मत्स्य पर्यटनका रूपमा विकास गरिँदै «

मत्स्य पर्यटनका रूपमा विकास गरिँदै

कर्णालीका जलाधार क्षेत्र
जुम्ला-कर्णाली आफैंमा पर्यटनको सम्भावना नै सम्भावना भएको प्रदेश हो । यहाँ पर्यटकीय गन्तव्य हजारौं छन् । ताल तलैया झरना, मठ मन्दिर, भाषा संस्कृति र पुरातात्विक महत्व बोकेका क्षेत्र कर्णालीमा छन् । जाजरकोट दरबारदेखि मुगुको राराताल, जुम्लाको चन्दननाथ, गुठिचौर छुमचौर तथा सुर्खेतका बुलबुले काँक्रेविहार तथा देउती बजैलगायत हजारौं पर्यटकीय क्षेत्र कर्णालीमा छन् ।
भौतिक पर्यटकीय सम्भावना जतिकै जलाधारको सम्भावना पनि कर्णालीमा उत्तिकै देखिन्छ । कर्णालीमा जलाधार पर्यटनको सम्भावानालाई मध्यनजर गर्दै कर्णाली प्रदेशमा रहेका जलाधारलाई मत्स्य पर्यटन क्षेत्रका रूपमा विकास गरिने भएको छ । कर्णाली नदीसँग जोडिएका विभिन्न जलाधार क्षेत्रमा माछाको सम्भावना धेरै रहेको र पर्यटन जलाधारका रूपमा विकास गर्दा, लोेपोउन्मुख जलप्रणालीको संरक्षण हुने देखिन्छ । कर्णाली नदीसँग जोडिएका तिला कर्णाली, मुगु कर्णाली, हुम्ला कर्णालीलगायत अन्य साना जलाधार क्षेत्रलाई मत्स्य पर्यटनका रूपमा विकास गरिँदै छ ।
विश्वमै पाईने ३ प्रकारका माछा कर्णाली नदीमा मात्रै पाइन्छ । जो हेर्नका लागि कर्णालीका नदी छेउछाउमा दैनिक पर्यटक पुग्ने गरेका छन् । मुगुको रारातालमा रहेका माछा हेर्न आउने पर्यटक पनि उत्तिकै छन् । फ्रान्सबाट ल्याइएका माछा मुगुको रारातालमा छन् । कर्णालीमा पाइने माछाको संरक्षणका साथै, पर्यटन प्रबद्र्धनका लागि जलाधार क्षेत्रलाई मत्स्य पर्यटनका रूपमा विकास गर्नुपर्ने माछा विज्ञ तथा भूमी व्यवस्था तथा कृषि सहकारी विकास मन्त्रालयका सचिव शिवशंकर चौधरीले बताए । “कर्णालीमा आवश्यकताअनुसार माछाविज्ञ नहुँदा अनुसन्धान तथा खोजी हुन सकेको छैन,” उनले भने, “जलचर संरक्षण ऐन २०१७ र प्रदेश सरकारले बनाउने कानुन बाझिन भने हुँदैन ।” उनले कर्णालीको आर्थिक समृद्धि पर्यटनबाटै सम्भव भएको दाबी गरे ।
नेपालमा पाइने २ सय ३२ प्रजातिका माछामध्य अधिकांश कर्णालीका जलाधार क्षेत्रमा पाइने माछा विज्ञ चौधरीले बताए । जलीय जैविक विविधता संरक्षण विधेयकसम्बन्धी परामर्श तथा छलफलका लागि विज्ञको टोली जुम्ला पुगेर फर्किएको छ । जलचर संरक्षण ऐन २०१७ सँग नबाझिने गरी तीनै तहको सरकारले कानुन बनाउँदा प्रभावकारी हुने कानुनविद् हरिनायरण बेल्वासेको भनाइ छ ।
पानी परियोजनाले कर्णालीका माछा संरक्षणका साथै मत्स्य पर्यटन विकासका लागि पहल गर्दै आएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था तथा कृषि विकास मन्त्रालय मत्स्य जलाधार पर्यटनको विकासका लागि विशेष चासो देखाएको छ । अहिले कर्णालीमा १ सय ६५ प्रजातिका माछा पाइन्छन् ।

माछा संरक्षणको छुट्टै नीति
कर्णालीका जलाधार क्षेत्रलाई मत्स्य पर्यटनका रूपमा विकास गर्न माछा संरक्षण गर्नु पहिलो आवश्यकता हो । मानवीय क्रियाकलापले लोपोन्मुख अवस्थामा पुगेका कर्णाली नदीमा पाइने माछा संरक्षणका लागि स्थानीय तथा प्रदेश सरकारले छुट्टै नीति लिनुपर्नेमा विज्ञहरूको सुझाव छ ।
जलचर संरक्षण ऐन २०१७ ले माछाको संरक्षणमा टेवा नपुगेको र मनपरी माछा मार्ने विरुद्ध कडा सजाय नभएकाले आवश्यकताअनुसार प्रतिबन्धका नीति ल्याउन आवश्यक छ । माछा संरक्षणका लागि ठूलै ड्याम निर्माण गर्ने र प्रतिबन्ध लगाउने अधिकार स्थानीय तहलाई छैन ।
तिला गाउँपालिका अध्यक्ष रतननाय योगीले जथाभावी बम हान्ने, ढुंगा, बालुवा उत्खनन् गर्ने, डोजर लगाउने जस्ता कामलाई प्रतिबन्ध लगाउन सकिने बताए । प्रदेश सरकारसँग कानुन नबाझिने गरी माछा संरक्षणका साथै मत्स्य पर्यटनको गतिविधि अगाड बढाउने प्रतिबद्धता उनले व्यक्त गरे ।
माछा संरक्षणका तथा व्यवस्थापनका लागि सबैको साझा धारण हुनुपर्ने तातोपानी गाउँपालिकाका उपाध्यक्ष गंगादेवी उपाध्यायले बताइन् । माछा मार्ने बढी र संरक्षण गर्ने कम भएपछि लोभ हुन पुगेको उनले जानकारी दिइन् । माछा संरक्षणको अभियानसँगै मत्स्य पर्यटनको विषयलाई पनि अघि बढाइने उनले बताइन् ।
नेपालका महाकाली, राप्ती हुँदै कर्णाली क्षेत्रमा माछा संरक्षणका लागि आएको पानी परियोजनाले जुम्लामा परामर्श गोष्ठी सम्पन्न गरेको छ । मत्स्य पर्यटनसँर्ग माछा संरक्षण गर्ने अभियानमा सबैलाई लाग्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्