ढुवानी गर्न नसक्दा बगैँचामै कुहियो केरा

बारा-लकडाउनका कारण देशभरका बजार नखुले पछि बारा निजगढकोे मुख्य उत्पादन केराले दश रुपैयाँ दर्जन मूल्य समेत पाउन सकेको छैन ।
राजधानी काठमाडौंसहित पोखरा, नारायणघाट छिमेकी जिल्ला वीरगञ्ज, हेटौंडासमेत बन्द भएपछि निजगढकोे केराले मूल्य मात्र नभई खपत पनि नहुँदा पशुको आहारा र खेतमै झरेर कुहिन थालेको हो ।
केरा ब्लकबाट विकसित हुँदै केरा जोनमा आइपुग्न लागेकोे निजगढका केरा कृषकहरु लकडाउन अवधिमै दुई पटक आर्थिक क्षति व्योहोर्न बाध्य भएको किसान बद्रीप्रसाद चिमोरियाले बताए । उनले वैशाखको हावाहुरीले केरा ढालेर सोतर बनाएको र बचेको उत्पापदत केराले अहिले बजारनै नपाएपछि पशुलाई खुवाउन बाध्य भएको बताए ।
विगत लामो समयदेखि खेतबारीबाटै प्रतिकोसा ५ रुपैयाँसम्म बजार मूल्य पाएको केराले अहिले गाउँघरमै प्रतिकोसा १ रुपैयाँ मूल्य नपाएपछि केरा खेतबारीमै कुहिन थालेको हो ।
करिव १५ सय विघा भन्दा बढी क्षेत्रफलमा निजगढमा किसानहरुले व्यावसायिक केरा खेती गर्दै आएका कृषि ज्ञान केन्द्र कलैयाले जनाएको छ । केराकै कारण कयौ किसानको जीवनस्तर समेत परिवर्तन हुँदै गएको बताउँदै वडाअध्यक्ष केशव ढोरारी भन्छन्, “यो सिजन किसान पूरै ऋण, घाटामा पर्ने भए ।”
कुनै समय नगदेबाली उखु खेतीको रुपमा चिनिएको निजगढ पछिल्लो समय चिनी मिलहरुले समयमा उखुको भुक्तानी नदिएपछि केरा खेती व्यापक बनेको हो । प्रतिविघाह दुईदेखि तीन लाखसम्म मुनाफा हुने यो खेती लकडाउनले थला पारेसँगै उत्पादित केरा यतिखेर वस्तुुभाउलाई खुवाउन थालेका छन् । बिक्रीका लागि तयार भएका केरा धमाधम खेतमा झरेर कुहिन थालेपछि करोडौंको नोक्सान भएको छ । यहाँका किसानले सरकारबाट अनुदानको आश भन्दा बजारीकरण गरिदिन माग गरेका छन् । बजारीकरण र सहजरुपमा बिक्रीको व्यवस्था गर्न नसके सरकारले क्षतिपूर्ति दिनुपर्ने किसानहरुको माग छ ।
नगरपालिका प्रमुख सुरेश खनालले विभिन्न कारणले निम्त्याएको यो विपदबाट किसानको मनोबल गिर्न नदिनका लागि केरा खेतीमा हुँदै आएको बिमामा किसानले तिर्नु पर्ने रकम नगरपालिकाले तिरिदिने व्यवस्था मिलाएको बताए ।
एकपटक लगाएको केरा १५ महिनामा तयार हुन्छ । एक विघा खेतीमा खर्च कटाएर दुईदेखि तीन लाख रुपैयाँ वार्षिक आम्दानी हुने गरेकाले पनि किसानहरु केरा खेतीमा आर्कषित बनेको निजगढ–९ की लक्ष्मी खरेलले बताइन् ।
अन्य बालीको तुलनामा खेती गर्न सजिलो, कम परिश्रम र आम्दानी बढी हुने केरा व्यापारीहरुले खेत बारी मै आएर उत्पादन उठाइदिने र हातोहात नगद पाइने हुँदा यो व्यावसाय निजगढमा फस्टाउँदै आएको छ ।