हाम्रो उद्देश्य समृद्धि विस्तार गर्नु पनि हो «

हाम्रो उद्देश्य समृद्धि विस्तार गर्नु पनि हो

अनिर्वाण घोष दास्तिदार , प्रमुख कार्यकारी अधिकृत, स्ट्यान्डर्र्ड चार्टर्ड बैंक


अनिर्वाण घोष दास्तिदार स्ट्यान्डर्र्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत हुन् । स्ट्यान्डर्र्ड बैंकको बु्रनाई, फिलिपिन्स र श्रीलंकामा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका दस्तिदारसँग भारतको प्रायरिटी बैकिङको बिजनेस हेड, कन्जुमर बैंकको क्यापिटल मार्केट एण्ड रिजनल हेडलगायतका बैंकसँग काम गरेको अनुभव छ । भारतको एएनजेड ग्रिन्डलेज बैंकबाट आफ्नो क्यारियर सुरु गरेका दस्तिदारले बैकिङ क्षेत्रमा २६ वर्ष बिताइसकेका छन् । उनीसंँग श्रीलंकामा विभिन्न चेम्बर अफ कमर्शमा सक्रियताका साथ काम गरेको अनुभव पनि छ । साथै, फिलिपिन्समा रहँदा उनी स्ट्यान्डर्र्ड चार्टर्ड बैंकका तर्फबाट ब्रिटिस चेम्बरको बोर्ड सदस्य रहेका थिए भने ब्रिटिस स्कुल अफ मनिलाको ट्रष्टी पनि थिए । ब्रुनाईबाट करिब १८ महिनाअघि नेपालमा आफ्नो जिम्मेवारी सम्हाल्न आएका उनले युनिभर्सिटी अफ कलकत्ताबाट वाणिज्यमा स्नात्तक उत्तीर्ण गरेका छन् भने विभिन्न प्रतिष्ठित विश्वविद्यालय जस्तै युनिभर्सिटी अफ अक्सफोर्डबाट व्यवस्थापनसम्बन्धी विभिन्न कोर्ष पनि पूरा गरेका छन् । मार्च २०१९ देखि स्ट्यान्डर्र्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत रहेका दस्तिदारसँग नेपालको बैकिङ क्षेत्रबारे कारोबारले गरेको कुराकानीको सार :

विश्वव्यापी महामारी कोभिड–१९ ले विश्वकै व्यवसाय नराम्ररी प्रभावित भएको छ । तपाईंको विचारमा नेपाली बैंकहरू कत्तिको प्रभावित भएका छन् ?
बैंकहरू नेपालको वृद्धि र नेपाली अर्थतन्त्रको अभिन्न अंग हुन् । अन्य मुलुकजस्तै नेपाल पनि नराम्ररी प्रभावित भएको छ र नेपालका बैंकहरूले पनि सुस्ती र अर्थतन्त्रका अन्य क्षेत्रमा यससम्बन्धी असर छोडेका छन् । विशेषगरी भ्रमण र पर्यटन क्षेत्रमा रोजगारी गुमेका छन्, प्रवासी नेपालीमा परेको असरले त्यहाँबाट कामदारले पठाउने विप्रेषणमा कमी आएको छ, कम उपभोगले बैंकमा तरलता बढेको छ र यसको परिचालन विस्तारित हुन सकेको छैन । योभन्दा पनि उच्च नाफाका दिनहरू सकिएका छन् र निष्क्रिय अवस्थाका आर्थिक गतिविधिले बैंकहरूले आफ्नो वासलातलाई सन्तुलनमा राख्न संघर्षको अवस्थाको सामना गर्नुपर्ने देखिन्छ ।

