भरतपुर महानगरले ४ दमकल थप्दै «

भरतपुर महानगरले ४ दमकल थप्दै

चितवन-भरतपुर–१० स्थित अस्पतालमा रोडमा रहेका दुई व्यावसायिक भवनमा आगलागी हुँदा करिब ९० लाख बराबरको क्षति भएको छ । सोमबार राति करिब ९ बजेतिर छहारी प्रोभिजनल एण्ड डेरी स्टोर्स (किराना पसल) मा विद्युत् सर्ट भएपछि आगो सल्केको थियो । बन्द किराना पसलभित्र लागेको आगो एउटै भवनमा रहेको छहारी होटल (तन्दुरी रेस्टुराँ) मा फैलिएको थियो । दमकल स्टेसनबाट करिब १ किमिको दूरीमा रहे पनि बेलैमा आगो नियन्त्रण हुन नसक्दा व्यवसाय २ घण्टामै खरानीमा परिणत हुन पुग्यो ।
“२/३ जना ‘कस्टुमर’ थिए,” होटल सञ्चालक भीमप्रसाद कँडेलले भने, “किराना पसलभित्र पड्केको आवाज आयो, काटुर्न सल्किँदै आगो फैलियो, बन्द सटर खोल्न सकिएन ।” उनले ०६८ सालदेखि सो रेस्टुराँ सञ्चालनमा ल्याएका थिए । नारायणी सामुदायिक अस्पतालनजिकै रहेका छहारी होटल र किराना पसल आगलागीबाट पूर्णरूपमा नष्ट भएका छन् । “आगो लागेपछि खबर ग¥यौँ, तर आधा ट्यांकर पानी लिएर दमकल आयो, आगो नियन्त्रणमा नआएपछि फेरि दमकल पानी लिन फर्कियो,” उनले भने, “पर्याप्त दमकलले आगो बेलैमा निभाएको भए यति क्षति हुँदैनथ्यो कि ।” चौबिसकोठी हस्पिटल रोड टोल विकास संस्थाका अध्यक्ष कमलकान्त शर्माले आगलागी नियन्त्रण गर्न दमकल (वारुण यन्त्र) अभावको महसुस गरेको बताए । “खबर भएपछि दमकल आयो, तर निभाउन नसकेपछि फेरि पानी भर्न पुग्यो,” उनले भने, “लगातार पानीको फोहरा दिन सकेको भए आगो बेलैमा नियन्त्रणमा आउन सक्थ्यो, ठूलो क्षति हुदैनथ्यो ।” उनले महानगरलाई दमकल संख्या बढाएर जनशक्तिलाई खबर पाउनासाथ आगो निभाउन जाने वातावरण बनाउन सुझाएको बताए । दमकलले आगो निभाउन नसकेपछि केहीबेर स्थानीयले बाल्टीमा पानी बोकेर आगो निभाउन खटिएका थिए । बन्द सटरभित्र आगो दन्किएपछि ठूलो क्षति भएको अनुमान छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले आगलागीबाट करिब ९० लाख बराबरको क्षति भएको बताए । “होटलको ६० लाख र किराना पसलको ३० लाख क्षति भएको प्रारम्भिक विवरण छ,” उनले भने, “विद्युत् सर्ट वा ग्याँस लिकेज के कारणले आगलागी भयो भन्ने एकिन भइसकेको छैन ।” फर्निचर, भाँडाकुँडा, तन्दुरी बनाउने मेसीन, किराना सामान, भवनमा क्षति पुगेको छ ।
महानगरपालिकाको वारुण यन्त्र शाखाका इन्चार्ज देवेन्द्रराज रेग्मीले आगो फैलिइसकेको अवस्थामा खबर आएकाले नियन्त्रणमा लिन समस्या परेको बताए । “सटर बाहिरी भागमा आगो देखेपछि बल्ल खबर आयो,” उनले भने, “हामी पुग्दा सटर पुरै रातो भइसकेको थियो, आगोको ज्वाला फैलिसकेको थियो, आगो नियन्त्रणमा लिन २ घण्टा लाग्यो ।” उनका अनुसार खबर पाएको ७ मिनेटमै दमकलले ‘हाइ स्पिड’ मा पानीका फोहराले निभाउने प्रयास गरिएको थियो । तर, दमकलमा पानी सकिएपछि पुनः पानी भर्न फर्किएको थियो ।
दोस्रो पटक पानीको फोहरा दिएपछि कावासोतीको दमकल आइपुग्यो । तीन दमकल पानीले आगो निभ्यो । तर, क्षति रोकिएन । महानगरको दमकलले तेस्रो पटक पनि पानीको फोहरा दिएर बाँकी झिल्का निभाएको थियो । “तेल, घ्यु, फर्निचर जल्दा इन्धनको काम ग¥यो,” उनले भने, “बन्द कोठाभित्र आगो दनदनी बल्यो, जसले क्षति ठूलो भयो ।” आगो सोमबार राति १२ बजे बल्ल नियन्त्रणमा आएको थियो । आगलागी भएको खबर पाएपछि नजिकै रहेको जिल्ला प्रहरी कार्यालयबाट करिब ५० जना प्रहरी खटिए । स्थानीयले पनि आगो निभाउने काममा हातेमालो गरे । घटनास्थलमा मेयर रेनु दाहाल, वडाध्यक्ष अरुणपीडित भण्डारीलगायतले स्थलगत अवलोकन गरे ।

