पहिरोमा पूर्वसूचना प्रणाली अभाव «

पहिरोमा पूर्वसूचना प्रणाली अभाव

तीन महिनामै साढे दुई सयको मृत्यु

१९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भयो ।
गत साउन ३० गते सिन्धुपाल्चोककै जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएका १७ घरका ३९ जनामध्ये हालसम्म ३२ को शव फेला परेको छ । यसमा १७ बालबालिका, १० महिला र पाँच पुरुष छन् ।
गत भदौ १८ गते राती ढोरपाटन नगरपालिका–८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण ३१ घर बगायो । हालसम्म १४ को मृत्यु भएको छ भने, २४ बेपत्ता र ४ जाना घाईते भएको छन् ।
यी त केही उदाहरणमात्रै हुन् । बाढीले क्षति पु¥याएका यस्ता अन्य घटनाहरू अरु पनि छन् । गृह मन्त्रालयको तथ्यांकअनुसार करिब तीन महिना अर्थात गत जेठ ३० गतेदेखि १८ भदौसम्म पहिरोका कारण मृत्यु हुने को संख्या २ सय ४३ पुगेको छ । यो अवधिमा अझैसम्म ५१ जना बेपत्ता भएका छन् भने १ सय ९० जना घाइते भएका छन् । मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना २०७७ अनुसार गत वर्ष पहिरोले ८३ जनाको मृत्यु भएको थियो । साना–ठूला गरेर पहिरोका ४ सय ३४ घटना भए । यो अवधिमा ४० अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको कार्य योजनामा उल्लेख छ ।
बाढीकोजस्तै पहिरोको पनि पूर्वसूचना प्रणाली लागू भएको भए केही हदसम्म धनजनको क्षति न्यून हुने थियो कि ! यतिबेला धेरैको मष्तिस्कमा यही प्रश्न उठेको छ । तर हालसम्म पहिरोको पनि पूर्वसूचना प्रणाली छैन । कहिले लागू हुन सक्छ भन्ने पनि एकिन छैन तर जल तथा मौसम विज्ञान विभागले प्रयोगमा ल्याएको बाढीसम्बन्धी पूर्वसूचना दिन थालेपछि धनजनको क्षति न्यूनीकरण भएको छ ।
विभागले भने पहिरोको पनि पूर्वसूचना दिएर क्षति न्यूनीकरण गर्न आगामी २ वर्षभित्रमा जोखिम बढी भएका क्षेत्रहरूमा पहिरोसम्बन्धी पूर्वसूचना दिने स्टेसनहरू जडान गर्ने योजना भने बनाएको छ । विभागका महानिर्देशक सरजुकुमार बैद्यले पहिरोको कारण पनि यो वर्ष धेरैको ज्यान गईरहेको भन्दै यसको क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली लागू गर्ने तयारी भइरहेको बताए । “पछिल्लो समय बाढीबाट मात्रै होईन पहिरोको कारण पनि कति घरबारबिहिन भएका छन्, यो वर्ष करिब ३ सयले पहिरोबाट ज्यान गुमाएका छन्, बाढीले भन्दा पहिरोले धेरैको ज्यान गएको छ,” उनले भने, “पहिरो जानबाट त हामीले रोक्न सक्दैनौ तर यसबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न सक्छौं, यसका लागि आगामी २ वर्षभित्र पहिरोको पनि पूर्वानुमान गर्ने र पूर्वसूचना दिने काम गर्ने योजना छ, जसले गर्दा पहिरोबाट पनि कम क्षति हन सक्छ ।” कति पानी पर्दा पहिरो जान सक्छ भनेर अन्तरसरकारी निकाय तथा अन्य सरकोकारवालाहरूसँग मिलेर सयुंक्त रुपमा अध्ययन गर्ने उनको भनाइ छ ।
प्राकृतिक क्षेत्रमा काम गर्ने विभिन्न दातृ निकायहरू पनि पछिल्लो समय पहिरोको क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली लागू गर्न र यस कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारलाई आर्थिक तथा प्राविधिक सहयोग गर्न इच्छुक देखिन्छन् । हालसम्म नेपालमा पहिरोसम्बन्धी पूर्वसूचना प्रणाली लागू नभए पनि प्राक्टिकल एक्सनले भने बझाङ र बाजुरा जिल्लामा नमूना रुपमा परियोजना सञ्चालन गरिरहेको छ ।
जलवायु तथा विपत व्यवस्थापनविद् डा. धर्म उप्रेतीले सबै स्थानीय तहको पहिरोसम्बन्धी जोखिम बर्गिकरण गरेर कुन भू–वनोटले कति पानी थेग्न सक्छ भन्ने बिषय अध्ययन गरी पूर्वसूचना प्रवाह गर्न आवश्यक रहेको बताए । “मौसमसम्बन्धी पूर्वानुमान भइरहेको छ, कुन स्थानमा कति पानी पर्न सक्छ भनेर ३ दिनअघि नै थाहा हुन्छ, यदी भूबनोटको अवस्था थाहा भयो भने त्यो भू–वनोटले कति पानी थेग्न सक्छ भन्ने पनि मूल्यांकन गर्न सक्छौं, यसको आधारमा पहिरोको जोखिम थाहा पाउन सकिन्छ,” उनले भने, “पहिरोको जोखिमयुक्त स्थान पहिचान गरेर सर्वसाधरणहरूलाई सचेत पनि गराउन सक्छौं, पहिरो जाँदा कुन स्थानतिर जानुपर्छ, कसरी जोगिने ? पूर्वतयारी कसरी गर्ने भनेर । जतिसक्दो चाँडो पूर्वसूचना प्रणालीको विकास गर्नुपर्छ अनि पहिरोबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ ।”

जोखिमपूर्ण बस्ती सार्न आवश्यक
२०७२ सालमा गएको भूकम्पका कारण पनि कतिपय वस्तीहरू पहिरोको जोखिममा रहेको देखिएको छ । तर जोखिममा रहेका बस्ती स्तान्तरणका लागि कुनै पनि पहल भएको छैन । संयुक्त अधिराज्यको डरहम विश्वविद्यालय र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) ले गरेको एक अध्ययानले सन् २०१५ को गोरखा भूकम्पका कारण अति प्रभावित १४ जिल्लामा भूकम्पका कारण सिर्जित करीब २० हजार पहिरोहरूको नक्सांकन गरेको छ । जलवायु तथा विपत् व्यवस्थापनविद्् डा. उप्रेतीले पहिरोको जोखिममा रहेका बस्ती स्तान्तरणको बिषयमा सरकारले चाँसो नदिएसम्म अझै पहिरोबाट धेरै धनजनको क्षति हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्