लगानीकर्ताको आफ्नो हुन नसकेको ‘मेरो सेयर’

डीपीको समेत पर्याय बनिसकेको ‘मेरो सेयर’लाई लगानीकर्ताहरूको आवश्यकतानुसारका सुविधा थप गर्दै प्रयोगकर्तामैत्री र विश्वसनीय बनाउनैपर्छ ।
नेपाली धितोपत्र बजार अभौतिक र विद्युतीय कारोबार प्रणालीमा प्रवेशसँगै सबैभन्दा बढी चासो र चर्चाको ‘मेरो सेयर’ सफ्टवेयर धितोपत्र (सेयर, डिबेन्चर, म्युचुअल फन्ड) मा लगानीकर्ता र कारोबारी दुवैका लागि ऐच्छिक भनिए पनि निर्विकल्प भएको छ । सेवा प्रदायकले गुणस्तरसहित सहज, सुलभ र विश्वसनीय सेवा दिएको अवस्थामा हाल वैकल्पिक माध्यमबाट लगानी तथा कारोबार गरिरहेका लगानीकर्ताहरू समेत ‘मेरो सेयर’ तर्फ आकर्षित हुनेछन् ।
सुविधा र सेवा प्राप्ति
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) बाट विकसित तथा सञ्चालित निम्न सेवासहितको ‘मेरो सेयर’ डिम्याट खाता खोलेको डीपी सेवा प्रदायकहरू (मर्चेन्ट बैंकर, बैंक, स्टक ब्रोकर) बाट रु. ५० तिरेर लिन सकिन्छ, भने बर्सेनि रु. ५० तिरेर नवीकरण गर्नुपर्छ ।
(क) सेयरको आवदेन : ‘मेरो सेयर’ भन्नेबित्तिकै आमलगानीकर्ताहरूले प्राथमिक निष्कासन (आईपीओ) मा सेयर आवेदन सम्झिन्छन् । विगतमा घण्टौं लाइन बसेर फारम, नागरिकताको फोटोकपी र फोटो टाँस्तै आवेदन दिएर प्राप्त अधकट्टी महिनौं सुरक्षित राख्न बाध्य लगानीकर्ताहरू ‘मेरो सेयर’ मार्फत विद्युतीय माध्यमबाट अनुकूल समयमा निष्कासित आईपीओ, थप सार्वजनिक निष्कासन (एफपीओ) तथा हकप्रद सेयरका लागि आवेदन गर्न सक्ने भएका छन् । यसमा आईपीओ, एफपीओ, हकप्रदको विवरणसहित आवेदन गर्न सकिने अधिकतम र न्यूनतम कित्ता, प्रतिकित्ता मूल्य र निष्कासित धितोपत्रको विवरणपत्रसमेत पाइन्छ । ‘माई आस्वा’ अन्तर्गत (क) निष्कासनमा रहेको धितोपत्र (करेन्ट इस्यु), (ख) आवेदन (एप्लाई फर इस्यु), (ग) आवेदनको रिपोर्ट (एप्लिकेसन रिपोर्ट) र (घ) विगतको आवेदनको विवरण (ओल्ड एप्लिेकेसन रिपोर्ट) को सुविधा हुन्छ । कुनै पनि निष्कासनमा ‘एप्लाई फर इस्यु’मा हुँदै बैंक छनोट गरेर कित्ता उल्लेख गरी सीआरएन नम्बर खारेज तोकिएको समयभित्र आवदेन गर्न सकिन्छ ।
(ख) सेयर हस्तान्तरण : विगतमा जस्तो बेचेको सेयर दलाललाई हस्तान्तरण गर्न कागजी निस्सा (डीआईएस) बोकेर कुदिरहनु पर्दैन । बिक्री भएको सेयर विवरणसहित ‘माई ईडीआईएस’ अन्तर्गत सेयर हस्तान्तरण (ट्रान्सफर सेयर) मा आएसँगै तोकिएको अवधि (बेचेको ३ दिनभित्र) मा रुजु गरी ‘मेरो सेयर’बाटै पठाउन सकिन्छ ।
(ग) भारित औसत लागत : विभिन्न समयमा किनेको, हकप्रद, बोनस र गाभिएर कायम सेयरहरूको भारित औसत लागत (वाक) को आधारमा लाभकर गणनाको सुरुवातसँगै ‘मेरो सेयर’ अनिवार्य नै भएको छ । विगतमा जस्तो ‘बेस प्राइस’ नहुँदा लगानीकर्ताले बेचेको सेयर ‘ईडीआईएस’बाट हस्तान्तरण गर्न पनि वाक गर्नैपर्छ । ‘मेरो सेयर’ को ‘माई पर्चेज सोर्स’ मा गएर लगानीकर्ताले दोस्रो बजारबाट किनेको प्रणालीमा उपलब्ध विवरण, हकप्रद र बोनसको हकमा रु. १ सय लागत, मर्ज तथा प्राप्तिको हकमा प्रणालीका विवरण वा आफ्नो वास्तविक औसत लागत प्रविष्टि र रुजु गरी औसत लागतको अनुमोदन गर्न सक्छन् । अनुमोदित (घोषित) लागतका आधारमा नै लाभकरको गणना स्वचालित रुपमा प्रणाली नै गर्छ ।
