कुटपिटको विरुद्ध पत्रकार आन्दोलित «

कुटपिटको विरुद्ध पत्रकार आन्दोलित

धनगढी-सञ्चारगृहमा भएको आक्रमणको विरुद्धमा आन्दोलित पत्रकारहरूले आक्रमणकारीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल पत्रकार महासंघ कैलालीको नेतृत्वमा दिनेश सञ्चार गृहको समाचार कक्षमै गई पत्रकारलाई कुटपिट गर्नेलाई चार दिनसम्म कारबाही नगरेको भन्दै सोमबार पत्रकारहरूले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका हुन् । १५÷२० जनाको हुल समाचार कक्षमा प्रवेश गरी त्यहाँ कार्यरत पत्रकारहरूलाई कुटपिट गरेपछि कैलालीका पत्रकारहरू चार दिनदेखि आन्दोलित छन् ।
पत्रकारलाई कुटपिट गर्नेलाई कारबाहीको माग गरेको भए पनि प्रहरी प्रशासनले पक्राउ गर्न चासो नदेखाएकाले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउनु परेको नेपाल पत्रकार महांसघ कैलालीका अध्यक्ष जगत साउदले बताए ।
ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री भट्टले पत्रकारमाथि हातपात गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारणही गर्न प्रहरी लागि परेको बताए । यस विषयमा आफुले सुरुदेखि नै गम्भीर चासो दिएको बताउँदै उनले छिटोभन्दा छिटो दोषीलाई कानुनी कट्घरामा उभ्याउने बताए । उनले पत्रकारमाथि आक्रमण हुनु राम्रो नरहेको बताउँदै सबैले प्रेस स्वतन्त्रताको रक्षा गर्नुपर्ने बताए ।
पत्रकारहरूले आक्रमणका दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गर्दै सोमबार पनि जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा धर्ना दिएका छन् । पत्रकारहरूले आइतबार पनि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुका साथै २४ घण्टे अल्टिमेटमसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका धनगढी–५ ज्वाइँका १९ वर्षीय रोशन विकको गत शुक्रबार मृत्यु भएपछि दिनेश सञ्चारगृहले प्रहरी स्रोत उल्लेख गर्दै ‘युवकले हिरासतमा आत्महत्या’ गरेको समाचार लेखेको थियो । सो समाचारको खण्डन गर्न पुगेका जमातले समाचार कक्षमै पत्रकार जनक विष्टलाई कुटपिट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्