यद्यपि नेपाली बैंक तथा वित्तीय संस्थाहरूको गत आर्थिक वर्षको वासलातले अपेक्षा गरिएअनुरूपको त्यति निराशाजनक चित्रण गर्दैनन् नि ?
आधारभूत रूपमा सुदृढ पुँजीगत अवस्थाको अत्यन्त स्थिर बैंकिङ उद्योगको आशीर्वाद नेपाललाई मिलेको छ । तरलता ठूलो मुद्दा बनेको छैन र यसको श्रेय हाम्रो नियामक नेपाल राष्ट्र बैंकलाई जान्छ, जसका कारण हाम्रा उद्योगहरूको विकासको अवस्था राम्रो भएको छ । हालको सवाल यो छ कि अर्थतन्त्रलाई पुनः सुचारु गराउन र वृद्धिमा ल्याउनका लागि बैंकहरूले वासलातलाई कसरी परिचालन गर्ने भन्ने हो । कोभिडपूर्वको व्यावसायिक अवस्थाको मामिलामा गत आर्थिक वर्षको भूमिका राम्रो थियो । कोभिड सुरु हुनुपूर्वको व्यवसाय सामान्य अवस्थामै चलिरहेको थियो । २०२० को मध्यजुलाईमा अन्त्य भएको आर्थिक वर्षको अन्तिम तीन महिनामा मात्रै लकडाउनको असर रेकर्ड गरिएकाले असर व्यापक रूपमा निष्क्रिय हुने अनुमान गरिएको थियो । यद्यपि गत आर्थिक वर्षको चौथो त्रैमासदेखि कोभिड–१९ को असर महसुस गर्न थालिएको थियो । बैंकहरूको चौथो त्रैमासको नतिजाले यसलाई प्रतिविम्बित गरेको छ । नयाँ आर्थिक वर्षमा पनि असर देखिने अपेक्षा हामी गर्न सक्छौं । तर, यो २०२१ को मध्यसम्ममा अर्थतन्त्र कसरी बढ्छ भन्नेमा निर्भर रहन्छ ।

केही वर्षअगाडि अन्तर्राष्ट्रिय मुद्रा कोषको नेपाल मिसनले केही बैंक तथा वित्तीय संस्थाहरूको एभरग्रिनिङ समस्याका बारेमा रिपोर्ट गरेको थियो । केहीले अभैm पनि भन्ने गरेका छन् कि केही बैंक तथा वित्तीय संस्थाहरूले उनीहरूको वासलातलाई हल्का तोडमोड गर्छन् । के यो नै बैंक तथा वित्तीय संस्थाहरूको गत आर्थिक वर्षको वासलातमा अपेक्षितभन्दा कम असर पर्नुको कारण हुन सक्छ ? तपाईंको विचार के छ ?
विद्यमान नियामक र सुपरिवेक्षणको अवस्थालाई आधार मान्दा यस किसिमको अभ्यासले निरन्तरता पाउला भन्ने सम्भावना न्यून छ । बैंक तथा वित्तीय संस्थाहरूको वासलातले ठूलो असर परेको नदेखिनुका कारणमा अघिल्लो वर्षको व्यावसायिक भूमिकालाई पहिले भनिएजस्तै प्रि–कोभिड व्यावसायिक अवस्थाले चलाएको थियो । यसले २०१९ को तुलनामा बैंकिङ क्षेत्रको परिवृत्त परिवर्तन भएको देखाएको छ । कोभिडले आर्थिक अवस्था परिवर्तन भएसँगै हाल सूचकहरू फरक देखिएका छन् । योभन्दा पनि हालै सार्वजनिक गरिएका निर्देशिकाहरूको मातहतमा नियामक निकायले विभिन्न किसिमका नियमहरू परिवर्तन गरेको छ । हालैको निर्देशिकाले पनि यसमा केही परिवर्तन गर्न महŒवपूर्ण भूमिका खेलेका छन् ।

