सहकारीले बैंकको सेयरमा लगानी गर्न पाउने «

सहकारीले बैंकको सेयरमा लगानी गर्न पाउने

नाफामूलक कम्पनीको सेयरमा लगानी गर्न सहकारी ऐनले नै बन्देज गरेकाले राष्ट्र बैंकको निर्देशनको अर्थ हुँदैन ।
डा. टोकराज पाण्डे
रजिष्ट्रार, सहकारी विभाग

सहकारी संस्थाहरूले बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन–२०७६ मार्फत सहकारीले वित्तीय संस्थाको सेयरमा लगानी गर्न पाउने व्यवस्था खुला गरेको हो । राष्ट्र बैंकको एकीकृत निर्देशन २०७६ मा सहकारी संस्थाहरूले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्थाको सेयर खरिद गर्न नपाउने प्रावधान राखेको थियो । एकीकृत निर्देशन २०७७ मार्फत यो प्रावधान हटाएको हो ।
राष्ट्र बैंकले निर्देशनमार्फत प्रावधान हटाए पनि सहकारी ऐनमा भने सहकारी संस्थालाई बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाउने व्यवस्था छ । सहकारी ऐन २०७४ को दफा ५० (६) मा सहकारी संस्थाहरूले बचतको रकमबाट नेपाल सरकारले जारी गरेका ऋणपत्र वा सहकारी बैंक वा साना किसान लघुवित्त संस्थाको शेयर खरिद बाहेक अचल सम्पति खरिद, पूर्वाधार निर्माण, कारोबारमा लगानी, फर्म कम्पनी वा अन्य कुनै प्रयोजनमा लगानी गर्न नपाईने व्यवस्था छ ।
सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे सहकारी संस्थाहरूले सहकारी ऐन पालना गर्नुपर्ने बताउँछन् । “सहकारी संस्थाहरूले राष्ट्र बैंकको निर्देशनभन्दा अघि सहकारी ऐनलाई पालना गर्नुपर्छ,” उनले भने, “नाफामूलक कम्पनीको सेयरमा लगानी गर्न सहकारी ऐनले नै बन्देज गरेकाले राष्ट्र बैंकको निर्देशनको अर्थ हुदैन ।”
सहकारीले राष्ट्र बैंकबाट अनुमतिप्राप्त संस्थाको सेयर खरिद गर्न नपाउने व्यवस्थाले साना किसान लघुवित्त वित्तीय संस्थालाई अप्ठेरो परेको थियो । संस्थामा ४७ प्रतिशत सेयर स्वामित्व साना किसान सहकारी संस्थाहरूको रहेको छ । उक्त सेयर लगानी अप्ठ्यारोमा परेपछि निर्देशन परिवर्तन गर्न संस्थाले लबिङ गरेको थियो ।
यसअघि सहकारी ऐनमा पनि संशोधन गरी साना किसान सहकारी संस्थाहरूले साना किसान लघुवित्त वित्तीय संस्थामा गरेको लगानीलाई बैधानिकता दिइएको थियो ।
यसअघि सहकारी विभागले जारी गरेको सहकारी मापदण्ड २०६८ मा पनि सहकारी सेयरमा लगानी गर्न नपाउने व्यवस्था गरेको थियो । सहरी क्षेत्रका सहकारीहरू सेयर बजारमा लगानी गर्न थालेपछि विभागले मापदण्डमार्फत निर्देशन गरेपनि लागू भने हुन सकेन । राष्ट्र बैंकले सहकारीहरूले बैंंक तथा वित्तीय संस्थाको सेयर खरिद गर्न नपाउने व्यवस्था गरेपछि भने सहकारीहरूले सेयर बजारबाट बैंकहरूको सेयर खरिद गर्न रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्