प्रविधिको विकाससँगै चिठीपत्रमा कमी «

प्रविधिको विकाससँगै चिठीपत्रमा कमी

दाङ-बढ्दो इन्टरनेटको प्रयोगले चिठीपत्र आदानप्रदान क्रमिक रूपमा घटदै गएको छ । फोन तथा इन्टरनेट सुविधा नहुँदा चिठीका माध्यमबाट एक अर्कामा खबर आदानप्रदान तथा ‘सन्चो बिसन्चो’को बारेमा बुझ्ने चिठी फोन तथा इन्टरनेटको सुविधा भएपछि चिठी लेख्ने प्रचलन घट्दै गएको हो ।
केही वर्ष पहिलेसम्म चिठी लेख्ने प्रचलन रहे पनि पछिल्लो समयमा चिठीपत्र लेख्ने परम्परामा कमी आएको जिल्ला हुलाक कार्यालय दाङले जनाएको छ । चिठीपत्र कम लेखिन थालेपछि कुनै दिन झोलाभरि चिठीपत्र बोकेर घर खोज्दै हिँड्ने हुलाकीसमेत पछिल्लो समय फुर्सदिला भएका छन् । जिल्ला हुलाक कार्यालयमा २२ वर्षदेखि कार्यरत भागीराम चौधरीले पहिलेको तुलनामा चिठीपत्रहरू घटेको बताउँछन् । “एउटा समय थियो, चिठीपत्र धेरै लेखिन्थ्यो, कहिले काहीं त झोलामा समेत चिठीहरू अटाउँदैन थिए,” चौधरीले भने, “तर आजभोलि चिठीपत्रमा कमी आएको छ, जसको मुख्य कारण हातहातमा मोबाइल उपलव्ध हुनु हो,” मोबाइल फोनको प्रयोगसँगै व्यक्तिगत चिठी लेख्न क्रम घट्दै गएको उनको बुझाइ छ । पछिल्लो समयमा व्यक्तिगत पत्र घटे पनि सरकारी तथा संस्थागत पत्रमा कमी नआएको चौधरीले बताए ।
अहिले पनि सरकारी, विदेशबाट आउने पार्सल, संस्थागत चिठीलगायत व्यक्तिगत चिठी आउने गरेको उनले बताए । बढ्दो इमेल, इन्टरनेट र मोबाइलले गर्दा व्यक्तिगत चिठीपत्रमा कमी आएपछि सरकारी तथा संस्थागत चिठीमा कमी नआएको जिल्ला हुलाक कार्यालय दाङका प्रमुख शोभाकर बस्नेतले बताए । प्रमुखका अनुसार कार्यालयमा चिठीपत्रसँगै पत्रपत्रिका, सरकारी कार्यालयका चिठी दैनिक १० देखि ४० वटासम्म आउने गरेको बताए । प्रविधिको विकासले पहिलेको तुलनामा व्यक्तिगत चिठीपत्र घटे पनि हुलाक कार्यालयको जिम्मेवारी नघटेको बस्नेतले बताए । बस्नेतका अनुसार कार्यालयले चिठीपत्र आदानप्रदान सँगै हुलाक बचत बैंक, पोस्ट बक्स सेवा, एफएफ, केवुल, टेलिभिजनसँगै हुलाक प्रयोजनमा सहयोग पु¥याउने उद्देश्यले पत्रपत्रिकाको दर्ता/नवीनकरण गर्ने काम कार्यालयले गर्दै आएको छ । कार्यालयले पछिल्लो समय जिल्लामा सरकारी कार्यालयमा सूचना अधिकारी तोके नतोकेको तथा प्रत्येक ३/३ महिनामा प्रगति प्रतिवेदन सार्वजनिक गरे वा नगरेको अनुगमन गर्ने काम गरेको उनले बताए । दाङमा जिल्ला हुलाक कार्यालयसँगै १४ वटा इलाका कार्यालय तथा ३० वटा अतिरिक्त हुलाक कार्यालय रहेका छन् । मानपुर, तुलसीपुर, जुम्लेपानी, हापुर, रामपुर, लमही, गढवा, भालुवाङ, कोइलावास, जंग्रहवा, उरहरी, शान्तिनगर लगायतका स्थानमा इलाका हुलाक कार्यालय छन् । कार्यालय प्रमुख बस्नेतका अनुसार जिल्लामा स्थायी कर्मचारी ६२ जना, करार र अतिरिक्त कर्मचारी गरी ११० जना कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्