सक्षम र स्वच्छ निजामती सेवाको आवश्यकता «

सक्षम र स्वच्छ निजामती सेवाको आवश्यकता

मुलुकको शासन प्रणालीको मेरुदण्डका रूपमा रहेको निजामती सेवालाई सक्षम बनाउन सकियो भने मात्र विकास, समृद्धि हासिल गरी सुशासन कायम गर्न सकिन्छ ।

यस वर्षको निजामती सेवा दिवस ‘स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन’ मूल नाराका साथ मनाइएको छ । मुलुकमा २०६२-०६३ मा भएको युगान्तकारी परिवर्तनसँगै अब आर्थिक–सामाजिक रूपान्तरण गरी समाजवादी क्रान्ति गरेर मुलुकमा समाजवाद स्थापना गर्न संविधानले नै दिशाबोध गरेको छ । स्वाभाविक रूपमा मुलुकको निजामती सेवाका सामु पनि अब युगान्तकारी परिवर्तनका उपलब्धिलाई आत्मासात् गर्दै मुलुकका सामु रहेको ऐतिहासिक अभिभारा पूरा गर्नुपर्ने दायित्व आएको छ । निजामती सेवालाई आमूल सूधार र परिवर्तन गरी परिवर्तन सुहाउँदो सक्षम एवम् जनमुखी निजामती सेवाका रूपमा विकास गर्नुपर्ने ऐतिहासिक अभिभारा आएको छ । दशकौंदेखि जनता सामन्ती एवं केन्द्रीकृत शासन प्रणालीबाट दमित हुँदै आएका छन् । विगतमा शासन प्रणाली नै सामन्ती र केन्द्रीकृत भएका कारण कर्मचारीतन्त्रमा पनि यसको प्रभाव पर्नु स्वाभाविक थियो । कर्मचारीतन्त्रले विगतमा जनताको सेवक होइन, शासकका रूपमा भूमिका निर्वाह ग¥यो । यसले गर्दा निजामती सेवा जनताको नजरमा विगतमा लोकप्रिय बन्न सकेको थिएन । अतः अब बदलिँदो परिवेशमा निजामती सेवालाई कसरी स्वच्छ, सक्षम र जनमुखी बनाउने ? भन्ने विषयमा यतिखेर व्यापक छलफल गरिनु आवश्यक छ । जनतालाई नै केन्द्रबिन्दु मानेर राज्यबाट सेवा र सुविधा प्रदान गर्ने, प्रदान गरिएको सेवालाई गुणस्तरीय बनाउन प्रतिबद्ध रहने, जनताका पीरमर्का र गुनासोको यथासमयमा सुनुवाइ गरी समस्या समाधान गर्न तत्परता देखाउने, असहाय, वृद्धवृद्धा, निरक्षर सेवाग्राहीलाई तत्परताका साथ बिनामोलाहिजा छिटो–छरितो ढंगले सेवा प्रवाह गर्ने, निजामती सेवाअन्तर्गत भएका कामको सबै निकाय र तहमा सार्वजनिक लेखापरीक्षण गर्ने कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउने कार्यले निजामती सेवा जनताको अगाडि ‘आँखाको नानी’ का रूपमा स्थापित हुन सक्छ, तसर्थ यसतर्फ ध्यान जानुपर्ने देखिएको छ ।
स्वच्छ, सक्षम निजामती सेवाका लागि लक्ष्यमूलक व्यवस्थापन अपरिहार्य हुन्छ । निजामती सेवामा काम गरे पनि हुने, नगरे पनि हुने, के–कति काम गर्नुपर्ने ? नगरे वा पूरा नभएमा के हुन्छ ? आदि स्पष्ट दिशाबोध नहुँदा ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उक्ति चरितार्थ भइरहेको छ । मुलुकमा ०६२÷६३ को राजनीतिक क्रान्तिपछि अब आर्थिक–सामाजिक रूपान्तरण गरेर समृद्ध नेपाल निर्माण गर्ने दिशाबाट मुलुक अगाडि बढिरहेको सन्दर्भमा निजामती सेवाले पनि अब यस दिशालाई दह्रोसँग समात्नु जरुरी छ । हरेक वर्ष विनियोजन भएको पुँजीगत बजेटमध्ये झन्डै ६० प्रतिशत रकम खर्च हुन नसकेर फ्रिज भइरहेको स्थितिमा यसप्रति कर्मचारीतन्त्रले गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । तसर्थ हरेक योजना, कार्यक्रमको प्रतिफल के–कति प्राप्त हुन्छ ? प्रतिफल प्राप्तिका लागि सम्बन्धित निकाय र व्यक्तिलाई जिम्मेवार तथा जवाफदेही बनाउन व्यक्तिले सम्पादन गरेको कामका आधारमा व्यक्तिको मूल्यांकन गर्ने परिपाटीको थालनी गर्नुपर्छ । यसका लागि जिल्लास्तरमा कृषि विकास कार्यालयबाट सम्पादन भएको कामबाट उत्पादन बढ्यो कि घट्यो ? भन्ने मापन गर्ने विधि अवलम्बन गर्नेबित्तिकै व्यक्तिको मूल्यांकन गर्ने आधार पनि तयार हुन्छ ।
