शिक्षा इकाई डडेल्धुरामा तालाबन्दी

डडेल्धुरा-समयमै तलब निकासा नभएको भन्दै शिक्षकहरुले शिक्षा विकास तथा समन्वय इकाई कार्यालय डडेल्धुरामा बुधबार तालाबन्दी गरेका छन् । शून्य दरबन्दी भएका सामुदायिक विद्यालयमा दिँदै आएको शिक्षण सिकाई अनुदान कोटामा कार्यरत डडेल्धुराका शिक्षकहरूले बुधबार शिक्षा इकाई डडेल्धुरा र इकाई प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
देशैभरका सामुदायिक विद्यालयमा नेपाल सरकारबाट प्रदान गरिँदै आएको अनुदान कोटाका लागि शैक्षिक सत्रको अघिल्लो असारमै एकमुष्ट रकम निकासा हुने गरेको थियो । तर, चालू आर्थिक वर्षको दुई महिना बित्न लाग्दा पनि विनियोजित रकम निकासाको कुनै आधिकारिक जानकारीसम्म नआएकोले तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक केशवबहादुर साँउदले बताए ।
एउटै विद्यालमा कार्यरत शिक्षकले तलब पाउने तर आफूहरूको तलबको कुनै टुंगो नलागेकोले दुई बुँदे माग राखी आन्दोलन गर्न बाध्य भएको उनले बताए । यसअघि संघर्ष समितिले शिक्षा विकास तथा इकाई कार्यालय डडेल्धुरामार्फत शिक्षा मन्त्रीलाई तलब निकासा गर्न मागगर्दै ज्ञापनपत्र बुझाएको थियो । मन्त्रालयबाट कुनै जवाफ नआएकाले तालाबन्दी गर्न बाध्य भएको संघर्ष समितिले जनाएको छ ।
सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अंग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव परिपूर्ति गर्न सरकारले शिक्षक अभाव भएका तथा शून्य दरबन्दी भएका सामुदायिक विद्यालयहरूलाई २०७५ सालदेखि एकमुष्ट अनुदान रकम प्रदान गर्दै आएको थियो । यो वर्ष कोरोनाको कारण देखाउँदै गत असार महिनामै निकासा हुनुपर्ने रकम निकासा गरिएको छैन ।
आर्थिक वर्षको विनियोजित बजेट निकासा गरिनुपर्ने र तलबभत्ता वापतको रकम नेपाल सरकारले तोके बमोजिम अन्य शिक्षकहरुको जस्तै हुनुपर्ने अनुदान कोटामा कार्यरत शिक्षकहरुको माग छ । ‘निजी क्षेत्रलाई कर्मचारीको रोजगारी नखोस्न निर्देशन दिइरहेको सरकारले आफै शिक्षकहरूको तलब निकासा गरेको छैन ।
‘निकासासम्बन्धि कुनै जानकारी पनि दिइएको छैन,’ संघर्ष समितिका संयोजक साँउदले भने, ‘विरोधस्वरुप तालाबन्दी गरिएको हो, यदि फेरि पनि हाम्रा मागहरुको अविलम्व सुनुवाइ नभए पुनः चरणबद्ध किसिमले कडा आन्दोलनमा जान्छौं ।’