सिलाइकटाइले स्वरोजगार «

सिलाइकटाइले स्वरोजगार

नेपालगन्ज: बाँकेका बेरोजगार महिलाहरुका लागि सिलाइ कटाइ तालिम रोजगारको मुख्य माध्यम बनेको छ । सिलाइ कटाइ तालिम लिएपछि अहिले जिल्लाका धेरै बेरोजगार महिलाहरु रोजगारीमा लागेका छन् ।

केही समय पहिलेसम्म खान लाउन समेत समस्या पर्दै आएको बताउने उनिहरुले तालिम लिएर काम शुरु गरेपछि सो समस्या समाधान भएको बताएका छन् ।
बाँके बैजनाथ गाउँपालिका ४ की सुन्दरकली चौधरीले एसएलसी पास गरेर कतै कुनै काम नपाएपछि उनले एक सहकारी संस्थाको दैनिक बचत उठाउने काम गरिन् । दैनिक बचत उठाउने गर्दा धेरै दौड धुप गर्नुपर्ने, सोचे अनुसार कमाइ नभएपछि उनले सिलाई कटाईको तालिम लिइन् ।

सिलाई कटाइ तालिम लिएर व्यवसाय सुरु गरेपछि उनले अपेक्षा गरे अनुसार पैसा कमाउन सफल भएको उनी आफै बताउँछिन् । अहिले सोचे जस्तै कमाई भइरहेको जनाउँदै उनले पहिले जस्तो दुःख पनि धेरै नरहेको जनाइन् ।

त्यस्तै राप्ति सोनारी ८ की बिष्णु परियार पनि सिलाई कटाईबाटै आत्मानिर्भर भएको बताउँछिन् । पहिले घरखर्च धान्न निकै गाह्रो भएको जनाउँदै तर अहिले सिलाई कटाई सिकेपछि निकै सजिलो भएको उनको भनाई छ ।

छोरा छोरीलाई निजी विद्यालयमा पढाउन सकिएको जनाउँदै अहिले कामको भ्याइ नभ्याइ रहेको उनले बताइन् । त्यस्तै बैजनाथ ४ कै मधु वली र सुष्मा चन्दले पनि सिलाई कटाई सिकेर कम लगानीबाट काम गर्न सकिने भएको हुँदा आफूहरु सिलाई कटाई सिकिरहेको बताएका छन् ।

बाँकेमा पछिल्लो समय सिलाई कटाई व्यवसायमा महिलाहरुको आकर्षण बढ्दो छ । विभिन्न महिलालाई लक्षित गरी यस्ता तालिमहरु संचालन गर्ने गर्दा महिलाहरुलाई थप सहयोग पगुेको छ । आफ्नो व्यवसायसंगै घर व्यवाहार चलाउन समेत सहयोग भएका कारण पनि यो पेशा अकर्षणको रुपमा रहेको महिलाहरुको भनाई छ ।
काम गर्दा धेरै शारीरिक श्रम गर्नु नपर्ने र सजिलै घर खर्च चलाउन सकिने हुँदा सिलाई कटाई व्यवसायमा महिलाहरुको आकर्षण बढेको पुष्पाञ्जली टेलर्स एण्ड ट्रेनिङ्ग सेन्टर राप्ती सोनारी ९ का पदम परियारले बताएकी छन् ।

त्यस्तै सिलाई कटाई अरु पेशाभन्दा सहज र कम लगानीमा संचालन गर्ने सकिने हुँदा महिलाहरुको आकर्षण बढेको साइनो टेलर्स कोहलपुरकी संचालक विना डिसीले बताइन् ।

घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख दुर्गा वलीले महिलाहरुका लागि सजिलो व्यवसाय भएका कारण बाँकेमा सिलाई कटाई व्यवसायमा महिलाहरुको आकर्षण बढेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्