चैतयता सामाजिक सुरक्षामा ३० हजार थपिए «

चैतयता सामाजिक सुरक्षामा ३० हजार थपिए

कोरोना महामारीका लागि गरिएको लकडाउन तथा निषेधाज्ञा अवधिमा सामाजिक सुरक्षा योजनामा योगदान सूचिकृत श्रमिकको संख्या दोब्बर वृद्धि भएको छ भने कोषमा रकम पनि डेढ गुणा बढेको । लकडाउनअघिको ८ महिनाको तुलनामा लकडाउन सुरु भएयता दोब्बरभन्दा बढीले वृद्धि भएको पाइएको हो । सामाजिक सुरक्षा कोषमा फागुनसम्म ७८ करोड जम्मा भएकोमा चैतयता लकडाउन भएपछि ९५ करोड रुपैयाँभन्दा बढी जम्मा भएको छ । विगत ५ महिनामा कुनै आर्थिक क्रियाकलाप नभए पनि सामाजिक सुरक्षा योजनामा आवद्ध हुने श्रमिक कर्मचारी सख्या बढेसँगै योगदान रकम समेत वृद्धि भएको छ । यो अवधिमा सरकारले अनुदान दिएको १ अर्बबाहेक नै योगदान रकम बढेको पाइएको छ । सरकारले दिने रकम सहित लकडाउनमा मात्र १ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
लकडाउन अवधिमा सामाजिक सुरक्षा योगदानमा आवद्ध हुने श्रमिक योगदानकर्ताको संख्या बढे पनि उनीहरूको योगदान रकम भने श्रमिक र रोजगारदाताको तर्पmबाट काटिएको छैन । गत आवबाट सुरु भएको योजनामा विगत ५ महिनायता मात्र सूचिकृत हुने श्रमिक कर्मचारीको संख्या ३० हजार पुगेको छ । कोषले योगदानमा आधारित सुरक्षा योजनाप्रति आम मानिसको विश्वास बढेको कारण योगदानकर्ता र रकम बृद्धि भएकको जनाएको छ । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले चैतअघि ८ महिनामा ३३ हजार श्रमिक सूचीकरण भएकोमा लकडाउनयता ३० हजारभन्दा बढी थपिएको जानकारी दिए । हाल कोषमा मासिक योगदान रकम काटिने श्रमिकको संख्या ६३ हजार पुगेको छ ।
“लकडाउनअघि मुस्किलले ३३ हजार सूचीकरण भएको योजनामा कुनै आर्थिक क्रियाकलाप नभएको बेला समेत ३० हजार बढेका छन् । योदानकर्ताको संख्या वृद्धिसँगै कोषमा सरकारले दिने योगदानसहित २ अर्ब ५८ करोड रुपैयाँ जम्मा भएको छ । हाल सरकारले दिने योगदानबाहेक कोषमा १ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ रहेको छ । लकडाउन अवधिमा मात्र रोजगारदाताको २० र श्रमिकको दायित्वमा परेको ११ प्रतिशत सहित ३१ प्रतिशत रकम हाल सरकारले अनुदानको रुपमा दिएको छ । अर्थ मन्त्रालयले विगत ४ महिनाको १ अर्ब रुपैयाँ बढी श्रमिकको योगदान रकम अनुदानको रुपमा दिएको छ ।
संकटका बेला सामाजिक सुरक्षा योजनाप्रति आम मानिसको विश्वास बढेका कारण धेरै आम्दानी हुने बैंक लगायतका कर्पोरेट क्षेत्रका श्रमिक कर्मचारी समेत कोषमा सूचिकरण हुनाले पनि रकम बृद्धि भएको हो । कोषमा हाल श्रमिक र रोजगारदाताको तर्फबाट जम्मा भएको र हालै सरकारले दिएको अनुदानसहित २ अर्ब ५८ करोड रुपैयाँ जम्मा हुने भएको छ । अर्थ मन्त्रालय जेठ, असार र साउनको योगदान रकमवापत ८५ करोड कोषलाई दिने भएको छ ।
हाल कोषमा योगदानकर्तासहित १ लाख ७३ हजार २२० श्रमिक सूचिकृत भएका छ भने १२ हजार ६६० रोजगारदाता आवद्ध भइसकेका छन् । लकडाउन अवधिमा भने १८१ प्रतिष्ठानमात्र सूचीकरण भएको कोषले जनाएको छ । हालसम्म ४०४ श्रमिकले विभिन्न ४ शीर्षकमा ८५ लाख ३६ हजार ८९९ रुपैयाँ बराबर दाबी भुक्तानी लिएका छ । यसमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी गर्नेको संख्या ३५० रहेको छ । यसैगरी दुर्घटना तथा असक्तता सुरक्षा दावी लिनेको संख्या २६, आश्रित परिवार सुरक्षा दाबी भुक्तानी ९ र उपदान दावी भुक्तानी संख्या १९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्