नाकामा घर आउने भीड

बाँके-दसैं नजिकिँदै गर्दा रोजगारीको शिलशिलामा बाहिरिएका धमाधम घर फर्किरहेका छन् । भारतमा काम गर्दै आएका हजारौं नेपाली फर्किन थालेपछि नेपालगन्ज नाकामा दैनिक रूपमा भीड लाग्ने गरेको छ । बिहान पाँच बजेदेखि यहाँ चहलपहल देखिन सुरु हुन्छ । चहलपहल बढेसँगै रिक्सा, अटो, टाँगा, बसलाई यात्रु बोक्न भ्याइनभ्याई छ ।
लामो यात्राको थकानपछि नेपालगन्ज नाकामा पुगेकाहरू मातृभूमि प्रवेश गरेको भन्दै निकै खुसी देखिन्छन् । कामको शिलशिलामा भारतमा गएकामध्ये कोही टन्न पैसा कमाएर फर्किएका छन् भने कोही ऋण लगाएर ।
पैसा कमाउने, नकमाउने सबैको मुहारमा दसैंको आगमनसँगै घरनजिकै पुगेपछि उत्साह थपिएको छ । शनिबार बिहान नेपालगन्ज नाकामा भेटिएका भेरी नगरपालिका–७ जाजरकोटका पदम बुढाले धेरै पैसा कमाउन नसके पनि दसैंको बेला घर फर्किन पाउँदा निकै खुसी लागेकोे बताए । “परिवार बालबच्चा सबैसँग भेटेर सँगै दसंै मनाउने ठूलो अवसर पाएकोमा खुसी लागेको छ,” उनले भने, “यसपालि आफन्तसँग रमाइलो गरी दसंै मनाउने विचारमा छु ।”
भारतको हिमाञ्चल प्रदेशमा परिवारसँगै कमाउन गएका उनी दुई वर्षपछि फर्केका हुन् । स्वदेशमा काम गर्ने वातावरण र अवसर नपाएका कारण भारत कमाउन जानु बाध्यता रहेको बताउँदै उनले सरकारले आफ्नै ठाउँमा केही गर्नसक्ने काम दिलाय अब नफर्कने बताए । उनीजस्तै कालिकोट मान्म, बद्रिगाउँका गंगाप्रसाद आचार्यले दसैं मनाउन घर फर्किंदा खुसीले बेग्लै अनुभूती भएको बताए । “वर्षभरि जो जहाँ गए पनि दसैंमा घर आउन पाउनु ठूलो भाग्य हो,” उनले भने, “आम्दानीको स्रोत छैन, नकमाई पुग्दैन तर पनि दसैंजस्तो चाडमा घर आउन पाएन भने मन रुन्छ ।”
लामो समयसम्म बाहिर बस्नुपरेकाले घरमा आएर दसैं मनाउन नपाएका दाङका हेमन्त पौडेलले ६ वर्षपछि परिवारसँगै दसैं मान्न पाउने भएकोमा खुसी ब्यक्त गरे । “घरनजिकै नेपालको बोर्डरमा पुग्दा निकै गौरव महसुस भएको छ,” उनले भने, “आफन्तजनको आर्शीवाद लिने, भेटघाट रमाइलो गर्नुको मजा त छुट्टै हुन्छ ।”
यतिबेला नेपालगन्ज नाकाबाट दिनहँु ३ देखि ४ हजार जना नेपाली घर फर्किने गरेका छन् । सीमा नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार एक महिना यता भारतबाट काम गरी फर्केनको संख्या ५० हजारको हाराहारी छ । “बिहानदेखि बेलुकीसम्म यहाँबाट हुलका हुल मानिस लस्करै फर्किने गरेका छन्,” असई भक्तबहादुर भण्डारीले भने “अहिलेसम्म सुरक्षित साथ आएका छन् ।”
यात्रु सहायता कक्ष स्थापना
नेपालगन्ज नाकाबाट नेपालीहरू फर्किने चाप बढेसँगै स्थानीय प्रशासनले सीमानाकामा सुरक्षा सर्तकता अपनाएको छ । चाडपर्वका बेला सीमा नाकामा हुने विभिन्न अपराध तथा ठगी नियन्त्रण गर्न र पीडितलाई तत्काल सहयोग गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
सहायता कक्ष स्थापनापछि विगतका वर्षमा जस्तो ठगिने, लुटिने, सामान हराउने लगायत समस्या भएका यात्रुलाई निकै राहत भएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज शिव ओलीले बताए । भारतीय सुरक्षा अधिकारीसँग समन्वय गरी नेपालीलाई सुरक्षा दिन विशेष सुरक्षा योजना बनाएको उनको भनाइ छ । स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी सुरक्षा योजनासमेत बनाएको छ । सीमाक्षेत्रमा यात्रु ठगीमा पर्नसक्ने भन्दै सादा पोसाकमा प्रहरी परिचालन गरेको जनाएको छ ।