जिल्ला चिनाउन महोत्सव «

जिल्ला चिनाउन महोत्सव

रुकुम- नयाँ जिल्ला बनेको रुकुम पूर्वलाई चिनाउन पहिलो पर्यटन महोत्सव गरिने भएको छ । जिल्लाको समग्र पर्यटन प्रवद्र्धनको लागि महोत्सव आयोजना गर्न लागिएको हो । रुकुमपूर्व पर्यटन तथा सांस्कृतिक महोत्सव आगामी मंसिर २० देखि पुस १ गतेसम्म सिस्ने गाउँपालिकाको रुकुमकोटमा आयोजना हुनेछ ।
रुकुमपूर्व चेम्बर अफ कमर्सले जिल्लाको पर्यटन प्रवद्र्धन र प्रचारप्रसारका लागि महोत्सव गर्ने तयारी अघि बढाएको छ । देशको ७७ औं तथा कान्छो जिल्लाका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र सांस्कृतिक सम्पदाको प्रचारका लागि महोत्सव गर्ने निर्णय भएको कमर्सका अध्यक्ष दीलिप थापाले बताए । जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर पर्यटक भित्र्याई त्यसकै माध्यमबाट जिल्लाको विकासमा टेवा पु-याउने लक्ष्य राखेर महोत्सव आयोजना गरिएको अध्यक्ष थापाको भनाइ छ ।
“कान्छो जिल्ला त भनियो, यसको विशेषता के हुन्, जिल्लामा केके कुरा हेर्न लायक छन्, घुम्नुपर्ने ठाउँ कता छन्, परम्परा र रितिरिवाज कस्ता छन् आदिबारेमा जानकारी गराउने उद्देश्य महोत्सवले राखेको छ,” अध्यक्ष थापाले भने, “जिल्लामा भएका पर्यटकीय, धार्मिक, एतिहासिक, चालचलन, भेषभुषाको प्रचारप्रसार र त्यसको अध्ययनमा सहयोग पु¥याउने गरी हामी महोत्सवको तयारीमा जुटेका छौं ।”
महोत्सवमा जिल्लाभित्रका सबै पर्यटकीय क्षेत्रको प्रचारका लागि महोत्सव स्थलमा पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिइनेछ भने स्टलहरूमा पनि जिल्लाको पहिचान खुल्ने वस्तु राख्ने तयारी गरिएको छ । स्थानीयले तयार गरेको कम्बलदेखि, स्थानीय खानाको समेत प्रवद्र्धन गर्ने गरी स्टल निर्माण गर्ने योजना आयोजक समितिले बनाएको छ । जिल्लाको पूर्वी क्षेत्रको मुख्य खाना ढिँडो, टिमुरको अचार, आलु, गुन्द्रुक, सिन्की, हस्त निर्मित सामग्रीहरू महोत्सवका स्टलमा राखिनेछ । स्टलमा राखिएका स्थानीय उत्पादनको प्रदर्शनका साथै बिक्री पनि गरिने अध्यक्ष थापाले बताए ।
जिल्लाका चालचलन, नाचगानलाई प्राथमिकताका साथ देखाइने र त्यसको प्रचारप्रसार गरी जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक बढाइने छ । मध्यपहाडी लोकमार्गका कारण जिल्ला आउन–जान सजिलो भएकाले सकेसम्म धेरै जिल्ला बाहिरका सर्वसाधारणलाई महोत्सवमा ल्याउन प्रयास गरिने जनाइएको छ । छिमेकी जिल्लाहरू रुकुम पश्चिम, रोल्पा, बाग्लुङ, पोखरा, सल्यान, दाङ, जाजरकोट, काठमाडौंसमेतबाट पर्यटक आउने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ ।
५२ पोखरी ५३ टाकुरीको जिल्लामा हिमाल, हिमताल, पोखरी प्रशस्त छन् । यसको साथै बहुमूल्य जडिबुटी यार्चागुन्बु पाइने बुकीसमेत यही जिल्लामा पर्छन् । जिल्लाका तीनवटै स्थानीय तहसँग समन्वय गरेर तीनवटै स्थानीय तहका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि महोत्सव स्थलमा विशेष स्टल निर्माण गर्ने योजना रहेको आयोजकले जनाएको छ । कान्छो जिल्लालाई थोरै भए पनि प्रचारप्रसार गरौं, चिनाऔं भनेर महोत्सव आयोजना गरिएको आयोजक संस्था रुकुमपूर्व चेम्बर अफ कमर्सका महासचिव तिलक खड्काले बताए ।
“जिल्लाभित्र पर्यटक आउनु, पर्यटकीय गतिविधि बढ्नु भनेको जिल्लाको विकासमा टेवा पुग्नु हो,” खड्काले भने, “महोत्सवको पहिलो प्राथमिकता जिल्लाको समग्र पर्यटनको प्रचारप्रसार छ ।” महोत्सव अवधिभर देउराली ओडार, सप्तऋषि धारा तथा तातो पानीमा नुहाउने व्यवस्था, सानीभेरी नदीमा -याफ्टिङको व्यवस्थासमेत गर्ने गरी छलफल भैरहेको जनाइएको छ । महोत्सव अवधिभर रुकुमकोट आसपासका अधिकांश पर्यटकीय स्थलमा सर्वसाधारण पुग्ने गरी कार्यक्रम बनाउने खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्