Logo

आठ महिनामा २ लाख पर्यटक

नेपाल भित्रिनेभन्दा बाहिरिने बढी

यस वर्षको आठ महिनामा जम्मा २ लाख पर्यटकमात्र नेपाल भित्रियका छन् । जनवरीदेखि अगष्टसम्म १ लाख ९९ हजार ९ सय ३ जनाले नेपाल भ्रमण गरेको अध्यागमन विभागले जनाएको छ । गत वर्ष सोही समयमा ७ लाख ३९ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरे पनि कोरोना भाइरसको प्रभावले पर्यटक आगमन शून्य हुँदा भ्रमण वर्ष नै स्थगित गरिएको छ । यद्यपि कोरोनाको असर सुरु हुनुअघि नै पर्यटक आगमन त्यति उत्साहजनक भने थिएन ।
अध्यागमन विभागका अनुसार, पछिल्लो ८ महिनमा नेपाल प्रवेश गर्नेभन्दा नेपालबाट बाहिरिनेको संख्या बढी छ । यो अवधिमा २ लाख ३२ हजार ८२ विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फिर्ता भएका छन् । पछिल्लो ८ महिनामानै ३ लाख ५८ हजार ६ सय ५ जना नेपाली स्वदेश फिर्ता भएका छन् । चैतसम्म रोजगारी र अध्ययनका लागि जानेको संख्या नघटेका कारण यो अवधिमा ३ लाख ९ हजार ८ सय ५२ नेपाली विदेश प्रस्थान गरेको तथ्यांक छ । अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार नेपाली र विदेशी गरेर कुल ५ लाख ५८ हजार ५ सय ८ जना नेपाल आएका थिए भने ५ लाख ४१ हजार ९ सय ३४ बाहिरिएका छन् ।

नियमित शुल्कमा भिसा नवीकरण सुविधा
अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकलाई भिसाको म्याद थपमा सहजीकरण गरेको छ । सरकारले भदौ ४ देखि निषेधाज्ञा लागू गरेको समयमा भिसा नवीकरण गर्नबाट बञ्चित भएका विदेशी नागरिकलाई १५ दिन यस्तो सुविधा प्रदान गरेको हो । निषेधाज्ञाको समयमा भिषाको म्याद सकिएका विदेशी नागरिकलाई सहजिकरण गर्नका लागि विभागले यस्तो सूचना प्रकाशित गरेको विभागका महानिर्देशक केसीले बताए । यसबाट नेपालमा रहेका विदेशी कामदार, व्यावसायिक, पारिवारिक भिषामा नेपालमा रहेका विदेशी नागरिक लाभान्वित हुने छन् । जरिवाना र विलम्ब शुल्क नलिई भिसा नवीकरण गरिने विभागले जनाएको हो । भदौको २८ गतेदेखि असोजको ११ गते सम्म नियमित प्रकृयाबाट भिषाको म्याद थप गर्न पाउने छन् । विभागलाई भिसा वापत दैनिक ३ डलरका दरले तिर्नुपर्ने अनिवार्य शुल्कमात्र तिरेर भिषा नियमित गर्न सक्ने छन् । यता नेपालमा रहेका पर्यटकले भिसा नियमित गरेर मंसिरसम्म बस्न पाउने नियम भने यथावत नै रहेको विभागले प्रष्ट पारेको छ । १ महिना अगाडि विभागले नेपालमा अलपत्र परेका पर्यटकले मंसिरसम्म नियमित भिसा शुल्क मात्र तिरेर बस्न पाउने निर्णय गरेको थियो ।
गृहमन्त्री स्तरीय निर्णयले कोभिड–१९ का कारण उत्पन्न परिरिस्थितिको मूल्याङ्कन गर्दै नियमित व्यवसायिक उडान सुचारु नहुँदा स्वदेश फिर्ता हुन नपाएका पर्यटकलाई नेपाल बसाईमा सहजीकरण गर्न यस्तो निर्णय गरिएको अध्यागमन विभागले जनाएको थियो । मन्त्रालयले गरेको यो निर्णयसँगै नेपालममा अलपत्र परेर स्वदेश फिर्ता हुन नपाएका पर्यटकको लागि नियमित भिसा शुल्क मात्र तिरेर बस्ने पाउने निर्णय भएको थियो । सरकारले पर्यटकलाई १ सय ५० दिनसम्मको मात्र पर्यटन भिसा दिने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्