कोरोनालाई बेवास्ता गर्दै राजनीतिक भेला र जमघट «

कोरोनालाई बेवास्ता गर्दै राजनीतिक भेला र जमघट

जुम्ला-कोरोना भाइरसको संक्रमण पछिल्लो समय गाउँगाउँमा फैलिएको छ । जुम्लाको गाउँगाउँमा संक्रमण फैलिएपछि स्वास्थ्यकर्मी दैनिक रुपमा स्बाव संकलन गरेर पिसिआर चेकजाँच गर्दै हैरानमा छन् ।
कोरोना रोकथाम तथा नियन्त्रणको बहस पनि एकातर्फ चलेकै छ । राजनीतिक कार्यक्रमका निहुँमा, देवि देवता पूजापाठका निहुँमा र कुनै पनि विशेष अवसरका निहुँमा जमघट, भेला नगर्न प्रशासनले पटक पटक सूचित गरिरहेको छ । रेडियो, पत्रपत्रिकाबाट पनि नियमित कोरोना संक्रमण रोक्न प्रचार प्रशार भइरहेको छ ।
तर, जुम्लाका दुई वटा राजनीतिक दलले भने कोरोना महामारीलाई बेवास्ता गर्दै राजनीतिक गतिविधि नियमित रुपमा गरिरहेका छन् । जसले गर्दा कोरोना संक्रमणको खतरा बढ्दै गएको छ ।
स्थानीय तहको चुनाव नजिकिएसँगै जुम्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसबीच कोरोना महामारीकै बीच भेला गर्ने, पार्टी प्रवेश गराउने होडबाजी चलेको छ । ठूलो संख्यामा भेला हुने, न त मास्क प्रयोग गर्ने, न त भौतिक दूरी कायम गर्ने ठूलाबडाले जेपनि गरे हुन्छ भनेजस्तो गर्दै दुई ठूला पार्टीले जुम्लामा महामारीलाई गिज्याउँदै राजनीतिक गतिविधि गरिरहेका छन् ।
गएको डेढ महिनाअघि यहाँको हिमा गाउँपालिकामा सत्ता पक्ष नेकपा र प्रतिपक्ष नेपाली कांग्रेस पार्टीले प्रशासनको निर्णय विपरित गाउँगाउँमा कार्यकर्ता भेला, पार्टी प्रवेश गर्ने क्रम चल्यो भने लकडाउनकै बीच देविदेवताका मठ मन्दिरमा पूजापाठ गर्ने सयौं जनमानसको भीड गर्ने गरेपछि सोही गाउँपालिकामा एकै दिन ५१ जना व्यक्तिमा कोरोना संक्रमण देखियो । जसले गर्दा समुदायमै कोरोना फैलिएको पुष्टी भएको थियो । त्यसपश्चात बसेको सर्वदलिय बैठकले समेत कोरोना नियन्त्रण नहुन्जेल सबै राजनीतिक कार्यक्रम, भेला रोक्न निर्णय भएको थियो ।
तर तीनै निर्णय गर्ने नेकपा र कांग्रेसका जनप्रतिनिधि, नेताहरुले भने आफैंले गरेको निर्णय उल्लंघन गरेका छन् । जुम्लामा दैनिकजसो कोरोना संक्रमित बढिरहेका छन् । स्वाब संकलन र पिसिआर जाँच चलिरहेको छ । तर पनि यहाँका आठै स्थानीय तहमा भने पार्टीका कार्यक्रममा गुपचुपमा भइरहेको पाइएको छ ।
यसै हप्ता चन्दननाथ नगरपालिका–६ मा नेकपा र कांगेस पार्टीको राजनितिक कार्यकर्ता भेला गर्ने प्रतिष्पर्धा चलिरहेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जान थालेपछि जुम्लामा विशेष गरी नेपाली काग्रेस र नेकपाको चहलपहल बढेको देखिन्छ ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले सत्ताको दाउपेचमा दुई ठूला पार्टीले यतिबेला मानवता नै बिर्सिएको टिप्पणी गरे । विशेषगरी दुई पार्टी नेकपा र कांग्रेस सत्ता कसरी बचाउने र सत्तामा कसरी जाने भन्ने दाउपेचमा छन् ।
उनले भने, ‘कोरोना भाइरसको विकराल अवस्थामा पनि आफ्ना पार्टीका भेला तथा कार्यक्रम गर्ने गरेका छन् । जनता बाँचे राजनीतिक गर्ने हो यति पनि ख्याल छैन । साउन ३० गते सर्वदलिय बैठकमा राजनीतिक गतिविधि नगर्ने र कोरोना नियन्त्रण तथा रोकथाममा जुट्ने भनि गरेको प्रतिबद्धता छिटै बिर्सिएका छन् ।’
नेकपा जुम्लाका अध्यक्ष विरबहादर कुवँरले केही समय अघि नेकपाले पनि कोरोना महामारीका बेला कार्यकर्ता भेला तथा राजनीतिक कार्यक्रम गरेको स्वीकार गरे । उनले भने, ‘पार्टीको एकतापछि स्थानीय स्तरमा पनि संगठन विस्तार गर्नु पर्ने भएकोले कार्यकर्ता भेला तथा कार्यक्रम भएका हुन् । तर प्रशासनले कोरोना महामारीको बेला भेला तथा कार्यक्रम नगर्न ध्यानाकर्षण गरेपछि रोकेका छौँ ।’
त्यस्तै, नेपाली कांग्रेसका जिल्ला सभापति दिपबहादुर शाहीले कोरोना महामारीको बेला पार्टीको कुनै औपचारीक गतिविधि नभएको दावी गरे । उनले भने, ‘पार्टी अधिबेसनको तयारी रोकेका छौँ । रसिद नविकरणदेखि नयाँ सदस्यताका गतिवधि पनि भएका छैनन । भदौ २४ गते मनाउनु पर्ने वि.पि जन्म जयन्तीमा पनि पार्टी कार्यालय खोलिएको छैन ।’
यता चन्दननाथ नगरपालिका–६ का नव गठित कमिटिका अध्यक्ष दानबहादुर रावलले थोरै संख्यामा त्यो पनि कोरोना परीक्षण पिसिआर गरेका व्यक्तिहरुको मात्र सहभागी रहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्