देशले न्यून आर्थिक वृद्धि हासिल गरेका वर्षमा पनि नेपालका बैंक तथा वित्तीय संस्थाहरूले राम्रो मुनाफा हासिल गरेको आरोप लाग्ने गरेको छ । के बैंक तथा वित्तीय संस्थाहरूको नाफा र देशको आर्थिक वृद्धिबीच कुनै सम्बन्ध छ ? वा यो सम्बन्ध नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकमा धेरै असर नपर्ने हुन्छ ?
हामी यो वर्षको मार्चमा फर्केर हेरौं । उक्त समयमा अवस्था विल्कुल फरक थियो । उक्त समयमा कर्जा प्रेरित वृद्धिका लागि ठूलो माग थियो । बैंकहरू निक्षेपका लागि लडाइँ गरिरहेका थिए । माग बढ्दो थियो । यसले उपभोगलाई बढाइरहेको थियो । बैंक तथा वित्तीय संस्थाहरूको भूमिका गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्रतिविम्बित भएको थियो । तर, हाल आएर अवस्थामा नाटकीय परिवर्तन आएको छ । हाल निष्क्रिय आर्थिक गतिविधिको असर बैंकको वासलातमा देखिन थालेको छ र लामो अवधिका बैंकिङ उत्पादनको प्रकृतिका कारण यसो भएको हो । आगामी वर्षहरूमा हुने यसका अपेक्षित असरहरू भनेको आम्दानी वृद्धिदर, सञ्चालन नाफा सुस्त हुने र कर्जा प्रवाहमा पनि सुस्ती आउन सक्छ । महामारीको वास्तविक असरको महसुस हालै सुरु भएको छ र यो आगामी आठदेखि नौ महिनासम्म रहिरहनेछ ।
सामान्य रूपमा भन्नुपर्दा देशको आर्थिक वृद्धि र बैंक तथा वित्तीय संस्थाहरूको नाफाबीचको सम्बन्ध लामो बौद्धिक बहसको विषय भएको छ । यो विभिन्न तŒव र ढाँचामा निर्भर रहन्छ । यसको सम्बन्धको अध्ययन गर्दा सामान्य रूपमा विभिन्न पक्षहरूको विचार गर्न सकिन्छ । यसमा प्रतिस्पर्धाको तह, उद्योगको लागत क्षमता, कर्जा जोखिम, वित्तीय क्षेत्रको परिष्कृत प्रोडक्ट, आर्थिक वृद्धिका चक्रहरूको विरुद्धमा आफु लाई सुरक्षित राख्न सक्ने वित्तीय संस्थाहरूको क्षमता, कर जटिलता र बजार संरचनाहरूलगायत संलग्न छन् । यद्यपि नेपालजस्तो मुलुकमा यसको सामान्य उत्तर भनेको वास्तविक आर्थिक वृद्धिको बैंकको नाफामा प्रत्यक्ष असर रहन्छ । किनकि कर्जा मागले ब्याजको आम्दानीमा असर पार्छ । नेपालमा बैंकिङ क्षेत्रको संरचना जटिल वित्तीय औजारमा, जसले यस किसिमका जोखिमहरूबाट पनि सुरक्षा प्रदान गर्छ, थोरै मात्र निर्भर रहेका छन् । यो यस कारणले पनि हो कि हाम्रो नियमनमा काउन्टर साइक्लिकल प्रतिरोधको व्यवस्था गरिएको छ । यो धेरै अनुसन्धान र प्रमाणपछि व्यवस्था गरिएको हो । जसका कारण नेपाली बैंकिङ क्षेत्रको स्थायित्व कायम रहन सकोस् ।

केन्द्रीय बैंकले मर्जर र एक्विजेसनलाई प्रोत्साहित गरेको छ । केही बैंक तथा वित्तीय संस्थाहरू गाभिएका छन् र प्राप्ति पनि गरेका छन् । कुनै निश्चित आकारको अर्थतन्त्रमा यो संख्यामा बैंक तथा वित्तीय संस्थाहरू हुनुपर्छ भन्ने कुनै सूत्र छ ? केले बैंक तथा वित्तीय संस्थाहरूको संख्या निर्धारण गर्छ ? नेपालको जस्तो अर्थतन्त्रका लागि कति बैंक तथा वित्तीय संस्था हुनु आवश्यक छ ?
यसका लागि कुनै सोझो उत्तर र कुनै सूत्र छैन । वित्तीय समावेशिता, पुँजीगत उपयुक्तता, जोखिम व्यवस्थापन र डिजिटाइजेसन यसका लागि महŒवपूर्ण मानिन्छन् । अखिर प्रत्येक बैंक वित्तीय रूपमा सम्भाव्य हुनुपर्छ, यो सञ्चालन हुने नियामक शासन मातहतको स्थिर नीतिहरूबाट समर्थित हुनुपर्छ । बैंक तथा वित्तीय संस्थाहरूका लागि परम्परागत तर्क, आकार र सहकार्यको अर्थतन्त्रमा आधारित हुनुपर्छ ।
यद्यपि बैंकहरूको सर्वोत्तम संख्यामा विभिन्न धारणाहरू छन् । यो ‘अप्टिमाइज्ड म्याथम्याटिकल गेम थ्योरी मोडल नतिजा’ देखि बजारमा प्रतिफललाई समावेश गर्ने तर्क, उद्योगमा रहेको क्षमता, सम्पत्तिको गुणस्तर र आर्थिक सामान्य सन्तुलनसम्ममा निर्भर रहन्छ । यद्यपि यो परम्परागत ढाँचाले हालको डिजिटाइजेसनको प्रवृत्ति र अर्थतन्त्रमा भएको नयाँ प्रवृत्तिलाई छुटाएको छ, जसको बहसमा फरक प्रभाव रहन सक्छ । विद्यमान तर्कहरूले यी नयाँ विकासको अवस्थामा कसरी परिवर्तन ल्याउँछ भन्ने विषय हेर्न हामी उत्सुक छौं ।

