आन्तरिक उडान खोल्ने तयारी «

आन्तरिक उडान खोल्ने तयारी


सरकारले अन्तर्राष्ट्रिय उडान थप्ने र असोजको दोस्रो सातादेखि आन्तरिक उडानसहित हिमाल आरोहण र पदयात्रा खुला गर्ने तयारी गरेको छ । कोभिड–१९ रोकथामको लागि भन्दै ६ महिनादेखि वाह्य उडान बन्दसँगै हिमाल आरोहण र पदयात्रा बन्द गरेको सरकारले खुला गर्ने तयारी गरेको हो । सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्बन गरेर हिमाल आरोहण र पदयात्रा खुलाउनको लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए । उनले भने, “कोभिड–१९ जोखिम कम भएको क्षेत्रहरूमा पर्यटकीय गतिविधि बढाउन र आर्थिक क्रियाकलाप चलयमान बनाउने उद्देश्यले सरकारले हिमाल आरोहण, पदयात्रा र आन्तरिक उडान खुलाउने तयारी गरेको हो ।”
सरकारले जारी गरेको कोभिड–१९ स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई पीसीसीआर रिपोर्ट नेगेटिभ लिएर आउने पर्यटकलाई नेपालमा प्रवेश सहजीकरण गर्ने गृहकार्य भइरहेको मन्त्री भट्टराईले बताए । पर्यटकहरू नेपाल आउन चाहन्छन् र सरकारले तोकेको कोभिड–१९ को स्वस्थ्य सुरक्षा मापदण्ड पालना गरेर नेपाल आउन चाहाने पर्यटलाई नेपाल आउनमा सहजीकरण गर्ने गरी मन्त्रालयले सम्बन्धित निकायसमक्ष सिफारिस गरेको मन्त्री भट्टराईको भनाइ छ । रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवबीच भएको छलफलले उडानमा सहजीकरण गर्दै पर्यटकीय क्षेत्र खोल्नको लागि समझदारी गरेको हो । प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको संख्या थप गरेर नेपाल फिर्ता हुने यात्रु ल्याउनमा समझदारी भएको मन्त्री भट्टराईले बताए ।
विदेशमा रहेका नागरिकलाई स्वदेश फिर्ता गर्न थप सहज गर्ने प्रक्रिया अघि बढाएको र विभिन्न आयोजनाहरूलाई आवश्यक विदेशी प्राविधिक जनशक्तिसहितका कामदारलाई भित्र्याउन लागि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिमा प्रस्ताव गरिएको पनि मन्त्री भट्टराईले जानकारी दिए ।
बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अन्तक्रियामा मन्त्री भट्टराईले दिएको जानकारी अनुसार सरकारले पछिल्लो समयमा निर्धारण गरेको विदेशबाट आउनेको कोटा संख्यामा वृद्धि गर्दै सहज बनाउने निर्णय छ । पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुमा ल्याउने गरी नियमित उडान भएका मुलुकमा विमान कम्पनीले उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय गरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरिएको उनले बताए । अनिवार्य पीसीआर परीक्षण नेगेटिभ भएका र रोजगारदाता कम्पनीले आफ्नै खर्चमा स्वदेश ल्याउने चाहने वायुसेवा कम्पनी लगायतलाई मध्यनजर गर्दै नियमित उडान संख्या र यात्रु संख्या बढाउने योजना अगाडि बढाएको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय उडानको संख्या थप गरेर नेपाल फिर्ता हुने यात्रु ल्याउनमा प्रक्रिया अघि बढाएको बताउँदै मन्त्री भट्टराई भने, “अन्तर्राष्ट्रिय उडान थप गर्ने र दैनिक ३ हजारसम्म स्वदेश फिर्ता हुने गरी व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाएको छु, आन्तरिक उडान भने असोज १५ बाट सुरु गर्ने गरी सीसीएमसीमा सिफारिस गरेको छु ।” आन्तरिक उडान सुचारु गर्नको असोज १ बाट नै पहल गरेको र आन्तरिक तयारी पूरा गर्दा असोज १५ बाट सुचारु हुने अवस्था रहेको मन्त्री भट्टराईले बताए ।
संक्रमण कम भएको हिमाली पहाडी र अन्य गन्तव्यमा आन्तरिक उडान खोल्ने सरकारको तयारी रहेको छ । चाडबाडमा यात्रालाई सहजीकरण गर्दै तत्काल उडान संख्यामा कटौती गर्दै ३० प्रतिशतसम्म उडान खोल्ने मन्त्रालयको तयारी रहेको छ । यसरी हवाई मार्गबाट यात्रा गरेका यात्रुको यात्रा विवरण भने ३ महिनासम्म राख्नु पर्ने छ । मन्त्रालयले आन्तरिक पर्यटकलाई चलयमान बनाएर घुमफिरको संस्कार विकास गर्न ‘देश दर्शन’ अभियान चलाउन पनि प्रस्ताव गरिएको छ । दुई दिन बिदा दिएर कर्मचारीहरूलाई आन्तरिक घुमफिरमा सहजीकरण गर्ने मन्त्रालयको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्