निजामती सेवालाई सक्षम बनाउन व्यवस्थापन विधामा विकास भएको अर्को नयाँ अवधारणा परिणाममुखी व्यवस्थापनलाई अवलम्बन गर्नु अत्यावश्यक छ । सञ्चालित योजना÷आयोजना समयमै पूरा भएमा कार्यकुशलता रहेको मापन गर्न सकिन्छ, तर अब कार्यकुशलता भएको मात्रै भनेर जनताले सेवा प्राप्त गरेको भन्ने निष्कर्ष निकालिनु हुँदैन । जनताले आयोजना सञ्चालन भएपछि के–कति लाभ हासिल गरे ? उत्पादनमा वृद्धि भयो÷भएन ? भन्ने विषयले आयोजनाको प्रभावकारिता रहन्छ, अबको कार्यशैली कार्यकुशलता मात्रै हासिल गरेर हुँदैन, प्रभावकारिता पनि हासिल गर्नुपर्छ भन्ने दिशाबोध निजामती सेवाभित्र पदार्पण गर्नु जरुरी छ ।
सक्षम निजामती सेवाका लागि सक्षम नेतृत्वको अपरिहार्यता हुन्छ । सामन्ती शासनको प्रभावमा रहेको निजामती सेवामा सामन्ती अवशेष कायमै रहेको टिप्पणी हुने गरेको छ । निजामती सेवाभित्र अहिले पनि जोखिमपूर्ण काम गर्न नचाहने, बरु काम पन्छाउने, जनतालाई भन्दा हाकिमलाई मान्ने, कामको परिणामलाई भन्दा प्रक्रियालाई ध्यान दिने, दूरदृष्टिका साथ काम गर्न नरुचाउने, संस्थागत विकासभन्दा पनि वैयक्तिक विकासमा ध्यान दिने, सहभागितामूलक निर्णय प्रक्रियाभन्दा स्वविवेकी तजबिजी निर्णय गर्ने, दण्ड र पुरस्कारलाई प्रभावकारी रूपमा लागू नगर्ने परिपाटीबाट निजामती सेवा मुक्त हुन नसकेको टिप्पणीलाई अब निजामती सेवाभित्र सुधार गर्न आवश्यक छ । अब निजामती सेवाभित्र जनताको सेवालाई पहिलो प्राथमिकता दिएर कार्य गर्ने कार्यशैली अवलम्बन गर्नुपर्छ । जनतालाई प्रदान गरिएको सेवाको प्रभावकारिता अभिवृद्धि गर्न प्रतिबद्ध भएर काम गर्न ध्यान दिनुपर्छ । नीति र नियमले स्पष्ट दिशाबोध गरेको विषयलाई माथिको आदेश पर्खिएर बस्ने परिपाटीको अन्त्य गर्नुपर्छ ।
सक्षम निजामती सेवाका लागि निष्पक्ष र तटस्थ प्रशासन अहिलेको आवश्यकता हो । बहुलवादी समाजमा राजनीतिक विचार वा आस्थाबाट हरेक नागरिक प्रभावित भएझैं निजामती सेवाभित्र राजनीतिक विचार वा आस्था राख्ने कर्मचारीहरू हुन सक्छन् । तर, राष्ट्र र जनताको सेवा गरिरहेका राष्ट्रसेवकले सेवा प्रवाह गर्दा आफ्नो आस्था, विचार झल्कने गरी कसैलाई काखा र पाखा हुने गरी सेवा प्रवाह गर्नु हुँदैन; पक्षपातपूर्ण व्यवहार गरेमा दण्डनीय हुने परिपाटी बसाल्नुपर्छ । निष्पक्ष र तटस्थ निजामती सेवा निर्माण गर्नु अहिलेको चुनौती हो । जनताले सेवा प्राप्त गरिरहँदा पक्षपात, भेदभाव र अन्याय भयो भन्ने महसुस गरेमा निजामती सेवाले क्रमशः जनविश्वास गुमाउँदै जान्छ । राजनीतिक नेतृत्व तहबाट पनि राजनीतिक हस्तक्षेप गर्ने, अवाञ्छित निर्देशन दिने र प्रशासनलाई राजनीतीकरण गर्ने कार्य भएमा निजामती सेवा धुमिल बन्न पुग्छ, कर्मचारीले आफ्ू निष्पक्ष भूमिका निर्वाह गर्न पाउने स्पष्ट निर्देशन र नीतिगत मार्गदर्शन मात्रै राजनीतिक नेतृत्वबाट प्रदान गर्न सक्दा पनि प्रशासनमा राजनीतिक हस्तक्षेप न्यून हुँदै जान्छ ।
