टोपीको महत्व घट्दै जाँदा उद्योग नै विस्थापित «

टोपीको महत्व घट्दै जाँदा उद्योग नै विस्थापित

नेपाली परम्परागत रूपमा प्रचलनमा रहेको नेपाली ढाका टोपीको पछिल्लो ८-१० वर्षदेखि यसको प्रयोग घट्दै जाँदा पोखरा क्षेत्रमा स्थापित भएका उद्योगहरू अझैसम्म पनि स्थापित हुन सकेका छैनन् । गोसेली हाउस, विन्ध्यवासिनी, मनकामना, पालिखे ढाकालगायतका टोपी उद्योगहरू करिब ८ वर्ष अघिदेखि बजार अभावको कारण विस्थापित भएका हालसम्म पनि पुनः स्थापित हुन सकेका छैनन् ।
बजारमा टोपीको महत्व घट्दै जाँदा उत्पादन भएको टोपीले बजार नपाएको कारणले गर्दा उद्योग बन्द गर्नु परेको गोसेली टोपी उद्योगका सञ्चालक सुनील गोसेलीले बताए । उनले भने, “पछिल्लो करिब ८ वर्षदेखि नेपालमा पनि ढाका टोपीको ठाँउमा अन्य पश्चिमेली मुलुकका फेसनेवल टोपीहरू भित्रिएसँगै हामीले उत्पादन गरेका ढाकाको टोपी लगाउने बजार खुम्चिँदै गएकाले गर्दा उक्त उद्योग हालसम्म नै बन्द छ, यदि बजारमा यसको महत्व बुझेर माग हुन्छ भने हामीले पुनः उद्योग सञ्चालन गने पक्षमा छौं, तर बजारको ग्यारेन्टी हुनुपर्यो ।”
सरकारी निकायमा काम गर्ने व्यक्तिहरूदेखि अन्य व्यक्तिहरूको अधिकांशको टाउकोमा ढाकाको टोपी हुँदा पहिला बजारमा धेरै माग हुने र सबै सिजनमा टोपीको खपत हुने गरेको उनले जनाए । टोपी उद्योगलाई राज्यले कुनै ध्यान नदिएको र दक्षजनशक्ति उत्पादनमा र बजारमा त्यसको राम्रो ग्यारेन्टी नगर्दा ढाका टोपीको महत्व घटेको उनले दाबी गरे । आफ्नो पसलमा मेसिनबाट निर्मित ढाका टोपी न्यूनतम ५० देखि ४ सयसम्म पर्ने र हातले बुनेका ढाकाटोपीको मुख्य ५ सय देखि ७ हजार ५ सयसम्मका टोपीहरू उपलब्ध भएको श्रेष्ठले बताए ।
पोखरामा विगत ३३ वर्षदेखि ढाकाको टोपीसहित ढाकाको कपडा बिक्री गर्दै आएका तीर्थलाल श्रेष्ठले नेपाली पन झल्कने ढाका टोपीको पछिल्ला युवा पुस्तामा यसको कम प्रयोग गर्र्ने गरेको गुनासो गरे । सिद्धार्थ बस्त्रालयका सञ्चालकसमेत रहेका श्रेष्ठले हिजोआज ढाका टोपी विशेष अवसरमा मात्र बिक्री हुने गरेको बताए । उनले भने, “पहिला ढाका टोपीको खासै सिजन हुने थिएन, तर पछिल्लो ७-८ वर्षदेखि कुनै चार्ड पर्व, मानिसहरू मर्दा पर्दा तथा विवाहलगायतका विशेष अवसरमा मात्र सम्मान स्वरूप मायाको चिनोका रूपमा प्रयोग गर्ने गरेका छन् ।”
पोखरा बजार क्षेत्रमा भने ढाकाटोपीको विशेष अवसरमा मात्र बढी प्रयोग हुँदा पनि कम्तीमा ५ करोड मूल्यबराबरको कारोबार हुने गरेको व्यवसायीहरूले बताएका छन् । कपडा व्यवसायी एसोसिएसन कास्कीका निवर्तमान अध्यक्ष प्रेमबहादुर भुजेलले पोखरामा वार्षिक रूपमा करिब ५ करोड मूल्यबराबरको ढाका टोपीको कारोबार हुने गरेको बताए । ५० रुपैयाँ मूल्यदेखि १० हजार मूल्यबराबरका एउटै टोपीको मूल्य बजारमा रहेको बताएका भुजेलले गण्डकी तथा धौलागिरिका धेरै जिल्लामा पोखराबाटै ढाकाटोपी खरिद तथा बिक्री हुने बताए । हाल पोखरामा पूर्व र पश्चिम पाल्पादेखि ढाकाटोपी आउने निवर्तमान अध्यक्ष भुजेलले बताए ।
पछिल्लो वर्षदेखि टोपी दिवसका रूपमा मनाउन थालेपछि दिवसको अवसरमा समेत केही व्यापार प्रवद्र्धन हुँदै आएको उनले विश्वास व्यक्त गरे । पोखरा क्षेत्रका अधिकांश कपडा व्यवसायीहरूले ढाकाटोपीको बिक्री वितरण गर्दै आए पनि टोपीलाई विशेष ध्यान दिँदै पालिखे ढाकाटोपी, सिद्धार्थलगायतका पोखरामा टोपीको व्यापार गर्ने आधा दर्जनजसो व्यवसायीहरू छन् ।

प्रतिक्रिया दिनुहोस्