(घ) बैंक परिवर्तन : विशेष गरी कम्पनीहरूले प्रदान गर्ने नगद लाभांश प्रयोजनका लागि ‘मेरो सेयर’को ‘माई बैंक रिक्वेष्ट’ मा गएर डिम्याट खातामा उल्लिखित बैंक खाता सहजै बैंक परिवर्तन गर्न सक्छन् ।
(ङ) सेयर सम्पत्तिको अभिलेख र अवस्था : लगानीकर्ताहरूले ‘माई पोर्टफोलियो’ मा गएर आफूले धारण गरेको सेयरको प्रचलित मूल्यमा अनुमानित सेयर सम्पत्ति र मूल्यगत नाफाघाटा हेर्न सक्छन्, विगतमा जस्तो क्याल्कुलेटर थिचेर बहिखाता पल्टाउनु पर्दैन ।
यस्तै ‘मेरो सेयर’ को (क) ‘माई डिटेल’ मा आफ्नो व्यक्तिगत, बैंक, प्यान; (ख) ‘माई सेयर’ मा तत्काल धारण गरेको सेयर, धितोमा रहेको, कुनै कारण लकिङ, फ्रिज गरिएको र डिम्याट पेन्डिङ किताहरू, (ग) ‘माई ट्रान्ज्याक्सन हिस्ट्री’ मा विभिन्न कम्पनी र मितिमा प्राप्त भएको र गएको सेयर, (घ) ‘माई प्लेज सेयर डिटेल’ मा धितो रोक्काको जानकारी पाइन्छ । यस्तै ‘माई प्रोफाइल’ बाट भित्र गएर (क) व्यक्तिगत विवरण; (ख) म्याद सकिने मिति हेर्न र इसेवामार्फत भुक्तानी गरी तत्काल नवीकरण गर्न; (ग) ‘चेन्ज पासवर्ड’ मा गएर पासवर्ड परिवर्तन गर्न; (घ) ‘एक्टिभिटी लग’ मा गएर कुन समयमा कुन आईपीबाट ‘मेरो सेयर’ लगइनको जानकारी लिन सकिन्छ ।
सुविधासँगैका समस्याहरू
‘मेरो सेयर’ले सुविधा र सहजतासँगै अनावश्यक झन्झट र तनाव भोग्न बाध्य पार्दै आएको छ । विशेष गरी नयाँ आईपीओ आउँदा वा धितोपत्र बजारमा ठूला कारोबार हुँदा ‘मेरो सेयर’ मा समस्याहरू बढी नै देखिन्छन् । यसले बल्ल प्रविधितर्फ उन्मुख लगानीकर्ताहरूलाई वैकल्पिक वा कागजी कारोबारतर्फ डो-याउने जोखिम छ ।
(क) सेयरबजारलाई आमनागरिकसम्म पु-याउने श्रेय पाएको ‘मेरो सेयर’ सीडीएससीले नभई डीपीबाट खोल्नुपर्दा लकडाउनसँगै खाता खोल्न असहज भयो । केही कम्पनीमा आवेदन गर्न सफ्टवेयरमा लगइन गर्नसमेत समस्या हुँदा लगानीकर्ताहरू रातविरात जाग्दै आवेदन गर्न बाध्य भए । छोटो आवेदन समय र धेरै आवेदक हुँदा ट्राफिक समस्या केही बढ्नु स्वाभाविक होला, तर त्यसको व्यवस्थापन गर्ने क्षमता ‘मेरो सेयर’ वा सीडीएससीमा नहुनु दुःखद हो । लगइन गरेर केहि नदेखिने मात्र होइन, बल्लतल्ल आवेदनको कित्ता भरिसकेपछि पनि सीआरएन राख्न र ‘वन टाइम पासवर्ड–ओटीपी’का लागि भएको ढिलाइ र समस्याले ‘मेरो सेयर’’ प्रति आक्रोश बढाएको छ ।
(ख) प्रयोगकर्ताको भिड (ट्राफिक) धान्न नसक्दा लगइन समस्यासँगै कहिले ड्यासबोर्ड नदेख्ने त कहिले ‘माई पोर्टफोलियो’ मा सही विवरण र अभिलेख नदेखिने समस्या उस्तै छ । अझ ‘मेरो सेयर’, डीपी र टिएमएस–नटस सफ्टवेयर बीच तत्काल डाटा आदानप्रदान (रियल टाइम डाटा सेअरिङ÷इन्टिग्रेसन) नहुँदा बेचेको सेयर ‘मेरो सेयर’मा बाँकी नै हुन्छ भने ‘मेरो सेयर’मा दिउँसो आइसकेको सेयर पनि भोलिपल्ट नभई बेच्न मिल्दैन । यसरी एकातिर सेयर सम्पत्तिको यथार्थ जानकारी नहुने अर्कातिर ‘मेरो सेयर’ समेत राम्ररी नचलेको वा लगइन नभएका कारण समयमै बेचेको सेयर दिन नसक्दा क्लोजआउटको जोखिम बढेको छ । यस्तै बिना सूचना फिचरहरू परिवर्तनले नियमित प्रयोगकर्ताहरू थप अलमलमा पर्छन् ।