सक्षम निजामती सेवाबाट सेवालाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन सकियो भने मात्र सेवाप्रति जनविश्वास बढेर जान्छ । आर्थिक अनियमितता र भ्रष्टाचार सार्वजनिक सेवाका क्षेत्रमा गम्भीर चुनौतीको विषय बनेको छ । भ्रष्टाचार न्यूनीकरण अथवा शून्य सहनशीलनाको नारा जति नै लगाए पनि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैं मुलुकको क्यान्सरका रूपमा प्रशासनभित्र जरा गाडेको भ्रष्ट मनोवृत्तिको जरालाई सदाका लागि उखेल्नु अहिलेको चुनौती हो । जीवनयापन गर्न पुग्ने तलब–भत्ता सुविधा प्रदान गरेर आम राष्ट्रसेवकहरूको मनोवृत्तिमा नै सुधार गर्ने र मनोबल वृद्धि गर्ने, अनियमितता र भ्रष्टाचारमा संलग्न दोषी व्यक्तिलाई कडा कारबाही गर्ने, त्यस्ता व्यक्तिलाई राजनीतिक तहबाट संरक्षण प्रदान नगर्ने परिपार्टीको थालनी गर्नुपर्छ । व्यक्तिले आर्जन गरेको सम्पत्ति र उसको जीवनशैलीप्रति कडा निगरानी राखेर पनि अनियमित कार्ये गर्ने÷गराउने कार्यलाई हतोत्साहित बनाउन सकिन्छ । सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने, कार्यालयको सवारी साधन परिवारजनको घुमाइफिराइ र मनोरञ्जनमा प्रयोग गर्ने, कार्यालयमा जथाभावी खर्च गर्ने, समान खरिदमा प्राप्त हुने छुट कमिसन कार्यालय खातामा जम्मा नगरी व्यक्ति आफैंले उपयोग गर्ने, काम नभए वा समान खरिद नगरेको भए पनि काम भएको वा खरिद गरेको भनेर कृत्रिम बिल बनाई भुक्तानी लिने–दिने, परिपाटीले आर्थिक अनुशासन कायम गर्न चुनौती खडा गरिदिएको छ ।
सक्षम निजामती सेवाका लागि सार्वजनिक सेवाभित्र स्वच्छ कार्यालय वातावरण निर्माण गर्ने कार्य चुनौतीपूर्ण बनेको छ । भवनहरू पुरानो भत्किएको, वर्षौंदेखि रंगरोगन नभएको, शौचालयको सुप्रबन्ध नभएको, भएको ठाउँमा सरसफाइ हुने नगरेको, कतिपय ठाउँमा धारामा पानी नै नआउने र दुर्गन्धित बनेको, कार्यालयको ले–आउट व्यवस्थित नहुँदा जनताले सेवा छिटो–छरितो प्राप्त गर्न नसकेको, कार्यालयको फायलिङ व्यवस्थित नहुँदा घण्टौंसम्म कागजात खोज्दा पनि समयमै कागजात रेकर्ड नपाउने गरेको, कार्यालयमा सेवाग्राही आउँदा विश्राम गर्ने स्थान हुने नगरेको आदि गुनासोहरू जनस्तरबाट प्रकट हुने गरेका छन् । स्वच्छ कार्यालय वातावरणले नै सेवाग्राहीको मन जित्न सकिन्छ । एक्काइसौं शताब्दीमा पनि उन्नाइसौं शताब्दीकै झैं कार्यालय वातावरण भइरहनु शोभनीय विषय हुँदैन ।
निजामती सेवामा टे«ड युनियनको व्यवस्थापन हुन नसक्दा निजामती सेवाको लोकप्रियता र सक्षमतामा अनेकन् टिप्पणी हुने गरेको छ । ट्रेड युनियन संस्थाको विकासमा बाधक बनेको भनेर ट्रेड युनियनप्रति पनि टिप्पणी हुने गरेको छ । ट्रेड युनियनका नेताले आफ्नो स्वार्थ पूरा गर्न ट्रेड युनियनको पदीय हैसियतलाई दुरुपयोग गरिरहेको भन्ने आरोपले ट्रेड युनियनको छविमा प्रश्नचिह्न उठाइएको छ । ट्रेड युनियनका नेता–कार्यकर्ताले के काम गर्नुपर्छ ? के गर्नु हुन्छ ? के गर्नु हुँदैन भन्ने स्पष्ट आचारसंहिता नहुँदा पनि कार्यशैली र जीवनशैलीका क्षेत्रमा समस्या उत्पन्न भएका छन् । अब आधिकारिक ट्रेड युनियनको व्यवस्था भइसकेको सन्दर्भमा ट्रेड युनियनको भूमिकालाई संस्थाको विकासमा कसरी परिचालन गर्न सकिन्छ ? भनेर सम्बद्ध सरोकारवालाहरूको बीचमा छलफल हुन जरुरी छ ।
