पाइपलाइनबाट तेल आयात गर्दा एक अर्ब ढुवानी रकम जोगियो «

पाइपलाइनबाट तेल आयात गर्दा एक अर्ब ढुवानी रकम जोगियो

५३ करोड ४१ लाख लिटर आयात

एक वर्षको अवधिमा मुलुकमा पेट्रोलियम पाइपलाइनबाट तेल आयात गर्दा ढुवानी बापतको एक अर्ब रुपैयाँ बचत भएको छ । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाट डिजेल ढुवानी हुँदा एक अर्ब रुपैयाँ बचत भएको हो ।
पाइपलाइनबाट एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको नेपाल आयल निगमले जानकारी दिएको छ । पाइपलाइनबाट डिजेल ढुवानी गर्दा प्रतिलिटरमा दुई रुपैयाँका दरले ढुवानी बापतको एक अर्ब रुपैयाँ बचत भएको निगम प्रवक्ता वीनितमणि उपाध्यायले जानकारी दिए । एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको उनको भनाइ छ । नेपाल र भारतको संयुक्त लगानीमा बनेको अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालन भएको एक वर्ष पूरा भएको छ । गत वर्ष भदौ २४ देखि नियमितरुपमा पाइपलाइनमार्फत डिजेल आयात भइरहेको निगमले जानकारी दिएको छ । पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आपूर्ति गर्दा ढुवानी भाडामा एक अर्ब रकम बचत भएर पेट्रोलियम पदार्थको गुणस्तरमा सुनिश्चित, प्रदुषण न्युनिकरण सहयोग र रक्सौल नकामा हुने ट्राफिक जाममा समेत हटेको निगमको भनाइ छ ।
भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९.२ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याइएको छ ।
उक्त परिणामको डिजेल आयात गर्दा यस अघि हुने ढुवानी तथा तापक्रम नोक्सानी बापतको झण्डै एक अर्ब रुपैयाँ जोगिएको निगमले जनाएको छ । प्रतिघण्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने क्षमता रहेको छ ।
एक वर्षमा दुई लाख ६७ हजार ट्यांकर बराबरको डिजेल पाइपलाइनमार्फत भित्रिएको निगमको अमलेखगञ्ज डिपोले जनाएको छ ।
भारतको बरौनीदेखि नेपालको अमलेखगञ्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर रुपैयाँ खर्च हुने गरेको थियो । पाइपलाइनबाट तेल आयात गर्दा सो रकम बचत भएको निगमको भनाइ छ । पाइपलाइनबाट तेल ल्याउँदा ढुवानी रकम बचत हुनका साथै तापक्रम नोक्सान रकम पनि जोगिएको निगमको भनाई छ । ढुवानी र तापक्रम नोक्सान गरेर एक अर्ब भन्दा बढी रकम बचत भएको निगमको भनाइ छ । पाइपलाइनबाट अहिले डिजेल मात्र आयात भएको छ । पाइपलाइनबाट आयात गरिएको डिजेल अमलेखञ्ज डिपोमा भण्डारण गरेर निगमले उपत्यकासँगै अन्य ठाउँमा आपूर्ति गर्दै आएको छ । बजारमा डिजेलको माग धेरै भएकाले पनि पाइपलाइनबाट डिजेल नै आयात गरिएको निगमको भनाइ छ ।
बरौनी र अमलेखगञ्जको तापक्रममा तीन डिग्रीको फरक रहेको र यसको नोक्सानी एउटा ट्यांकरमा ४५ लिटर बराबर हुने गरेको निगमको भनाइ छ ।
पछिल्लो समय कोराना भाइरसका कारण इन्धन खपत काम हुँदा पाइलाइन आउने तेलको आयात पनि कम भएको छ ।
हाल हप्तामा तीन दिनमात्रै पाइपलाइन सञ्चालनमा आइरहेको निगमले जानकारी दिएको छ । कोरोना भाइरसको नियन्त्रण गर्नका लागि गरिएको निषेधाज्ञाका कारण बजारमा इन्धनको खपत घटेको थियो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पेट्रोलियम पाइपलाई परियोजना भारतको दुई अर्ब ७५ करोड र नेपालको ७५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको थियो ।
यसैबीच, आर्थिक वर्ष २०७७-०७८ को सरकारको नीति तथा कार्यक्रम अनुसार मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्नका लागि काम भइरहेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्