(ग) सेवा प्रदायकले जति नै उच्च प्रविधियुक्त र सुरक्षित भने पनि लगानीकर्ताहरू सहज कारोबार, सेयर सम्पत्ति र कारोबार अभिलेखको सुरक्षा र गोपनीयतामा ढुक्क छैनन् । त्यसैले अझै २७ प्रतिशतभन्दा बढी सेयर डिम्याट नै भएका छैन भने लगानीकर्ताहरू प्रिन्ट कपिका लागि डीपी सेवा प्रदायक कहाँ धाउँदै छन् । अझ कतिपय समयमा बिनासूचना ‘मेरो सेयर’बाट डाटाहरू नै गायब गरिँदा कतै सीडीएससी वा डीपीले चाहेको अवस्थामा सेयर गायब हुन्छ कि भन्ने आशंका गर्न बाध्य छन् ।
अपेक्षित सुधार
धितोपत्र बजारलाई पूर्ण विद्युतीय प्रविधिमा आधारित अन्तराष्ट्रिय स्तरको बनाउन पनि ‘मेरो सेयर’को गुणस्तर र विश्वसनीयता सुधारको विकल्प छैन । सफ्टवेयरको समग्र सुधार; डाटा भण्डारण तथा डाटा सुरक्षा; र प्रणाली सञ्चालनका लागि पर्याप्त पूर्वाधारको व्यवस्था र लगानी हुनैपर्छ । डीपीको समेत पर्याय बनिसकेको ‘मेरो सेयर’लाई लगानीकर्ताहरूको आवश्यकतानुसारका सुविधाहरू थप गर्दै प्रयोगकर्तामैत्री र विश्वसनीय बनाउनैपर्छ ।
(क) तत्काल र सबैभन्दा पहिले सफ्टवेयरले एकैपटकमा धेरै जनाको पहुँच र तथ्यांक प्रशोधन गर्ने क्षमता विस्तार गर्न आवश्यक हार्डवेयर, ब्यान्डविथ र मानव संसाधनको व्यवस्था गर्दै लगानीकर्ताले निर्वाध गुणस्तरीय सेवा पाउने, अभिलेख÷तथ्यांक गडबड र सूचना चुहावट नहुने सुनिश्चित गर्ने ।
(ख) सेयर भण्डारण र कारोबार लागत घटाउन पनि डीपी सेवा र ‘मेरो सेयर’लाई एकीकृत गरी सीडीएससीअन्तर्गत ल्याउने । यससँगै ‘मेरो सेयर’ र डीपी शुल्कलाई एकमुस्ट गरी सेवा उपयोगका आधारमा (अ) प्राथमिक बजारबाट किन्ने सुविधा सहित ‘आधारभूत’, (आ) दोस्रो बाजरमा किनबेच सहित ‘सक्रिय’ र (इ) आजीवनमा विभाजन गरी क्रमशः पाँच वर्षको रु. १ सय, वार्षिक रु. १ सय र एकपटक रु. ५ सय लिने ।
(ग) प्रत्येक कारोबारको डीपी शुल्कलाई प्रतिदिन रु. ५० हजारसम्म रु. ५ तथा सोभन्दा बढी रकममा रु. १० कायम गर्ने ।
(घ) कारोबार स्टेटमेन्ट; सामान्य पोर्टफोलियो; आईपीओ आवेदन जस्ता आधारभूत सुविधाहरूको अतिरिक्त लगानीकर्ताहरूको भारित औसत लागत र नाफाघाटाको अवस्था; कम्पनीको सेयर रजिस्ट्रार; हकप्रद र बोनस कुन वर्ष र कति प्रतिशतको जानकारीसहित डीपीको जानकारी दिने र सेयर एकबाट अर्कोमा ‘मेरो सेयर’बाटै सार्ने सुविधा, नट्स–टिएमएससँग रियल टाइम इन्टिग्रेसन गर्ने ।
(ङ) यस्तै सीआरएनलाई सीडीएसअन्तर्गत ल्याउँदै लगानीकर्ता पहिचान नम्बर बनाउने; टीएमएस र ‘मेरो सेयर’मा उपलब्ध डाटालाई एकीकृत गरी डिजिटल र केन्द्रीय केवाईसी बनाउने र नपुग सूचना पनि विद्युतीय माध्यमबाटै लिने ।
(च) नेपाली वा अंग्रेजी भाषा छनौटको सुविधासहित वेब र मोबाइल एपमा आधारित बनाउने ।
(छ) लगानीकर्ताको वार्षिक कारोबारको लेखा, नाफाघाटाको प्रमाणीकरण, लागतका आधारमा नाफाघाटा देखिने पोर्टफोलियो, वार्षिक करको दायित्व गणनासहितको विस्तृत ‘प्रिमियम सेवा’ सुरु गर्ने ।