कांग्रेससँग आन्दोलनमा जान राजपामा दबाब «

कांग्रेससँग आन्दोलनमा जान राजपामा दबाब

राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरूले प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर आन्दोलनमा जानुपर्ने प्रयास अगाडि बढाएका छन् । कांग्रेसका केही नेताहरूले राजपाका शीर्ष नेताहरूसँग सम्पर्क गरी यसबारे छलफल बढाएको देखिएपछि राजपाका नेताहरूले आन्दोलनका बारेमा सोच्न शीर्ष नेतृत्वमा दबाब दिन थालेको पार्टीका नेताहरूले बताएका हुन् ।
राजपाले पार्टीको महाधिवेशन आगामी वैशाखमा सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टी स्रोतका अनुसार राजपाले सरकारलाई छठसम्म माग पूरा गर्न दबाब दिएको छ । सत्तारूढ नेकपा आन्तरिक राजनीतिक विवादमा फसेका बेला राजपा प्रतिपक्षी नेपाली कांग्रेसको सहयोगमा आन्दोलनको तयारीमा जुटेको हो । सत्तापक्षले संघीय समाजवादी फोरमलाई भने सरकारमा सामेल गराइसकेको छ ।
सरकारले काम गर्न नसकेको चौतर्फी आलोचना भइरहेका बेला कांग्रेस पनि आन्दोलनमा जान सक्ने बताइएको छ । कांग्रेससँग मिलेर आन्दोलन गर्ने योजना राजपाको हो ? भन्ने प्रश्नको जवाफमा राजपा उपाध्यक्ष सत्यनारायण मण्डलले भने, “आन्दोलनमा मिलेर जाने कुरो नौलो हैन । हामी अहिले पनि आन्दोलनमै छौं । सरकारले छठसम्म माग पूरा नगरे भद्र अवज्ञा आन्दोलन शुरू गर्नेछौं । पार्टीले औपचारिक रूपमा निर्णय नै गरिसकेको छैन । तर, यसबारे छलफल चलिरहेको छ ।”
पार्टीका नेता डा. सुरेन्द्र झाले पनि दिइएको अल्टिमेटममा सरकारले कुनै सकारात्मक पहल नगरे त्यसपछि रोजिने बाटो आन्दोलनबाहेक अरू नभएको बताए । उनले भने, “राजनीतिक पार्टीका लागि आन्दोलनको बाटो सदैव खुला हुन्छ । उचित राजनीतिक अवसर र सामथ्र्यको खोजी आन्दोलनका लागि आवश्यक हुन्छ ।”
कांग्रेससँग मिलेर जाने सवालमा नेताहरूले आफूहरूको मागबारे अन्य पक्षले कसरी लिने हो, त्यस आधारमा पार्टीको राजनीति तय हुने उनले बताए । डा. झाले भने, “कांग्रेस पार्टीले हाम्रो संविधान संशोधनको एजेन्डालाई कुन प्राथमिकतामा राख्छ, त्यस आधारमा सहकार्य हुनेछ ।”
आन्दोलनमा सहयोग गर्ने विषयमा कांग्रेस पार्टीका नेताहरूले राजपाका नेताहरूसँग छलफल गरिरहेको दुवै नेताले बताएका छन् । कांग्रेससँग मिलेर आन्दोलन चर्किए सरकारमा सहभागी फोरमभित्रका आन्दोलनकारी समूह वा फोरम नै सरकारबाट बाहिरिन सक्ने केही नेताहरूको बुझाइ छ ।
गत असोज ३ गते संविधानको विरोध गरी कालो दिवस मनाउने बेला फोरममा विवाद उत्पन्न भएको थियो । फोरमकी उपाध्यक्ष रेणुकुमारी यादवले कालो दिवस मनाउने निर्णय गरी पार्टीका नेताहरूलाई संविधानको विरोध गर्न भनेकी थिइन् ।
तर, सरकारमा सहभागी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी भई संविधानको विरोध गर्नु उचित नभएको बताएका थिए । अध्यक्ष यादवले सरकारमा सहभागी हुन गरेको सम्झौतामा संविधान संशोधन गर्ने पनि उल्लेख थियो । कांग्रेससँग राजपाले संविधान संशोधनको माग लिएर सडकमा गए फोरमलाई सरकारमा बसिरहन समस्या हुने कतिपय राजपा नेताहरूको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्