हाल कोभिड संकटको समयमा लगानी अवसरको अभावका कारण सिर्जित तरलता सरप्लसका कारण बैंक तथा वित्तीय संस्थाहरूबीच हाल अस्वस्थ प्रतिस्पर्धा भएको छ भनिन्छ । तपाईंलाई के लाग्छ ? के बैंक तथा वित्तीय संस्थाहरूबीच ब्याजदर तथा ग्राहक तानातान गर्ने विषयमा अस्वस्थ प्रतिस्पर्धा भएकै हो ?
हो, वास्तवमै बैंकिङ प्रणालीमा सरप्लस तरलताको अवस्था छ । अधिक आपूर्तिको अवस्थामा कुनै पनि वस्तुको मूल्य तल झर्नु स्वाभाविक नै हो । कर्जा प्रवाहको दर कम भएको छ र सम्पत्तिको माग पनि निष्क्रिय छ । आधार दरको विधिबाट खर्चको ठूलो हिस्सा समेट्न यो व्यावहारिक देखिन्छ । जोखिमपूर्ण सम्पत्तिको माग बढेन भने निक्षेप दर झन् झर्न सक्छ । हामीलाई के लाग्छ भने नेपालमा बैंकिङ क्षेत्र अझै विकासको क्रममा रहेको छ र निष्पक्ष प्रतिस्पर्धाको सेरोफेरोमा रहेका नीतिहरूलगायत विभिन्न विश्वव्यापी राम्रा अभ्यासहरू ल्याउने प्रक्रियामा रहेका छन् । हाम्रा नियामकहरूले बैंकहरूमा सुशासनको सञ्चालनलाई निरन्तरता दिँदै आएका छन् । जो–कोहीले पनि नेपालमा नीतिगत छलफलको सहयोगमा थप विकासका लागि कम्पिटिसन इकोनोमिक्ससँग सम्बन्धित उत्तम अन्तर्राष्ट्रिय अभ्यासको अपेक्षा गर्छन् । बैंकिङ क्षेत्रको परिपक्वता र वित्तीय क्षेत्र बढी विविधीकरण भएको अवस्थालाई आधार मानेर उनीहरूको यस किसिमको अपेक्षा आएको हो । हामीले केवाईसी, एएमएल÷सीएफटीलगायतको अभ्यासको छलफल प्रक्रियाको माध्यमबाट नेपालको बैंकिङ क्षेत्रमा विभिन्न अन्तर्राष्ट्रिय उत्तम अभ्यासहरू भएको देखेका छौं । नेपालको एकमात्र अन्तर्राष्ट्रिय बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंकले बैंकिङ उद्योगको विकास र नेपाल राष्ट्र बैंकको सामीप्यमा रहेर काम गर्ने विषयको नेतृत्व गरेको छ ।

केन्द्रीय बैंकले मंगलबार जारी गरेको एकीकृत निर्देशिकाले ब्याजदर र सीईओहरूसँग सम्बन्धित केही व्यवस्था संशोधन गरेको छ । केही बैंकरहरूले बैंक तथा वित्तीय संस्थाहरूको माइक्रोम्यानेजमेन्ट गरेको र आफ्ना नीतिबाट पछाडि हटेको भनी राष्ट्र बैंकको आलोचना पनि गरेका छन् । तपार्इं यसलाई कसरी हेर्नुहुन्छ ?
कतिपय गतिशिल भेरियबल र गतिशील बजार भएको हालको जस्तो अवस्थामा चुनौतीपूर्ण समयमा नीति बनाउने प्रक्रिया सहज छैन । समीक्षाको हालको सेट यस्तो समयमा आएको छ कि नेपाल र विश्वले अहिलेसम्म थाहा नपाएको अवस्थाको सामना गरिरहेको छ । हामीले कोभिड–१९ को अर्थतन्त्रमा परेको प्रभाव र असरको अवधिको विभिन्न तहको मूल्यांकन गर्ने प्रयास गरिरहेका छौं । नेपाल राष्ट्र बैंकमा रहेको स्रोतका आधारमा हामी विश्वस्त छौं । समग्र अर्थतन्त्रको चासो र उपभोक्तालाई राहत दिने विषय दिमागमा राखेर यो समीक्षा गरिएको हो भन्ने हाम्रो मान्यता हो । हाम्रो सन्दर्भमा राम्रो के छ भने नेपाल राष्ट्र बैंक र विभिन्न बैंकहरूबीचको संवादको प्रक्रिया निरन्तर छ र यसलाई निरन्तरता दिनुपर्छ ।

