संक्रमण बढेसँगै कोरोना बिमा गर्नेको संख्या बढ्यो «

संक्रमण बढेसँगै कोरोना बिमा गर्नेको संख्या बढ्यो

झापा-कोरोना संक्रमितको संख्या बढ्दै गएपछि झापामा कोरोना बिमा गर्नेको संख्या पनि ह्वात्तै बढेको छ । संक्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाहरूले धमाधम कोरोना बिमा गर्न थालेका छन् ।
झापामा संक्रमण तीव्र रूपमा बढ्दै गएपछि र कोरोना बिमा दाबी गर्न थालेपछि केही इन्स्योरेन्स कम्पनीहरूले कोरोना बिमा बन्द गरेका छन् । प्रिमियर इन्स्योरेन्स कम्पनी बिर्तामोड शाखाले व्यक्तिगत ८३ र संस्थागत ७ सय ७० जना गरी ८ सय ६३ जनाको कोरोना बिमा गरेको जनाएको छ । कोरोना बिमा गर्नेहरूको आउने क्रम जारी रहेको शाखा इन्चार्ज सन्तोष उप्रेतीले बताए ।
त्यसैगरी लुम्बिनी इन्स्योरेन्स कम्पनीको बिर्तामोड शाखाले ४ सय ५० भन्दा बढीको कोरोना बिमा गरेको जनाएको छ । बिर्तामोडमा रहेका अन्य ननलाइफ इन्सुरेन्स कम्पनीहरूले पनि कोरोना बिमा गरेका छन् । संक्रमणको स्तरसँगै बिमा गर्नेको स्तर पनि बढिरेकाले पछिल्लो समय संक्रमणको क्षेत्र हेरेर मात्र आफूहरूले कोरोना बिमा गर्ने गरेको लुम्बिनी इन्स्योरेन्स कम्पनी बिर्तामोडका प्रमुख चन्द्रप्रकाश बाँस्कोटाले बताए । आफूकहाँ एकजना वीमित कोरोना बिमा दाबी गर्न आएको उनले जनाए ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत कर्मचारीलाई संक्रमण देखिएपछि उनले कोरोना बिमा दावी गरेको बाँस्कोटाले जानकारी दिए । त्यस्तै बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा कार्यरत कर्मचारीले पनि अर्को इन्स्योरेन्स कम्पनीमा कोरोना बिमा दाबी गरेको बताइएको छ । बिमालेखअनुसार आममानिसले १ लाख रुपैयाँ र ५० हजार रुपैयाँको बिमांकमा यस्तो बिमा गर्न सक्छन् । १ लाख रुपैयाँ बिमांकमा बिमा गर्दा प्रतिव्यक्ति ६ रुपैयाँ सय बिमाशुल्क लाग्छ ।
सम्बन्धित वडा कार्यालयको सिफारिस ल्याएमा ३ सयमा बिमा गर्ने गरिएको प्रिमियर इन्स्योरेन्स कम्पनी बिर्तामोडका इन्चार्ज उप्रेतीले बताए । कोरोना बिमाको आधा रकम स्थानीय तहले ब्यहोर्ने गरेका छन् । परिवारका सदस्य र संस्थाका कर्मचारीको संयुक्त रूपमा बिमा गर्दा प्रतिव्यक्ति छुट दिइने व्यवस्था पनि बिमा समितिले गरेको छ । बिमा समितिका अनुसार कोरोना बिमा गर्नेको संख्या साढे ७ लाख बढी पुगेको छ ।
समितिका अनुसार कोरोना बिमाबाट ४२ करोड प्रिमियम संकलन भएको छ भने दाबीका लागि आउनेको संख्या पनि २ सय ६० भन्दा माथि लागेको छ । गत शुक्रबारसम्म १ सय ९७ बीमितले दाबी पेश गरेको बिमा कम्पनीको तथ्यांक छ ।
पछिल्लो तथ्यांकअनुसार हालसम्म ५४ जनाले ५१ लाख रुपैयाँ बराबरको दाबी लिइसकेका छन् भने १ सय ४३ जनाको निवेदनमा भुक्तानी दिने प्रक्रिया सुरु भइसकेको छ । सुरुवातमा खासै आकर्षण नदेखिएको कोरोना बिमा पछिल्लो समय लोकप्रिय बनिरहेको छ । कोरोना बिमाले सर्वसाधारणमा बिमा गर्नुपर्छ भन्ने सन्देशसमेत दिएको उप्रेतीले बताए ।
वैशाख ७ देखि सुरु भएको कोरोना बिमा कार्यक्रमले सुरुवातमा खासै उचाइ लिन नसके पनि चार महिनाको अवधिमा संख्या उल्लेख्य बढेको हो । नेपालमा सबैभन्दा बढी बिमा शुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ । कम्पनीले कोरोना बिमा पोलिसीबाट ७ करोड ४० लाख बिमा शुल्क आर्जित गरेको जनाएको छ । त्यसपछि सिद्धार्थ इन्स्योरेन्सले ३ करोड २७ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ भने सगरमाथा इन्स्योरेन्सले २ करोड ८७ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्