साउदीमा मृतक श्रमिकको संख्या बढ्दो «

साउदीमा मृतक श्रमिकको संख्या बढ्दो


साउदी अरबमा कोरोनाका कारण मृत्युदर बढ्दै गएपछि शव व्यवस्थापनमा समेत समस्या आउन थालेको छ । श्रम गन्तव्य मध्ये साउदी अरबमा कोरोनाका कारण मृत्युदर हालसम्मको उच्च रहेको कारण शव व्यवस्थापनमा समस्या आएको हो ।
खाडी, मलेसियाजस्ता बढी श्रमिक रहेका श्रम गन्तव्यमा कोरोनाको जोखिम बढ्दै गएका कारण निम्न जीवनस्तर भएका नेपालीको मृत्युदर बढी देखिएको हो । कोरोना सहित विभिन्न कारणले साउदी अरबमा मृत्यु भएका ६० नेपालीको शव हाल अलपत्र अलपत्र अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा मृत्यु भएका मध्ये सबैभन्दा बढी साउदी अरबका रहेका कारण त्यहाँबाट स्वदेश फर्कन चाहनेको संख्या बढी रहेको छ । मार्च यता साउदी अरबमा मात्रै ४१ सहित ५२ जनाको मृत्यु भएको साउदी अरब स्थित नेपाली दूताबासले जनाएको छ ।
साउदी अरबमा मृत्यु भएका अधिकांश रोजगारीमा गएका श्रमिक रहेका छन् । साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिहं राजपूतले मार्चयता बढेको मृत्युदर हाल ५२ पुगेको जनाएको जनाएका छन् । केही दिन अघि साउदी अरबमा रहेका नेपाली स्वदेश फर्कन माग गर्दै दूतावासमा धर्ना गरेका थिए ।
साउदीस्थित नेपाली राजदूतावासले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी रहेको र ती शव नेपाल पठाउने प्रक्रियामा रहेको जनाएको छ । हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३ सय ३९ नेपालीहरुको शव नेपाल ल्याइएको छ । साउदी अरबबाट मात्र हालसम्म १०२ जनाको शव नेपाली ल्याइएको कोभिड १९ संकट व्यवस्थापन समितिले जनाएको छ ।
यसका साथै यो साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ । शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले जानकारी दिए ।
स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार र साउदी अरब लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।
कोरोना संक्रमणका कारण नेपाल सहित विश्वभर जम्मा ५ सय ७९ जनाको निधन भइसकेको छ । यस्तै विश्वभर ९० हजार ७ सय ६७ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७१ हजार ७ सय १७ जना कोरोना मुक्त भएका छन् । नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७८.७ प्रतिशत रहेको छ ।

गैरआवासीय नेपाली संघको अनुरोध

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले विदेशवाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टिन बस्न अनुरोध गर्नुभएको छ । विदेशमा पीसीआर परिक्षण गराएर नै स्वदेश जाने भएतापनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन डा. सापकोटाले आग्रह गर्नुभएको हो ।

संक्रमण जुनसुकै बेला पनि हुनसक्ने जोखिम रहेकाले यात्रापछि पनि ज्वरो आउने, सास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्ने जस्ता समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जचाउन पनि उहाँले अनुरोध गर्नुभयो । यसका साथै स्वदेश फर्कन चाहने नेपालीलाई पनि संयमित भएर आफ्नो उडानको प्रतिक्षा गर्न र त्यसका लागि आवश्यक पीसीआर परिक्षण समयमै गर्न समेत डा. सापकोटाले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्