तपार्ईको अनुभवमा विश्वका कुन–कुन देशका केन्द्रीय बैंकहरूले बैंक तथा वित्तीय संस्थाहरूको सूक्ष्म व्यवस्थापन गरेका छन् ? केन्द्रीय बैंकको सूक्ष्म व्यवस्थापनले बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय मध्यस्थताको क्षमतालाई सहयोग गर्छ कि गर्दैैन ?
केन्द्रीय बैंकको विधि प्रत्येक मुलुकमा केही फरक खालको छ । सम्बन्धित मुलुकमा बृहत् अवस्था र मापदण्डको मामिलामा समान किसिमको प्राथमिकता दिइने गरिन्छ । जोकोहीले पनि उद्योग र सरोकारवालाहरूको चासोको विषयमा केन्द्रीय बैंकले कदम चालेको पाएका छन् । सूक्ष्म व्यवस्थापन बुझाइको वस्तु हो । यसो भन्दा मलाई मन पर्ने भनाइ ‘ह्वाई नेसन्स फेल’ भन्ने पुस्तकबाट अर्थशास्त्री डारेन असेमोग्लुको भनाइलाई समानान्तर रूपमा लिन चाहन्छु । उनले भनेका थिए, “महान् अर्थशास्त्री जोसेफ स्चुम्टेटरले भनेको सिर्जनात्मक विनाशजस्तै आर्थिक वृद्धि र प्राविधिक परिवर्तन साथसाथै आउँछन् । यसमा पुरानालाई नयाँले विस्थापित गर्छ । नयाँ क्षेत्रले पुरानाबाट स्रोतहरू आफुमा आकर्षित गर्छन् । नयाँ फर्महरूले स्थापितबाट पनि व्यवसाय खोस्छन् । नयाँ प्रविधिहरूले भइरहेका सीप र मेसिनलाई विस्थापित गर्छन् वा पुरानो बनाइदिन्छन् ।” म यो भनाइको एक अर्को लाइन पनि थप्न चाहन्छु, “नयाँ अवस्था कोभिडले विद्यमान नीतिहरूलाई पुरानो बनाइदिएको छ ।”

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा स्थापना भएको झन्डै साढे दुई दशक भइसक्यो । यसले नेपाली अर्थतन्त्रलाई कसरी र के सहयोग गरिरहेको छ ?
नेपालमा एकमात्र अन्तर्राष्ट्रिय बैंकका रूपमा करिब तीन दशकदेखि सेवा गरेकोमा हामीले नेपालको आर्थिक विकासमा मजबुत प्रतिबद्धता गरेका छौं । हाम्रो सबैभन्दा बलियो पक्ष भनेको हाम्रो अन्तर्राष्ट्रिय नेटवर्क र नेपाललाई अन्तर्राष्ट्रिय रूपमा प्रतिनिधित्व गराउने हाम्रो क्षमता हो र प्रत्यक्ष वैदेशिक लगानीलगायत अन्तर्राष्ट्रिय वित्तीय बजारलाई नेपालमा ल्याउनु हो । नेपालमा हाम्रो सहभागिताको ढाँचा फरक छ । व्यवसाय सञ्चालन गर्नुबाहेक हाम्रो उद्देश्य भनेको समृद्धि विस्तार गर्नु पनि हो । हामी बैंकहरूका लागि पनि बैंक हौं । हामी अन्तर्राष्ट्रिय रूपमा वास्तविक ब्रान्ड एम्बेसडर पनि हौं । हामी देशमा सबैभन्दा पुरानो वैदेशिक लगानीकर्ता हौं । नेपालको सोभरेन क्रेडिट रेटिङका लागि हालै रेटिङ सल्लाहकारका रूपमा हामीलाई नियुक्ति गर्नुले पनि नेपाली बजारमा हाम्रो बुझाइको परीक्षण र बजारमा गहन सहभागिताको प्रतिफल हो भन्ने हामीलाई लाग्छ ।

