३५ प्रतिशत पानी हराउँछ लेखनाथ साना सहरी खानेपानी आयोजनाको «

३५ प्रतिशत पानी हराउँछ लेखनाथ साना सहरी खानेपानी आयोजनाको

पोखरा महानगरपालिका–३० को खुदिस्थित लेखनाथ साना सहरी खानेपानी आयोजनामा अझै पनि विभिन्न कारणले गर्दा ३५ प्रतिशत जसो पानी हराउने गरेको छ । लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पत्रकारसँग आयोजना गरेको अन्तरसम्बन्ध, स्वागत तथा छलफल कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले विभिन्न कारणले गर्दा हिजोआज ३५ प्रतिशत जसो पानी हराउने गरेको बताएका हुन् ।
केही ठूला भनौदाले नै पानी चोर्ने, बेलाबेलामा वितरण प्रणालीको पाइप फुट्नु, वासआउट र फाएर हाइड्रेण्डबाट पानी खेर जानु, घरमा जडित धाराको स्याडल लिक हुनु, भल्व च्याम्बरबाट पानी लिकेज हुनुले गर्दा पानी हराएको अध्यक्ष बरालले दाबी गरे । त्यसैगरी दक्ष प्राविधिक जनशक्ति अभाव हुनु, खानेपानी वितरणमा पाइप लिकेज हुनु, पानी मिटर जाम हुनु र समयमै जानकारी नहुनु, बल्क मिटर सही डाटा नदेखाउनु, खानेपानी मिटरमा हावाले उल्टो घुम्नु, पानी चुवाटको सूचना ढिलो प्राप्त हुनु, सचेतनाको कमीले खानेपानी हराएको उनले दाबी गरे । पानी हराउने अर्को समस्याको रूपमा भौतिक संरचना निर्माण गर्दा संस्थाले वितरण गरेको पानीका पाइप लाइनहरू काटिदिनु केही ठाउँमा सडक निर्माण गर्दा पुनः नबनाउनुले थप आर्थिक भारसमेत हुने गरेको अध्यक्ष बरालले जनाए ।
०६९÷७० मा उक्त परियोजनामा पानी करिब (पानी हराउने) ४६ प्रतिशत रहेकोमा ०७५÷७६ मा ३० प्रतिशतमा झारेको उनले दाबी गरे । उक्त संस्थाको पानी उत्पादन क्षमता हाल दैनिक जसो ८ हजार ८ सय १७ घनमिटर छ भने दैनिक पानी ५ हजार ८ सय १७ घनमिटर खपत हुने गरेको संस्थाले जनाएको छ । स्रोतको व्यवस्थापन नहुनु, एकीकृत बस्ती÷खानेपानी आयोजना, खानेपानी लिफ्टमा विद्युत् महशुल, मापदण्ड कार्यान्वयनमा समस्या, थाक खानेपानीलाई एकीकृत गर्नुपर्ने, यस संस्थाका उपभोक्ताले वडाबाट सिफारिस लिँदा रोक्का फुकुवा सिफारिस हुनुपर्ने, बोरिङ पानी सम्बन्धमा एनआरडब्लू र स्रोत र कर्मचारीको उपदान तथा सामाजिक सुरक्षा कोष स्थापना गर्नुपर्ने १० वटा समस्या रहेको अध्यक्ष बरालले बताए । हराएको पानीको खोजिका लागि त्रिभुवन विश्वविद्यालयका ६ जना विद्यार्थीलाई यस विषयमा रिसर्च गर्नसमेत लगाइएको उनले जनाए । संस्थाले नेपाल सरकारको खानेपानी तथा ढलनिकास विभाग र फिलिपिन्सको मेनिल्याण्ड वाटर सर्भिस कम्पनीसँंगको सहकार्यमा नेपालमै पहिलो पटिक एनआरडब्लू सम्बन्धी सैद्धान्तिक ज्ञान हासिल गर्नुको साथै व्यावहारिक रूपमा अध्ययन सुरु गरेको अध्यक्ष बरालले जनाए । पैसा नउठ्ने पानी प्रतिदिन ३ हजार ४ सय ४९ घनमिटर करिब ३५ प्रतिशत रहेको अध्यक्ष बरालले दाबी गरे । उक्त परियोजनाबाट दैनिक पानी उत्पादन ९ हजार ७ सय ७४ घनमिटर रहेको उनले जनाए ।
घरघरमा पानी सभ्यताको निशानी, आफ्नो घर आँगन टोल आफै सफा राखौं, मुहानदेखि मुखसम्म शुद्ध पानी, हाम्रा उपभोक्ताको सरोकार र निगरानी, घर घरमा हरियाली, सबै कार्यालयमा फुलबारी भन्ने नारा ल्याएको संस्थाका सचिन मुरारी शर्माले बताए । संस्थाले हाल तीन प्रणालीबाट पानी वितरण गरेको छ । मूल तथा सतहको पानी ४ हजार १ सय ७ घनमिटर प्रतिदिन, बोरिङ पानी उत्पादन ५ हजार ६ सय ६८ घनमिटर प्रतिदिन, दैनिक पानी खपत प्रतिव्यक्ति ८८ लिटर रहेको सचिव शर्माले जनाए । उक्त परियोजनाबाट पोखरा महानगरका–२६, २७, २९, ३०, ३१ र ३२ वडाका करिब ८४ हजार जनाले प्रत्यक्ष रुरूमा पानी प्रयोग गरेको उनले जनाए । समथर स्थलमा मुल सतहको पानीमा उपभोक्ता र सरकारको ५०÷५० प्रतिशत लगानीमा, पहाडी भेगमा बोरिङ तथा सम्पवेल मार्फत वितरित पानी सहलगानी मोडल स्थानीय उपभोक्ता ३० प्रतिशत, एकीकृत बस्तीमा लेखनाथ बृहत् जलवायु अनुकूल खानेपानी आयोजना (मूल सतहको पानी) स्थानीय उपभोक्ताको १० प्रतिशत लगानीमा संचालन भएको छ । संस्थाको परिसरमा एकसहित ८ वटा खानेपानी बोरिङ सञ्चालनमा छ ।
२०६२ मंसिर १० देखि सुरु भएको उक्त परियोजना ४ वर्ष पश्चात २०६५ असार १ गते सम्पन्न भएको थियो भने निर्माण व्यवसायीबाट उपभोक्ता संस्थालाई खानेपानी आयोजना २०६७ जेठ ३१ गते हस्तान्तरण भएको कोषाध्यक्ष नारायणी भट्टराईले बताइन् ।

प्रतिक्रिया दिनुहोस्