अत्याधुनिक प्रविधिमार्फत खाद्य उत्पादनमा जोड «

अत्याधुनिक प्रविधिमार्फत खाद्य उत्पादनमा जोड

कृषि र खाद्य सुरक्षा कायम गर्न उत्पादनमा वृद्धि गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । गैरआवासायी नेपाल संघ (एनआरएनए) ले आयोजना गरेको पहिलो एनआरएन अन्तर्राष्ट्रिय विज्ञ सम्मेलमा आयोजित ‘खाद्य सुरक्षाका लागि कृषि र प्राकृतिक स्रोतको प्रभावकारिता’ विषयक सत्रमा कृषि विज्ञहरूले नयाँ प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गरी खाद्य सुरक्षा कायम गर्नुपर्नेमा जोड दिएका हुन् ।
राष्ट्रिय योजना आयोगका सदस्य एवं कृषि विज्ञ डा. दिलबहादुर गुरुङले योजना आयोगले २५ वर्षको राष्ट्रिय भिजन कार्यक्रममार्फत कृषि उत्पादनमा विशेष जोड दिन लागेको बताए । एनआरएनको सहकार्यमा मुलुकको कृषि र खाद्य सुरक्षा कायम राख्न उत्पादनमा विशेष जोड दिनुपर्ने भन्दै उनले एनआरएनमार्फत स्वदेशी उत्पादनलाई ब्रान्डिङ गरेर बजारीकरण गर्नुपर्ने बताए । मुलुकमा खाद्य सुरक्षा कायम राख्न कृषि उत्पादनमा विशेष जोड दिनुपर्ने धारणा राख्दै उनले एनआरएनको सहकार्यमा कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायिकीकरण गराउँदै लैजानुपर्नेमा जोड दिए । उनले मुलुकमा खाद्य उत्पादन बढाउन राष्ट्रिय योजना आयोगले १५ औं पञ्चवर्षीय योजनामार्फत कृषिमा क्षेत्रको उत्पादनमा वृद्धि गर्ने विभिन्न कार्यक्रम समावेश गर्न लागेको जानकारी दिए ।
कार्यक्रममा धानबाली विशेषज्ञ भोलामानसिंह बस्नेतले खाद्य सुरक्षा कायम राख्न धानको उत्पादनमा वृद्धि गर्नुपर्ने बताए । उन्नत वीउ, मल र उन्नतप्रविधि विस्तार गरेर धानको उत्पादन वृद्धि गरेमात्र कृषि क्षेत्रको विकास गर्न सकिने बताए । “जलवायु परिवर्तन, पानीको अभाव, श्रम, लगानी अभावले गर्दा खाद्यान्नको उत्पादन बढ्न सकेको छैन,” उनले भने, “उत्पादन बढाउन रासायनिक मलसँगै नाइट्रोजन आवश्यक पर्छ ।”
सेन्टर क्विजल्यान्ड विश्वविद्यालय अस्ट्रेलियाका वरिष्ठ अनुसन्धान विज्ञ डा. सूर्य भट्टराईले खाद्य उत्पादन बढाउन रासायनिक मलको विकल्प खोज्नुपर्ने बताए । रासायनिक मलको विकल्पको रूपमा कम्पोष्टमल, भर्मिक मलको प्रयोग गरेर कृषिको उत्पादन गरी खाद्य सुरक्षा कायम गर्नुपर्ने उनको सुझाव थियो ।
क्यानडाका लायम बायोकेम इन्टरनेसनलका विज्ञ डा. पूर्ण कँडेलले नयाँ यान्त्रिकीकरणमार्फत कृषि उत्पादन बढाएर खाद्य सुरक्षा कायम गर्न सकिने बताए । “परम्परागत खेती प्रणालीले उत्पादन बढाउन सकिँदैन,” उनले भने “कृषि क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभावले पनि यान्त्रिकीकरणको प्रयोग गरेर उत्पादन बढाउन सकिन्छ ।” विश्वका विकसित भएका नयाँ प्रविधिको प्रयोग गरेर कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरेर उत्पादन बढाउन सकिने उनको भनाई छ । निजी र सरकारी क्षेत्रको साझेदारमा कृषि उत्पादनमा विशेष जोड दिनुपर्ने भन्दै उनले कृषि प्रधान मुलुक भए पनि खर्बाै रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात भइरहेकाले उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्न सकिने बताए ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का निर्देशक डा. टेकबहादुर गुरुङले खाद्य सुरक्षा कायम गर्न निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिकीकणमा जानुपर्ने बताए । निर्वाहमुखी खेती प्रणालीले खाद्यान्न उत्पादन गर्न नसकिने भन्दै उनले कृषि उत्पादन बढाउन नेपालमा रासायनिक मलको कारखाना स्थापना गर्न एनआरएनलाई आग्रह गरे । निजी सहकारीमार्फत कृषि क्षेत्रमा राम्रो काम भएकाले पनि देशभरी छरिएर रहेका सहकारीलाई लिंक गरेर उत्पादनमा जोड दिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्