महामारीकै बीचमा तथा महामारीपछि पनि नेपालमा स्ट्यान्डर्ड चार्टर्ड बैंकका योजनाहरू के–के छन् ?
हामीले सेवा गरेका विभिन्न बजारमा हामीले प्राप्त गरेको अनुभवलाई समेत समेट्ने महामारीको हाम्रो बुझाइले हामीलाई नयाँ संचालन ढाँचासहित अगाडि बढाउने विषयमा विमर्श गर्नतर्फ डो¥याएको छ । नयाँ सामान्य अवस्था (न्यू नर्मल) अत्यन्त पृथक् हुनेछ र यो हामीले बेहोर्नैपर्छ । डिजिटाइजेसन, काम गर्ने नयाँ तरिका, ग्राहकसँगको व्यवहार, नयाँ क्षेत्रको उदयलगायतका क्षेत्र अगाडि बढाउने विषयमा सोचिरहेका छौं । महामारीले अत्यन्त फरक खालको ग्राहकको व्यवहार देखाएको छ र उत्तर–कोभिड विश्वमा उपभोगको ढाँचामा पनि परिवर्तन आउने देखिन्छ । यो महामारीमा नेपालमा हाम्रो प्राथमिकताको विषय भनेको हामीले हाम्रा समुदायलाई कसरी सहयोग गर्न सक्छौं भन्ने हो । हामीले पछिल्लो पटक नेपालमा विभिन्न साझेदारको माध्यमबाट कोभिड राहतका लागि ५.६ करोड रुपैयाँको सहयोग गरिसकेका छौं । हाम्रो लागि हाम्रा कर्मचारी र ग्राहकको स्वास्थ्य र सुरक्षा सदैव सर्वाधिक प्राथमिकताको विषय हुनेछ । विश्वले भविष्यमा देख्ने अवस्थाका रूपमा कोभिडलाई परिवर्तनको भर्खरको सुरुवाती चरण मानेर हामी उनीहरूलाई उच्च प्राथमिकतामा राख्नेछौं ।

अन्त्यमा बैंक तथा वित्तीय संस्थाहरूको नियामक निकाय र सरकारका वित्तीय सल्लाहकारका रूपमा केन्द्रीय बैंकलाई तपाईंका के–के सुझावहरू छन् ? हालको दुःखदायी अवस्थामा बैंक तथा वित्तीय संस्था तथा समग्र अर्थ व्यवस्थाको रक्षा गर्न केन्द्रीय बैंकले के गर्नुपर्छ ?
केन्द्रीय बैंकले वित्तीय क्षेत्रका सबै सहभागीको स्वार्थको रक्षाका लागि फ्रेमवर्क प्रदान गर्छ । यसो गर्न उसले बैंक तथा वित्तीय संस्थाहरूलाई स्वस्थ प्रतिस्पर्धात्मक रूपमा खेल्नेमैदानको सिर्जना गर्नुपर्छ । निक्षेपकर्ताहरूको स्वार्थ, ऋणीहरूका साथै लगानीकर्ताहरलाई पनि सुरक्षा प्रदान गरिनुपर्छ । यो एउटा जिम्मेवार व्यक्तिको भूमिकाजस्तो हो । बैंकका रूपमा हामी आर्थिक विकासमा प्रमुख भूमिका खेल्नेछौं । यद्यपि, विकासशील देशहरूमा प्राविधिक क्षेत्रमा केही मात्रामा निर्देशिकाको पनि आवश्यकता पर्छ ।
सोभरेन रेटिङको सल्लाहकारका रूपमा हामीले भन्नुपर्दा नेपालको स्पष्ट एजेन्डा र दीर्घकालीन सोच हुनुपर्छ, साथै यसको कार्यान्वयनको योजना पनि हुनुपर्छ । हामीले सबै तहमा व्यापक पारदर्शीता प्राप्त गर्ने गरी काम गर्नुपर्छ । यसले प्रभावकारी नीति हस्तक्षेपलाई अनुमति दिन्छ । योभन्दा पनि हामी डिजिटल युगमा छौं, जहाँ डाटा, सूचना र विश्लेषण पहिले नै जीवनको विधि भइसकेका छन् । हामी विश्वसँग जोडिनु आवश्यक छ । नेपाललाई जति सही तरिकाले प्रक्षेपण गर्न सकिन्छ, हामी नेपालको सही प्रक्षेपणमा जति सक्षम हुनेछौं, त्यति नै नेपालको आर्थिक विकासका लागि राम्रो हुनेछ । सरकार, व्यक्ति, समाज, व्यवसाय, वित्तीय संस्थाहरू सबैले स्वामित्व लिनुपर्छ, तबमात्र हामी सामूहिक रूपमा कोभिड–१९ को आर्थिक प्रभावबाट माथि उठ्न सक्छौं ।

प्रतिक्रिया दिनुहोस्