साल्ट ट्रेडिङले चिनी आयात प्रक्रिया अघि बढायो «

साल्ट ट्रेडिङले चिनी आयात प्रक्रिया अघि बढायो

साल्ट ट्रेडिङ कर्पोरेसनले नजिकिँदै गरेको चाडपर्वमा चिनीको अभाव नहुने गरी आयातका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ । कर्पोरेसनले दसैं, तिहार तथा छठ लगायतका चाडपर्वमा अभाव नहुने गरी २० हजार टन चिनी आयातको खरिद प्रक्रिया अघि बढाएको हो । सरकारले कर्पोरेसनलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिइसकेको छ भने कर्पोरेसनबाट पनि टेन्डर आह्वान भइसकेको छ । दसैं अगाडि नै चिनी आइपुग्ने कर्पाेरेसनले जनाएको छ ।
कम्पनीका नायव महाप्रबन्धक कुमारराज भन्डारीले दसैं अगाडि चिनी आयात भइसक्ने हुँदा बजारमा अभाव नहुने बताए । उनका अनुसार भन्सार छुटमा आयात गर्न लागिएको चिनी असोज अन्तिम साताभित्र आइपुग्नेछ । चाडपर्वमा बजारमा चिनीको खपत धेरै हुने हुँदा सरकारले कर्पाेरेसनलाई भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिएको हो । सरकारले कम्पनीलाई १० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको छ । खाद्य व्यवस्था तथा व्यापारी कम्पनीले चिनी खरिदका लागि टेन्डर प्रक्रिया ढिला भएकाले तिहारको समयमा मात्र चिनी आयात हुने जानकारी दिएको छ । टेण्डर प्रक्रिया ढिलाइ भएकाले दसैंमा चिनी आयात गर्न नसकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीका नायव महाप्रवन्धक श्रीमणिराज खनालले तिहार र छठलाई केन्द्रित गरेर चिनी आयात गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
दुवै कम्पनीले टेन्डर आह्वान गरेर बाहिरी मुलुकबाट भन्सार छुटमा चिनी आयात गर्न लागेका हुन् । सरकारी कम्पनीमार्फत चिनी आयात गर्दा बजार मूल्यमा हस्तक्षेप भइ उपभोक्ताले सहुलियदरमा पाउने गर्छन् । गत साउनदेखि उद्योगसँग भएको मौज्दात चिनी सकिएपछि बजारमा मूल्य बढेको छ । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई पनि विदेशबाट चिनीको आयात गर्ने अनुमति दिएको छ । कम्पनीले ल्याउने १० हजार मेट्रिक टन चिनी भने तिहारसम्मा आइपुग्ने कम्पनीले बताएको छ । मुलुकमा दैनिक करिब ७ सय १५ किलो चिनी खपत हुन्छ । यस्तै, ४ जनाको परिवारले एक वर्षमा १० किलो सम्म चिनी खपत गर्दै आएको चिनी उत्पादक संघको तथ्यांक छ । अन्य समयको तुलनमा चाडबाडको समयमा चिनीको खपत धैरै हुने गर्छ । सहुलियतदरको चिनी समयमा आउन नसके बजारमा अभाव भइ मूल्य बढ्ने व्यवसायीको भनाइ छ ।
मुलुकमा वार्षिक दुई लाख ५० हजार टन चिनीको माग रहेकोमा गत वर्ष एक लाख ८० हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । कोराना भाइरसका कारण खुला सिमाबाट चिनी आयात हुन सकेको थिएन । अहिले निजी क्षेत्रका व्यवसायीले समेत चिनी आयात गरिरहेको जानाएको छन् । खुला सीमाका कारण ठूलो परिमाणमा तस्करीबाट मुलुकमा चिनी आयात हुने गर्छ । नेपालमा ११ वटा सुगर मिल सञ्चालनमा रहेका छन् । सबैको क्षमता जोड्दा एक सिजनमा ४ लाख ५० हजार टन चिनी उत्पादन हुन सक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्