व्यापारीको मनपरी मूल्य, अनुगमन शून्य «

व्यापारीको मनपरी मूल्य, अनुगमन शून्य

सिन्धुली-दसैँ सुरु भएसँगै सिन्धुलीका बजारमा चहलपहल बढेको छ । दसैँको अन्तिम शनिबार सिन्धुलीमाढीस्थित हाटबजारमा दसैँ किनमेल गर्नेको निकै चहलपहल देखिन्थ्यो ।
दसैंका लागि खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर, सुनका गरगहना, विद्युतीय सामान र खसीबोका किनमेलका लागि ग्राहकको भीड बढ्दा व्यापारीलाई भने भ्याइनभ्याई भएको छ । सिन्धुलीको ग्रामीण क्षेत्रबाट सामान किनमेलका लागि सदरमुकाम माडीमा आउने ग्राहकको संख्यामा ह्वात्तै बढेको व्यवसायीको भनाइ छ ।
सिन्धुलीमाडीमा दसैँका लागि मासुको जोहो र नवदुर्गाको पूजाका लागि खसी तथा बोका किन्नेको भीडभाड पनि उस्तै थियो । कनपा–६ की गंगामाया कार्की त्यही भीडभाडमा खसीको मोलमोलाई गरिरहेकी थिइन् । किनौं सुनभन्दा महँगो छ, नकिनौं दसैँ कसरी टार्नु ? उनले गुनासो गर्दै भनिन्, “व्यापारीको मनोमानी पनि कत्तिसम्मको हो ।”
सिन्धुलीका खसी बजारमा अहिले यस्तै गुनासो गर्नेहरू थुप्रै भेटिन्छन् । व्यापारीपिच्छे फरक फरक मूल्य छ । गाँउघरमा भन्दा दोब्बर मूल्य भन्छन्, कनपा–४ का श्याम थापाले भने, “अन्तिम बजार यही हो । जत्ति भने नि किन्नै प¥यो ।”
तीनपाटन गाँउपालिकाका स्थानीय कृषक कृष्णबहादुर क्षेत्रीले भने दसैंका लागि खाद्यान्न, लत्ता कपडा र अन्य समानको जोहो गर्न आफूले पालेका खसी बिक्री गर्न आएका थिए । १५ हजारमा बिक्री गर्छु भनेर आएका कृष्णले १२ हजार रुपैयाँमात्रै हात पारे । उनले भने, “व्यापारी, व्यापारीबीच नै मोलमोलाई हुँदोरैछ, मसँग किनेर अर्काेलाई बेच्दा उसले ४ हजार नाफा खायो ।”
भदौंको पहिलो सातादेखि नै सिन्धुलीका बजारमा खसी बोकाको व्यापार सुरु भए पनि अन्तिम शनिबार भएकाले खसीबोकाको किनबेचमा निक्कै वृद्धि भएको व्यापारीहरूले बताएका छन् । व्यापारीहरूका अनुसार कम्तीमा पनि १५ हजार बढी खसीबोकाको किनबेच भएको अनुमान छ । जिल्लामा खपत नहुने खसीबोका राजधानीसमेत लैजाने गरिएको छ । ग्रामीण क्षेत्रबाट बिक्रीका लागि सदरमुकामसम्म तथा तराईका जिल्ला र राजधानीमा समेत लैजाने गरिएको छ ।
यसैबीच व्यापारीहरूले गत वर्षहरूमा जिल्लामा १३ सयदेखि १५ सय रुपैयाँ धार्नीमा पाइने खसीबोकाको मूल्य धार्नीमा १८ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म कायम राखेका छन् । गत वर्षको तुलनामा यस वर्ष कृषकहरूले नै खसीबोकोको मूल्य वृद्धि गरेका कारण बजारमा व्यापारीले समेत मूल्य वृद्धि गरेको खसी व्यापारी तिलक श्रेष्ठको दाबी छ । अघिल्लो वर्ष जिल्लामा खसीको मूल्य १७ सय कायम गरिएको थियो ।
स्वास्थ्य परीक्षण बिनै किनबेच
सिन्धुलीका बजारमा बिक्रीका लागि ल्याइएको खसीबोकाको स्वास्थ्य परीक्षण हुने गरेको छैन । सरकारले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै खसी बोकाको स्वास्थ्य परीक्षण गरेर राम्रो रिपोर्ट भएका खसीबोकामात्र किनबेच गर्न आग्रह गर्ने गरेको भए पनि बजारमा किनबेच हुने खसीको कुनै स्वास्थ्य परीक्षण हुँदैन । यता जिल्लाका ग्रामीण क्षेत्रबाट बिक्रीका लागि ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण नगरी बिक्री गर्ने गरिएको व्यापारी स्वयं बताउँछन् ।
जिल्लामा पशुको स्वास्थ्य परीक्षण गर्ने क्वारेनटाइलको व्यवस्था नहुँदा यस्तो समस्या आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीले जनाएको छ । जिल्लामा दसैंलगायतका चाडवाडमा हजारौंको संख्यामा खसीबोका, राँगा तथा सुंगुरको बिक्री वितरण हुने गरेको भए पनि त्यसको स्वास्थ्य जाँचका लागि आवश्यक व्यवस्थापन नहुँदा समस्या आएको केन्द्रले जनाएको छ ।
बजार अनुगमन नै हुँदैन
दसैँको मुखमा आइसक्दा पनि सिन्धुलीका व्यापारिक स्थानमा अनुगमन नभएको स्थानीयले गुनासो गरेका छन् । व्यवसायीले आफूखुसी मूल्यवृद्धि गर्दै गुणस्तरहीन सामान बेचिरहेको भए पनि बजारको अनुगमन नहुँदा आफूहरू मारमा परेको उपभोक्ताले गुनासो गरेका छन् । बजार अनुगमन नै हुँदैन । गोलञ्जोर गाउँपालिकाका पदमबहादुर मगरले गुनासो गर्दै भने, “अनुगमन नहुँदा बजारमा व्यापारीको मनपरि चलेको छ ।” बजार नियमित अनुगमन नहुँदा व्यापारीले म्याद गुज्रेका सामानसमेत बिक्री वितरण गर्ने गरेको उनले बताए ।
बजार अनुगमन नहुँदा व्यापारीले मिसावट गर्ने, ठगी गर्ने गरेको उपभोक्ताले बताएका छन् । संघीयता कार्यान्वयन भएपछि जनताको घरदैलोमा आएको स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायले नियमित रूपमा बजार अनुगमन नगर्दा उपभोक्ता ठगिने गरेको उपभोक्ताको गुनासो छ ।
जिल्लाको सिन्धुलीमाडी, धुराबजार, दुंग्रेवास, खुर्कोट, मरिणको कपिलाकोट, फिक्कलको खाङसाङ, तिनपाटनको चकमके, भीमान, दूधौली बजार सिन्धुलीका मुख्य बजार हुन् । जिल्लाका मुख्य बजार नै अनुगमन नहुँदा उपभोक्ता ठगिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्