महानगरमा दमकल अभाव
भरतपुर महानगरमा २ वटा दमकल छन् । तर, २१ वर्ष पुरानो ४ हजार लिटर क्षमताको दमकलको भरमा आगलागी नियन्त्रण गर्ने दौडाउनुपर्छ । तत्कालीन भरतपुर नगरपालिकाले ०५४ सालमा किनेको भारतीय कम्पनीको दमकलमात्र काम लाग्ने अवस्थाको छ । ०६९ सालमा उपहार स्वरुप पाएको जर्मनी कम्पनीको ५ हजार लिटर क्षमताको दमकल प्रयोगविहीन अवस्थाको छ । रोटरी क्लब अफ ललितपुर मिड टाउनले पुरानो दमकल उपहार दिएको थियो । “जर्मनी मोडेलको दमकलको पानी फ्याक्ने फ्यान बिग्रिएको छ, पित्तल हालेर बनाउने काम भइरहेको छ,” वारुण यन्त्र शाखाका इञ्चार्ज देवेन्द्रराज रेग्मीले भने, “४/५ महिना भयो, पार्टपुर्जा नपाएर मर्मत हुनै सकेको छैन, एउटा दमकलको भरमा छौँ ।”
जर्मनी दमकल चले पनि पानी फाल्न सक्दैन । “पुरानो मोडेलको रहेछ, न त पार्टपुर्जा पाइन्छ,” उनले भने, “आगलागी भएको खबर पाएपछि माडीबाहेकका क्षेत्रमा एउटै दमकल दौडाउनुपर्छ, जसले क्षति रोक्न मुस्किल पर्छ ।” चालू अवस्थाको दमकल पनि बेलाबखत बिग्रने गर्छ । माडी नगरपालिकामा पनि एउटा दमकल छ । उनले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा दमकलको व्यवस्था गर्नुपर्ने बताए । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चालू आर्थिक वर्षमै ४ वटा दमकल थप गरिने बताइन् ।
“भारतीय दुतावासले ३ वटा दमकल सहयोग गर्दैछ, महानगरले एउटा दमकल खरिद गर्न ८० लाख बजेट छुट्याएको छ,” उनले भनिन्, “अर्थ मन्त्रालयबाट स्वीकृत भएर दुतावाससम्म आवश्यक डकुमेन्ट पेस गरिसकेका छौं ।” उनले आगलागी घटनामा तत्कालै दमकल पुग्न नसक्दा ठूलो क्षति हुने गरेकाले दमकलको संख्या बढाउन लागिएको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्