको छ । जिल्ला प्रशासन कार्यालय दाङले निषेधाज्ञा खुकुलो गराएसँगै सोमबार बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म व्यवसाय सञ्चालन भएका थिए । जिल्लाभित्र निजी तथा सार्वजनिक सवारीका साधनहरु जोर बिजोरको आधारमा सञ्चालन भएका छन् । लामो समयदेखि बन्द रहेका व्यवसायहरु सञ्चालनमा आएपछि व्यवसायमा सुधार आउने अपेक्षा व्यवासायीहरुले गरेका छन् ।
सवारीसाधन तथा बजार खुलेपछि नागरिकले केही सहज महसुस गरेका छन् । लामो समयको निषेधाज्ञाले नागरिकहरु रोगले भन्दा पनि भोकको मर्नुपर्ने अवस्था आएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै काम गरेर खान पाइने अपेक्षामा नागरिकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्