ग्रामीण विद्यार्थीका लागि एक हजार आईटी ल्याब बन्दै «

ग्रामीण विद्यार्थीका लागि एक हजार आईटी ल्याब बन्दै

कोरोना भाइरसबाट हुने कोभिड–१९ महामारीले लाखौं विद्यार्थीको अध्ययन कार्य ठप्प भएसँगै सरकारको ध्यान सूचना प्रविधि (आइटी) ल्याब निर्माणतर्फ अघि बढेको छ । विद्यार्थीलाई सूचना प्रविधिको पहुँचमा ल्याउन सरकारी लगानीमा सुरु गर्न लागिएको एक हजार आइटी ल्याबको निर्माण कार्य केही ढिलो गरी भए पनि अघि बढेको हो । सहरी क्षेत्रका विद्यार्थी इन्टरनेटको पहुँचमा भए पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा लकडाउन सुरु भएका चैतयता पढाइ सुरु हुन सकेको छैन ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र शिक्षा मन्त्रालयसँगको समन्वयमा देशका एक हजार सामुदायिक विद्यालयलाई प्रयोगशाला स्थापनाका लागि छनोट गरेकोमा ९३० विद्यालयमा प्रयोगशाला स्थापनाको काम भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणले आइतबार सूचना प्रविधि प्रयोगशालाका सम्बन्धमा भएको प्रगतिबारे विज्ञप्तिमार्फत ९३० विद्यालयमा ल्याब निर्माण अघि बढिसकेको जानकारी दिएको छ ।
मुलुकमा कोरोना संकटका कारण हाल सरकारी तथा गैरसरकारी निकायका सेवा डिजिटल माध्यमबाट हुन थालेका छन् । तर, शिक्षा क्षेत्रमा भने सहरी र ग्रामीण विद्यार्थीबीच खाडलको जोखिमसमेत बढाएको छ । सोही कारणले डिजिटल नेपाल अभियानअन्तर्गत सामुदायिक विद्यालयहरूलाई सूचना प्रविधिमैत्री बनाउँदै शिक्षण विधिलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सूचना प्रविधि प्रयोगशाला स्थापनाको काम अघि बढाइएको हो । प्राधिकरण प्रवक्ता मीनप्रसाद अर्यालले हरेक संघीय निर्वाचन क्षेत्रमा कम्तिमा चारवटा विद्यालयमा आईटी प्रयोगशाला स्थापना गर्ने काम अघि बढाएको उल्लेख गरेका छन् । “सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि, २०७५’ बमोजिम छनोट भएका विद्यालयहरूमा प्रयोगशाला निर्माण भइरहेका छन्,” अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्राधिकरणले गत भदौ २५ गते प्रयोगशाला स्थापनाका लागि ओबीसीआईआर म्याक्स र नेपा जेभी (जोइन्ट भेन्चर) कम्पनीसँग सम्झौता गरेको छ । सातै प्रदेशमा निर्माण हुने ९ सय ३० विद्यालयका प्रयोगशालामा आवश्यक पर्ने उपकरणको आपूर्ति, जडान र सञ्चालन गर्नेगरी उक्त कम्पनीसँग सम्झौता भएको थियो ।
कोभिड संकट लम्बिँदै जाँदा विद्यार्थीको एक शैक्षिक वर्ष नै खेर जाने स्थिति छ । देशका अधिकांश सामुदायिक विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग भएका छन् । यसैले लकडाउन साथै निषेधाज्ञाका कारण समयमा नै प्रयोगशाला निर्माण हुन नसक्ने भएपछि प्राधिकरणले विद्यालय सुचारु भएको ४५ दिनभित्र काम सक्ने गरी सम्झौताको समयावधि थप गरेको जानकारी अर्यालले दिए । उनका अनुसार अहिलेसम्म सात सय २५ विद्यालयमा उपकरण जडान गरी प्रयोगशाला स्थापनाको काम पूरा भइसकेको छ । बाँकी रहेका विद्यालयमा पनि प्रयोगशाला स्थापनाको काम चाँडै सक्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । यससँगै ग्रामीण र सहरी क्षेत्रका विद्यार्थीबीच खाडल कम हुने जनाइएको छ । आपूर्तिकर्तासँग सम्झौताअनुसार कार्य सम्पादन भए नभएको जाँचबुझ गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरेको छ, जसले सम्झौता गरिएकामध्ये ५० प्रतिशत विद्यालयमा अनुगमन तथा निरीक्षण गरेको प्रवक्ता अर्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्