कोरोनाले बिचल्लीमा परेकालाई सहयोग गर्दै मिसेस टुरिजम

छिरिङ डोल्मा शेर्पा मिसेस टुरिजम नेपाल २०१९ की विजेता हुन् । मिसेस टुरिजम विजेताको नाताले उनको दायित्व हो–विश्वभर नेपालको पर्यटन प्रवद्र्धनका लागि योगदान दिने । तर उनी अहिले काठमाडांैको बौद्ध फूलबारीमा बिचल्लीमा परेका परिवारहरुलाई सहयोग गर्दै आएकी छिन् ।
मोडेलसमेत रहेकी उनले हालसम्म कोरोना महामारीको कारण विचल्लीमा परेका १ हजार ३ सय भन्दा बढीलाई खाद्य सामग्री तथा लत्ता कपडा वितरण गरिसकेकी छिन् । उनी प्रत्येक दिनजसो बौद्ध र फूलबारी क्षेत्रमा कोरोनापछिको अवस्थामा आम्दानी गुमेर बाँच्नका लागि संघर्ष गरिरहेका मजदुर र उनीहरुको परिवारका लागि चामल, दाल, तेल, नुन लगायतका खाद्य सामग्रीका साथै लत्ता कपडा वितरण गर्ने गर्छिन् ।
‘कोरोनापछि सहरमा धेरै मजदुर र उनीहरुको परिवारको विचल्ली देखेपछि उनीहरुलाई बाँच्नका लागि राहत स्वरुप खाद्यान्न र कपडा वितरण गर्न थालेको हुँ,’ उनले भनिन्, ‘कोरोनापछिको सबैको विचल्लीको अवस्थाले मन छोयो, त्यसपछि वितरण गर्न सुरु गरेको हुँ । अहिलेसम्म १ हजार ३ सयभन्दा बढीलाई वितरण गरिसकेको छु ।’
सन् १९९८ देखि मोडेलमा लागेकी र नेपाल मोडलिङ एशोसियसनको आजीवन सदस्य समेत रहेकी उनी थामसेकु ट्रेकिङमा आवद्ध छिन् । कल्चरल एण्ड टुरिजम गुडवील राजदूत समेत रहेकी उनी तेञ्जिङ डोल्मा शेर्पा फाउण्डेसनकी अध्यक्ष पनि हुन् । उनले विभिन्न सामाजिक काममा आफूलाई सकृय गराउँदै आएकी छिन् । डोल्माले हिमाल आरोहरणमा संलग्न मजदुरहरुको बालबच्चका लागि समेत सहयोग गर्ने योजना बनाएकी छिन् । कोरोना महामारीको कारणले पर्यटन क्षेत्र प्रभावित भएपछि अहिले उनीहरुको अवस्था पनि दयनीय बन्दै गएको छ ।