कोरोना रोकथाममा स्थानीय तह र स्वास्थ्य संस्थालाई १८ करोड दिइने «

कोरोना रोकथाममा स्थानीय तह र स्वास्थ्य संस्थालाई १८ करोड दिइने

हेटौंडा-कोरोना भाइरसको महामारी रोकथाम गर्न बागमती प्रदेश सरकारले आर्थिक अनुदान उपलब्ध गराउने भएको छ । प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रहरूलाई १८ करोड २६ लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय भएको हो ।
मंगलबार प्रदेशको बागमती विपद् व्यवस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार सहयोग कोषबाट रकम उपलब्ध गराउने निर्णय भएको छ । कोषबाट काठमाडौंका कीर्तिपुर नगरपालिकालाई १० लाख रुपैयाँ, शंखरापुर नगरपालिकालाई २० लाख रुपैयाँ, बूढानीलकण्ठ नगरपालिकालाई २० लाख रुपैयाँ, तारकेश्वर नगरपालिकालाई १० लाख रुपैयाँ, कागेश्वरी मनोहरा नगरपालिकालाई १५ लाख रुपैयाँ, चन्द्रागिरी नगरपालिकालाई १० लाख रुपैयाँ, टोखा नगरपालिकालाई २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।
त्यस्तै मकवानपुरको मनहरी गाउँपालिकालाई १० लाख रुपैयाँ, काभे्रको धुलिखेल नगरपालिकालाई १ करोड रुपैयाँ, नमोबुद्ध नगरपालिकालाई १५ लाख रुपैयाँ, चितवनको भरतपुर महानगरपालिकालाई १ करोड रुपैयाँ, रत्ननगर नगरपालिकालाई ५० लाख रुपैयाँ, दोलखाको भीमेश्वर नगरपालिकालाई १ करोड रुपैयाँ उपलब्ध गराइने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए । यस्तै प्रदेश सरकारले धादिङ अस्पताललाई ७५ लाख रुपैयाँ, हेटौंडा अस्पताललाई ५० लाख रुपैयाँ, चौतारा अस्पताललाई २२ लाख रुपैयाँ, भक्तपुर अस्पताललाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । त्यस्तै ललितपुरको आनन्द वन अस्पताललाई १५ लाख रुपैयाँ, सिन्धुली अस्पताललाई ३० लाख रुपैयाँ, त्रिशूली अस्पताललाई ३० लाख रुपैयाँ, रामेछाप अस्पताललाई ९५ लाख रुपैयाँ उपलब्ध गराइने मन्त्री ढुंगेलले जानकारी दिए ।
यसैगरी प्रदेशका अस्पतालहरूका लागि स्वास्थ्य सामग्री खरिदका गर्न स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई ७ करोड ६५ लाख रुपैयाँ, ललितपुरको बज्रबाराही अस्पताललाई २५ लाख रुपैयाँ, मकवानपुर र काठमाडौंका अञ्चल आयुर्बेद अस्पताललाई ५-५ लाख रुपैयाँ, चितवन, ललितपुर, भक्तपुर र काभ्रेका जिल्ला आयुर्वेद अस्पताललाई ५-५ लाख रुपैयाँ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट र धादिङका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई ३-३ लाख रुपैयाँ, रसुवाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र १ लाख रुपैयाँ र स्वास्थ्य कार्यालय काठमाडौं ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ ।2
बैठकमा समितिका सदस्यहरू उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री भौतिक पूर्वाधार विकाममन्त्री रामेश्वर फुयाँल, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका बागमती प्रदेशका नेता ईन्द्रबहादुर बानियाँलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्