एसिड हान्नेलाई कारबाही गर्न तत्काल कानुन बनाउँछौं : प्रधानमन्त्री «

एसिड हान्नेलाई कारबाही गर्न तत्काल कानुन बनाउँछौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) प्रहार गर्ने दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत नयाँ कानुन बनाइने घोषणा गरेका छन् । अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल कानुन बनाउन लागिएको प्रधानमन्त्रीले बताएका हुन् ।
यसका लागि १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि प्रधानमन्त्रीले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । ‘अपराधीको सम्पत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पु-याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिनेछ,’ प्रधानमन्त्रीले भने ।
एसिड आक्रमणका घटनामा परेकामध्ये १२ जना पीडितहरू सहभागी बिहीबारको कार्यक्रममा प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत सरकारले गर्ने घोषणा गरेका छन् ।
पढ्न चाहनेहरूका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने भएको छ । साथै, उचित तालिम, रोजगारी, व्यवसाय र जीविकाको प्रबन्ध सरकारले मिलाउने समेत प्रधानमन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्रीले एसिडपीडितलाई सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिने बताएका छन् । सेप्टेम्बर १० लाई एसिड आक्रमणविरूद्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत उनले सबैलाई आह्वान गरेका छन् ।
सभ्य समाज निर्माण गर्न सरकारले एसिड आक्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले हरेस नखाई अघि बढ्न सहभागीहरूलाई आश्वस्त गरेका थिए । नेपालमा विभिन्न १७ वटा घटनामा परेका १९ जना एसिड पीडितहरू रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्