केरामा आत्मनिर्भर बन्दै सुदूरपश्चिम «

केरामा आत्मनिर्भर बन्दै सुदूरपश्चिम

धनगढी-सुदूरपश्चिम प्रदेश केरामा आत्मनिर्भर बन्ने भएको छ । प्रदेश सरकारले सुदूरपश्चिमलाई केरामा आत्मनिर्भर बनाउन सरोकारवालासँग छलफल गरेको छ । प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा गरिएको छलफल कार्यक्रममा प्रदेशलाई केरामा आत्मनिर्भर बनाउन दीर्घकालीन योजना बनाउनेबारे छलफल भएको हो ।
छलफलपछि केराखेतीलाई प्रदेशका अन्य जिल्लामा विस्तार गरी किसानलाई अनुदान उपलब्ध गराई प्रोत्साहन गर्ने, कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर र खक्रौलामा तीनवटा विषादी मापनयन्त्र राख्ने, केरा उत्पादन वृद्धि गरी परनिर्भरता हटाउने, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले योजना बनाएको छ । हाल कैलाली र कञ्चनपुर जिल्लामा मात्रै २ हजार ५ सय कृषकले १ हजार ५ सय हेक्टरमा व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन् । केराखेतीबाट वार्षिक ७८ हजार मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ ।
नेपाल कृषि प्रधान देश भए पनि कृषिमा संलग्न किसानको मिहिनेतलाई सम्मान नगरेका कारण मुलुकको कृषि क्षेत्र फस्ट्याउन नसकेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दाबी छ । कृषि खेतीतर्फ बेरोजगार युवालाई आकर्षित गरी प्रदेशको बेरोजगारी समस्या समाधान गर्ने योजना छ । कुनै पनि उत्पादित वस्तुको कृत्रिम अभाव गरी मूल्यवृद्धि गरेर जनतालाई मर्कामा पार्ने व्यवसायीले गर्न नहुने मुख्यमन्त्री भट्टले बताए ।
कृषिजन्य वस्तुको व्यवसायीकरण गरी स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गरी राज्यलाई आत्मनिर्भर बनाउने सरकारको लक्ष्य अनुरुप सुदूरपश्चिम प्रदेश केरामा आत्मनिर्भर उन्मुख छ । तर विश्व व्यापार संगठनको मापदण्डविपरीत भारतबाट निर्वाध रूपमा केरा आयात गरिएकाले आफूहरू केरा बिक्री वितरण गर्न नसक्दा कृषकको बैंकको ऋण डुब्ने खतरा बढेको कैलाली–कञ्चनपुर केरा संघर्ष समितिका सल्लाहकार लक्षिराम आचार्यले जानकारी दिए । उनले सरकारले केरा कृषकलाई टिकाउन नसकेको जानकारी दिए । कैलाली–कञ्चनपुरका कृषकले स्थानीय केरा उत्पादनलाई प्रोत्साहन हुने गरी स्थानीय तहका सरकारलाई नीति बनाउन आग्रह गरेका छन् ।
प्रदेश सरकारले नजिकैको गौरीफण्टा नाकाबाट आयातमा रोक लगाएपछि रुपैडिया नाका हुँदै नेपालगन्ज भएर धनगढी पुग्ने केराको मूल्य दोब्बर हुने गर्छ । रुपैडिया नाकाबाट भित्रिने केरा र कैलाली भित्रिने केरा उपभोक्ताले प्रतिदर्जन ९० रुपैयाँसम्म तिर्नु पर्नेछ । अझै दशैँँ तिहारमा केराको मूल्य १२० रुपैयाँसम्म पर्ने गरेको छ । केरा व्यवसायीका अनुसार बजारमा प्रत्येक दिन हजारौं टन केराको माग बढेको बेला थोक बिक्रेता भने महँगो भाडा तिरेर भारतबाट केरा आयात गर्ने गर्छन् । आव ०७३/७४ मा मात्रै गौरीफण्टा नाकाबाट एक हजार ६ सय मेट्रिक टन केरा कैलाली भित्रिएको थियो । चालू आवको २ महिनामा मात्र ४४४ टन केरा कैलाली भित्रिएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्