अब सक्षम निजामती प्रशासनका माध्यमबाट जनतालाई केन्द्रबिन्दु मानेर कार्य गर्ने पद्धतिको विकास गर्नुपर्छ । यस्तो कार्यपद्धतिले मात्र जनताले छिटो–छरितो सेवा प्राप्त गर्छन् र संगठनात्मक लक्ष्य हासिल गर्न पनि मद्दत पुग्छ । संगठनात्मक लक्ष्य प्राप्ति हुँदा व्यक्तिको पनि लक्ष्य हासिल भई संगठन र व्यक्ति दुवैको छवि पनि उँचो हुन्छ, तर निजामती सेवामा संगठनको लक्ष्य पूरा गर्नभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्नका लागि ध्यान दिने परिपाटी विद्यमान रहेको टिप्पणी हुने गरेको छ । राम्रो र कमाइ हुने कार्यालयमा सरुवा हुन अपहत्ते गर्ने, सरुवा भइसकेपछि त्यही नै थमौतीका लागि शक्तिकेन्द्र र टे«ड युनियनहरूसँग हारगुहार गर्न धाउने परिपाटीले सरुवा प्रणाली फितलो बन्ने गरेको भन्ने गुनासो सर्वत्र रहेको छ । सरुवा प्रणालीलाई व्यवस्थित, पारदर्शी र चक्रीय पद्धतिबाट अगाडि बढाउन सकिएन भने सक्षमताका साथ सेवा प्रवाह गर्न झन् कठिनाइ उत्पन्न हुने देखिएको छ ।
सक्षम निजामती सेवाका लागि संगठनभित्र उत्पन्न द्वन्द्वलाई यथासमयमा व्यवस्थापन गर्नुपर्छ, तर द्वन्द्व व्यवस्थापनका लागि गम्भीरतापूर्वक ध्यान दिने गरेको पाइँदैन । समस्यालाई पन्छाउने, आपसी संवाद गर्न नचाहने, कार्यालयभित्र उत्पन्न समस्यालाई स्टाफ मिटिङ राखेर मैत्रीपूर्ण ढंगले समाधान गर्न ध्यान नदिने परिपाटीले सेवा प्रवाह गुणस्तरीय र जनमुखी बन्न सक्दैन । अतः सीप क्षमताको विकास गर्ने, समस्हकार्य र सहभागितामूलक निर्णय प्रक्रिया र कार्यान्वयन पक्षलाई परिणाममुखी हुने गरी कार्य प्रणालीको अवलम्बन गर्नुपर्छ ।
विपद् व्यवस्थापनमा कुशलता प्राप्त गर्नु सक्षम निजामती सेवाका लागि महŒवपूर्ण आधार हो । अतः सबै मन्त्रालय, विभाग र प्रदेश तथा स्थानीय तहसम्म विपद्का बखत कसरी व्यवस्थापन गर्ने भन्ने पूर्वतयारी गर्न आवश्यक छ । निजामती सेवाको लोकप्रियता भनेकै विपद् परेका बखत उद्धार र पुनस्र्थापना गर्ने क्षमतामा निर्भर हुने हुँदा यसतर्फ ध्यान दिनु आवश्यक छ । सक्षम निजामती सेवाको विकासका लागि उच्च मनोबलयुक्त कर्मचारी मात्र राष्ट्र र जनताको सेवामा उत्प्रेरित हुन सक्छन् । कर्मचारीको मनोबल अभिवृद्धि गर्ने मौद्रिक र गैरमौद्रिक सेवा तथा सुविधालाई समयोचित वृद्धि गर्न ध्यान दिनु आवश्यक छ
अन्त्यमा, मुलुकको शासन प्रणालीको मेरुदण्डका रूपमा रहेको निजामती सेवालाई सक्षम बनाउन सकियो भने मात्र विकास, समृद्धि हासिल गरी सुशासन कायम गर्न सकिन्छ । यसका लागि निजामती सेवाभित्र आमूल सुधार र परिवर्तन गर्न आवश्यक भएको छ । जनतालाई परिवर्तनको अनुभूति प्रदान गर्न अब निजामती सेवालाई कुशल, मितव्ययी, प्रभावकारी र सामाजिक न्याय प्रदान गर्नका लागि नयाँ ढंगको कार्यशैली र प्रणालीलाई अवलम्बन गरी सक्षमताको विकास गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्