विज्ञ सम्मेलनले दिएको सन्देश «

विज्ञ सम्मेलनले दिएको सन्देश

राष्ट्रिय स्रोत–साधन र सामथ्र्य पहिचानका लागि अब देशभित्र रहेका वा देशबाहिर रहेका विज्ञहरूले नै सरकार र आमनागरिकलार्ई बाटो देखाउनुपर्ने अवस्था छ ।

गैरआवासीय नेपाली संघ (एनआरएन) स्थापना भएको डेढ दशकपछि यस वर्ष राजधानीमा आयोजना गरिएको विज्ञ सम्मेलनले देशलाई सही समयमा सही निर्णय लिनका लागि मार्गदर्शन प्रदान गरेको छ । यतिखेर नेपाल राज्य पुनर्संरचनाको प्रक्रियामा छ । भर्खरैमात्र तीनै तहका सरकारहरूले आफ्नो कार्यभार सम्हालेको अवस्था छ । मुलुकले योजनाबद्ध विकास अभ्यास अँगालेको ६ दशक बितिसकेको अवस्थामा पनि अहिले नेपालको विकासका मोडल विषयमा आधारभूत बहस मात्र हुने गरेको छ । जबकि यस अवधिमा नेपाल जस्तै सानो अर्थव्यवस्था भएका देशहरू पनि आर्थिक उन्नतिको शिखरमा पुगिसकेका छन् । हामीसँग अवसर र सम्भावनाहरू नभएका कारण देश पछाडि परेको भने होइन । उपलब्ध स्रोतसाधनहरूलाई कसरी सही ढंगले परिचालित गर्ने भन्ने विषयमा राज्यको नीतिनिर्माण तहमा कायम रहँदै आएको अन्योलकै कारण हाम्रो विकास प्रयास कमजोर बन्दै गएको हो । पहिला त, आर्थिक विकासका लागि मुलुकले प्राथमिकता दिनुपर्ने क्षेत्रहरूको पहिचान नै गर्न सकिएन । राज्यले प्राथमिकता दिनुपर्ने क्षेत्रहरू, निजी क्षेत्रको सहभागिता सक्ने सम्भाव्य क्षेत्रहरू एवं वैदेशिक लगानी परिचालन क्षेत्रहरू किटान गर्न नसक्दा पर्याप्त लगानी नै भएन, भएका लगानी पनि छरिन पुग्यो । प्रत्यक्ष वैदेशिक लगानी परिचालनको सन्दर्भलाई मात्र हेर्ने हो भने हामी दक्षिण–एसियामै सबैभन्दा तल्लो पंक्तिमा पर्छौं । जबकि सन् १९९० को दशकपछि नेपालले अवलम्बन गरेको खुला बजार अर्थनीतिअनुसार यहाँ वैदेशिक लगानी परिचालनका लागि सबैभन्दा खुला र उदार अवस्था छ भन्ने गरिएको थियो । वास्तवमा हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई लगानीको उत्कृष्ट गन्तव्य हो भनेर बजारीकरण गर्न सकेनौं । फलतः वर्षमा औसत १० करोड अमेरिकी डलरभन्दा कममात्र प्रत्यक्ष वैदेशिक लगानीमैै नेपालले चित्त बुझाउनुपरेको छ ।
यहाँ उपलब्ध स्रोत–साधन तथा विश्वकै दुई ठूला उदाउँदा अर्थतन्त्रहरूबीचको अवस्थितिले नेपाल बाह्य लगानी परिचालन गर्न सकिने सम्भाव्य बजारका रूपमा रहनुपर्ने हो । विश्वका झन्डै ४० प्रतिशत जनसंख्याको बीचमा रहेको नेपाल थोरै लगानीमा ठूलो बजार पहुँच पाउनसक्ने सम्भावना भएको देश हुँदाहुँदै पनि यहाँ कमजोर बाह्य लगानी प्रवाहले हाम्रो आर्थिक विकास सुस्त बन्न पुगेको छ । प्रत्यक्ष लगानीबाहेक पर्यटन र रेमिट्यान्सजस्तो स्रोत परिचालन पनि उपलब्ध सम्भावनाभन्दा पनि कमजोर अवस्थामा छ । त्यसैले राष्ट्रिय स्रोत–साधन र सामथ्र्य पहिचानका लागि अब देशभित्र रहेका वा देशबाहिर रहेका विज्ञहरूले नै सरकार र आमनागरिकलार्ई बाटो देखाउनुपर्ने अवस्था छ ।
विश्वका ७९ मुलुकमा रहेका गैरआवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई सही ढंगले, लक्षित क्षेत्रहरूमा बढीभन्दा बढी परिचालन गर्ने भन्ने विषयमा पहिलो पटक आयोजना गरिएको विज्ञ सम्मेलनले भविष्यका लागि सानो बाटो खोल्ने काम गरेको छ । अहिलेसम्मको हाम्रो अलमल भनेकै हामीले पुँजी भनेर भौतिक सम्पत्तिलाई मात्र प्राथमिकता दियौं, मानवीय पुँजीले हासिल हुन सक्ने उपलब्धिहरूलाई विज्ञ सम्मेलनले विशेष प्राथमिकता दिएको छ, जसमध्ये प्रविधिको प्रयोगबाट उत्पादकत्व अभिवृद्धिका लागि गर्न सक्ने पहलहरूमा अब हाम्रो ध्यान जानैपर्छ । किनभने विश्वभरि नै पछिल्लो समयमा बढ्दो आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् ज्ञानमा आधारित प्रविधिले मानवीय श्रम प्रयोगमा कमी ल्याउने सम्भावना उजागर गर्दै गएको छ । हाम्रो श्रमप्रधान अर्थतन्त्रलाई कसरी प्रविधिसँग आबद्ध बनाएर उत्पादकत्व अभिवृद्धि गर्दै बलियो अर्थतन्त्र बनाउन सकिन्छ भन्ने विषयमा अबको हाम्रो सोच केन्द्रित गर्न सम्मेलनले दिएको गहन सुझावलाई मनन गरिनुपर्छ । सरकारले पनि विज्ञहरूको सम्मेलनबाट प्राप्त निष्कर्षहरूलाई बढीभन्दा बढी राष्ट्रिय विकास प्रक्रियामा उपयोग गर्ने सोच बनाउनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्