पोखरा क्षेत्रमा असोज १ देखि सार्वजनिक यातायात सेवा सञ्चालन हुने «

पोखरा क्षेत्रमा असोज १ देखि सार्वजनिक यातायात सेवा सञ्चालन हुने

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले देश व्यापीरूपमा आउँदो असोज १ गतेदेखि सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने निर्णयअनुसार पोखरा क्षेत्रका यातायात व्यवसायीले पनि उक्त सेवा संचालनको लागि तयारी सुरु गरेका छन् । कोरोना भाइरस (कोभिड—१९) को कारण देशमा लामो समय लकडाउन हुँदा सार्वजनिक यातायात सेवा प्रभावित हुँदा व्यवसायी र मजदुर मर्कामा परेको भन्दै व्यवसायीहरूले असोज १ गतेदेखि यातायात सेवा सञ्चालन गर्ने भएका हुन् ।
कोरोको कारण आफ्ना लाखौं मजदुर ६ महिनादेखि बेरोजगार भएकोले अब नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई अनिवार्य रूपमा पालना हुने गरी असोज १ गतेदेखि छोटो तथा लामो दूरीका सार्वजनिक यात्रु बहाक बस तथा माइक्रो बससहितको सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारी सुरु भएको महासंघका केन्द्रीय उपाध्यक्ष ऐनकुमार शाहीले बताए । उनले भने , “अब हामीले निर्वात रुपमा देशका ७ वटै प्रदेशमा सार्वजनिक यातायात सेवा सञ्चालन गछौं, जहाँ जुन ठाउँमा जसले हाम्रा गाडीलाई रोक्ने वा अबरोध खडा गर्छन् भने हामीले उनीहरूलाई नै चाबी बुझाउन बाध्य हुने छौं हाम्रा गाडीको किस्ता अब उनीहरूले नै तिर्नु प¥यो, अन्यथा अब सार्वजनिक यातायात सञ्चालन गरी आर्थिक कृयाकलाप चलायमान बनाउनुपर्छ ।”
सरकारले तोकेको भाडादरमा थप ५० प्रतिशत वृद्धि गर्ने, सिट क्षमता ५० प्रतिशत मात्र यात्रु बोक्ने, मास्क र स्यानिटाइजर अनिवार्य गरी चालक तथा सहचालकलाई पन्जा र गाडीमा स्प्रे गर्ने भएको उपाध्यक्ष शाहीले जनाए । उनले भने, “सरकारले नखोले अब आफैं खोल्छौं भनेर धेरै मजदुर र व्यवसायी तथा कम्पनीहरूले भनेका छ,न् सरकारले कि हाम्रा सबै मजदुर र व्यवसायीलाई राहत दिनुप¥यो ।”
सार्वजनिक गाडी चल्न नदिने निजी र सरकारी गाडी चल्न दिनुले कोरोना नियन्त्रण हालको अबस्थामा हुन नसकेको उनले जनाए । सार्वजनिक गाडी चल्न नदिएको खण्डमा पूर्णरूपमा सरकारी र निजी गाडी समेत संचालनमा रोक लगाउनु पर्ने महासंघको माग छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री रामशरण बस्नेत, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई आफुहरूले असोज १ गतेदेखि सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने विषयमा पत्रसहित पूर्व जानकारीसमेत गराउने भएको उपाध्यक्ष शाहीले बताए ।

पोखरा क्षेत्रमा छोटो दुरीका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने गरी पोखरा महानगर सहितका सरोकारवाला निकायसँग छलफल सुरु गरेको पोखरा बस कम्पनीका अध्यक्ष अमृत तिमिल्सिनाले बताए । आफूहरूले पनि असोज १ देखि पोखरामा माइक्रो बस सञ्चालन गर्ने पक्षमा रहेको उनले जनाए । यसैबीच पोखराका ट्याक्सीहरू अहिलेको जोर–बिजोर प्रणालीमा हाल सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्