कुनै पनि अवस्थाको लागि सेना तयार «

कुनै पनि अवस्थाको लागि सेना तयार

प्रधान सेनापति थापाको दुई वर्ष
प्रधान सेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालको दोस्रो वर्ष पूरा गरेका छन् । २०७५ भदौ १४ गते कार्यकाल सम्हालेका थापाले बुधबार दोस्रो वर्ष पूरा गरेका हुन् ।
यस अवसरमा जंगी अड्डाले विभिन्न कार्यक्रम आयोजना गरेको छ । आफ्नो कार्यकालको दोस्रो वर्ष पूरा गरेर तेस्रो वर्ष प्रवेशका अवसरमा सञ्चारकर्मीहरुसँगको छलफलमा प्रधान सेनापति थापाले कोभिड १९ का लागि स्वास्थ्य सामाग्री खरिद प्रकृयाको विषयमा सैनिक मुख्यालय र विभागीय रक्षा मन्त्रालयबीच कुनै मतभेद नरहेको प्रस्ट्याएका छन्। । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सरकारबाट प्राप्त म्यान्डेट अनुसार नै प्रकृयागत रुपमा स्वास्थ्य सामाग्री खरिद भएको जानकारी दिए ।
‘जंगी अड्डा र रक्षा मन्त्रालयको बीचमा कुनै पनि ग्याप छैन भन्ने विषयमा प्रस्ट हुन म अनुरोध गर्दछु । औषधी खरिद प्रकृयामा नेपाली सेनाका अधिकृत, स्वास्थ्य मन्त्रालयबाट आउनुभएका साथीहरु र अरु मन्त्रालयबाट पनि जुन किसिमले काम भयो, त्यसको अवमूल्यन गर्न हुन्न । सरकारबाट म्यान्डेट प्राप्त हुनासाथ कति मेहनत गरेका हौं । हामीलाई मात्र थाहा छ ।’
विश्वव्यापी कोभिड १९ को संक्रमणसँगै नेपाली सेनालाई क्वारेन्टाइन व्यवस्थापनदेखि संक्रमितको शव व्यवस्थापनसम्मको जिम्मेवारी दिइएको छ । संक्रमणको रफ्तार बढिरहेकाले कतिपय स्थानीय निकायका जनप्रतिनिधिहरुले सेना परिचालन गर्नुपर्ने सुझाव पनि दिइरहेका छन् । प्रधान सेनापति थापाले कुनै पनि बेला मुलुकमा संकट भए सेना परिचालन हुन सक्ने संकेत गर्दै इमर्जेन्सी भएमात्र सेना परिचालन गर्नुपर्ने धारणा राखेका थिए ।
सीमा सुरक्षा लगायतका विषयको प्रश्नमा प्रधान सेनापति थापाले कुनै पनि अवस्थाका लागि सेना तयार रहेको बताए । ‘हरेक सेनाको आफ्नो संवैधानिक दायित्व हुन्छ । संवैधानिक दायित्वका कारण विषम परिस्थितिका लागि हामी तयार हुनुपर्छ । चाहे त्यो देश ठूलो होस् वा सानो, चाहे सम्पन्न होस् वा गरिब, तयार हुनुपर्छ ।’
उनले अंग्रेजसँग पनि युद्ध लडेको उल्लेख गर्दै भन्दै विगतमा थुप्रै युद्धमा सहभागी भएको सन्दर्भ उल्लेख गरे ।
प्रधान सेनापति थापाले नेपाली सेनाको सैनिक कल्याणकारी कोषको विषयमा प्रतिरक्षा गरे । उनले अवकाश पाएका नेपाली सैनिकले अवकाश पाएका बेलायती र भारतीय सैनिक तथा सिंगापुर प्रहरीसँग आफूलाई तुलना गर्ने अवस्था नरहेको बताउँदै त्यसखालको अवस्था नहोउन्जेल कल्याणकारी कोषको उपादेयता कायम रहने बताए ।
छिटो अवकाश लिने र वैदेशिक रोजगारीमा सेनाहरु जाने विषयमा भावनात्मक रुपमा प्रस्तुत भएका प्रधान सेनापति थापाले भने, ‘एउटा सिपाहीलाई रिटेन गरेर राख्न कति कठिन छ भन्ने मलाई थाहा छ ।’
राज्यको आर्थिक अवस्थाले अहिले सेनालाई चाहिँदो सेवा सुविधा उपलब्ध गराउन नसकेको बताउँदै उनले त्यसका लागि सेनाकै पसिना र रगतबाट आएको रकम कल्याणकारी कोषमा जम्मा हुने गरेको बताए ।
शान्ति सेनामा गएका सैनिकहरुबाट प्राप्त हुने आम्दानीलाई कोषमा राखिँदै आएको छ । सबै सेना शान्ति सेनामा खटिन नपाउने र उनीहरुबाट प्राप्त भएको रकमको हिस्साले सेनाको कल्याणमा खर्च गरिएको उनको भनाइ थियो ।
विश्वका सबै मुलुकमा सेनाले विकास निर्माणमा जुट्ने बताउँदै त्यसलाई व्यवसायका रुपमा नलिनसमेत आग्रह गरे । उनले जलविद्युतमा सेनाले लगानी गर्ने भन्ने विषयमा छलफलमा आएको तर कुनै निर्णय भइनसकेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्