अलैंचीको बजार मूल्य भन्दा भन्सार मूल्य बढि «

अलैंचीको बजार मूल्य भन्दा भन्सार मूल्य बढि

ताप्लेजुङ-आर्थिक वर्ष २०७०-०७१ मा अलैंची प्रतिमन १ लाख २० हजार मूल्यमा कारोबार भएको थियो । त्यस बेलाको बजार भाउअनुसार ताप्लेजुङबाट मात्रै करिब ६ अर्बको अलैंची निर्यात भएको थियो । जिल्लामा २४ सय मेट्रिकटन अलैंची उत्पादन भएको साविक जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । कृषक र व्यवसायी उत्साही बने । अझ खेती किसानमा रमाएका कृषक अलैंची खेती गर्न झनै हौसिए ।
धान फल्ने फाँटिलो खेत तथा आलु र मकै उत्पादन हुने बारी र टारहरुमा अलैंची रोप्न सुरु गरे । खोल्सा–खोल्सीदेखि बारीको कान्लासम्म अलैंचीका बोट हुर्काए । ९ वटा स्थानीय तहका ४ हजार ५ सय हेक्टरमा अलैंची खेती विस्तार भएको छ । ६१ वटामध्ये फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाबाहेक सबै वडामा अलैंची खेती हुन्छ । देशमा सबैभन्दा बढी अलैंची खेती र उत्पादन हुन्छ । करिब ४२ जिल्लामा अलैंची खेती विस्तार भएको छ ।
अलैंची टिप्ने सिजन सुरु भएको छ । बेसीमा भदौ तेश्रो सातादेखि टिप्न सुरु भएको अलैंची कात्तिक अन्तिमतिर लेकाली भेगमा टिपेर टुङ्गिन्छ । तर, वर्षेनी अलैंची उत्पादन मात्र घटेको छैन, मूल्य समेत घट्दो छ । किनबेच सुस्त छ । किसान र व्यवसायी चिन्तित बनेका छन् । कृषक र व्यवसायीमा त्यति उत्साह छैन । भदौ अन्तिम साताको अवधिमा प्रतिमन अलैंची २० हजारमा कारोबार छ । वर्षेनी उत्पादन र मूल्यमा हुने उतारचढावका कारण भन्सार मूल्य समायोजन पनि हुन सकेको छैन ।
भन्सार मूल्य समायोजन नहुँदा निर्यातमा समस्या भएको छ । हालकै बजार भाउमा बिक्री गरेर खर्च टार्न इच्छुक किसान बढी चिन्तित देखिएका छन् । चाडपर्व नजिकिएसँगै बिक्री गर्ने मनसाय बनाएका किसानको अलैंची खरिद गर्न व्यवसायी त्यति इच्छुक छैनन् । अलैंची व्यवसायी संघ ताप्लेजुङ अध्यक्ष तथा अलैंची व्यवसायी बालमणि बरालका अनुसार किनबेच चहलपहल छैन । अध्यक्ष बरालले भने, “अलैंची हुनेलाई अग्रिम पैसा र दैनिक उपभोग्य सामग्री अग्रिम दिने चलन हुन्थ्यो । आजभोली छिटफुट मात्र किनबेच छ ।”
मूल्य समायोजन गर्न सरकार र व्यवसायी चुकेका छन् । फलस्वरुप न त अलैंची निर्यात हुन सकेको छ, न त मूल्य समायोजन नै । नेपालमा बिक्री हुने बजार मूल्य भन्दा भारतको भन्सार मूल्य बढी छ । झापामा प्रतिमन (भदौ २३ गते) २२ हजार मूल्य छ । १ केजी अलैंचीको मूल्य ५ सय ५० पर्छ । तर निर्यातका लागि प्रति केजी भन्सार शुल्क भारु ५ सय (नेरु.८ सय) तोकिएको छ । भन्सार शुल्कबाहेक प्रतिकेजी ने १५ रुपैयाँ कर तोकिएको छ । तर भारतकै सिक्किममा उत्पादित अलैंचीको भन्सार शुल्क प्रतिकेजी भारु ३ सय रुपैयाँ मात्र छ । त्यही भएर भारतीय व्यापारीले भारतकै विभिन्न भू–भागमा उत्पादन भएको अलैंची खरिद गर्छन् । भन्सार शुल्क समायोजन नहुन्जेल निर्यात हुन कठिन बनेको छ ।
अलैंची व्यवसायी संघका केन्द्रिय अध्यक्ष राजकुमार कार्कीका अनुसार भन्सार शुल्क तत्काल समाधान हुन जरुरी छ । जबसम्म भन्सार शुल्क समायोजन हुँदैन्, तबसम्म निर्यात सहज छैन । अलैंची प्रतिकेजी २ हजार मूल्य हुँदा पनि भन्सार शुल्क भारु ५ सय (नेरु ८ सय) नै थियो । तसर्थ भाउ उतारचढाव हुँदाको तारतम्य मिलाएर भन्सार शुल्क तोकिनुपर्नेमा व्यवसायीको जोड छ ।
सरकारले भन्सार मूल्य समायोजन गर्न चासो नदेखाएको अलैंची व्यवसायी महासंघका पूर्वअध्यक्ष निर्मल भट्टराईले गुनासो गरे । वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अनुरोध गरेको उनले बताए । मन्त्रालयको भनाई उधृत गर्दै भट्टराईले भने, “सचिवज्यूले हामी होमवर्कमा छौ भन्नुभएको छ, जति सक्दो चाँडो निकास हुने आश्वासन पाएका छौ ।” भन्सार शुल्क भाउ अनुसारको समायोजन भए निर्यात सहज हुने व्यवसायीको तर्क छ ।
नेपाली अलैंचीको मुख्य बजार भारत हो । भारतमै निर्भर हुनु नै मुख्य कमजोरी हो । अलैंची व्यवसायी सँघका अध्यक्ष कार्कीले भने, “भारतबाहेकको बजार खोज्न जरुरी छ । कम्तीमा बंगलादेश र चीनमा बजार विस्तार गर्न सके धेरै समस्या समाधान हुन सक्छ ।” सेप्टेम्बर महिनादेखि भारतमा पनि अलैंची टिप्ने काम सुरु भएकाले तत्काल मूल्य समायोजन गर्नुपर्ने किसान र व्यवसायीले खाँचो औल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्