विद्युतीय कक्षा प्रभावकारी «

विद्युतीय कक्षा प्रभावकारी

अछाम-मेल्लेख गाउँपालिकाको जनता माविले ई—कक्षाहरु सञ्चालन गरेको छ । विद्यालयमा सिकाई उपलब्धि कमजोर भएको अवस्थालाई मध्यनजर गर्दै नयाँ प्रविधिबाट विद्यालयमा शिक्षण सिकाई क्रियाकलापहरु सञ्चालन गरेको हो ।
यसै शैक्षक सत्रको जेठ महिनाबाट कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई कम्प्युटर, प्रोजेक्टरको प्रयोग गरी ई–पाठ सफ्टवेयरको माध्ययमबाट अंग्रेजी, विज्ञान, गणित र नेपाली विषयको भिडियो कक्षा सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक प्रमानन्द जोशीले बताए ।
ई–कक्षाबाट हुने सिकाईका कारण विद्यार्थीहरु थप उत्प्रेरित भएका तथा कहिलेकाहीँ विषय शिक्षकको अनुपस्थितिमा पनि कक्षा सञ्चालन गर्न सकिने विद्यालयले जनाएको छ ।
ई–पाठ सफ्टवेयरको माध्ययमबाट कक्षा शिक्षण गर्दा विद्यार्थीहरु सिकाइप्रति उत्प्रेरित भएका, भिडियोमार्फत् सिक्न इच्छुक हुने गरेका जागरुक देखिएका प्रअ जोशीको भनाइ छ । ई–पाठ सफ्टवेयरमा जुन पाठ्यक्रम पाठ्यपुस्तकमा छ, त्यसकै भिडियो रिपोर्टहरु राखिएकोले विद्यार्थीहरुका लागि सिक्न सहज हुने गरेको बताइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ अछामबाट विद्यालयलाई गत आर्थिक वर्षमा ६ लाख ५० हजार बराबरको आईसिटी कार्यक्रम प्राप्त भएकोमा त्यसबाटै ई–कक्षा सञ्चालनको व्यवस्था गरेको हो । पछिल्लो समय सिकाई उपलब्धि र विद्यार्थीहरुको लगावसमेत बढ्दै गइरहेकोले विद्यार्थीहरुले सबै विषयहरु भिडियोमार्फत् पढाइ गर्नुपर्ने माग गरिरहेका प्रअ जोशीको भनाइ छ ।
विद्यालयमा कुल ८३९ जना विद्यार्थी अध्ययनरत छन् । तर, विभिन्न समस्याका कारण सिकाई उपलब्धि समग्रमा ४० देखि ४७ प्रतिशतमात्रै रहेको जनाइएको छ । सिकाई उपलब्धिमा न्यूनतम टार्गेट पनि पूरा हुन नसक्नुका पछाडि पढाइप्रति अभिभावक, विद्यार्थी र सरोकारवालाको कुनै चासो नहुनु प्रमुख कारण रहेको विद्यालयको भनाइ छ । शिक्षाप्रति कुनैपनि अभिभावक जिम्मेवार नहुने गरेका कारण विद्यालयको समग्र अवस्था सुधारमा समस्या भइरहेको बताइएको छ ।
जनता माविमा विद्यार्थी संख्याको अनुपातमा भवनहरु र खेलमैदानको उचित व्यवस्था गर्न सकिएको छैन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोगीसिंह बोहराले विद्यालयलाई राम्रो बनाउन धेरै काम गर्न बाँकी रहेको बताए । भौतिक संरचना, घेरापर्खाल र खानेपानीको पर्याप्त व्यवस्था नभएका कारण विद्यार्थीहरुलाई समस्या भइरहेको उनको भनाइ छ ।
यता मेल्लेख गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले भने जनता मावि मेल्लेखलाई विकास गर्नका लागि र शैक्षिक रुपमा अब्बल बनाउनका लागि आफू प्रयत्नशिल रहेको बताए । सरकारी कोटाको प्राविधिक शिक्षालय र विद्यालय भवन निर्माणका लागि निरन्तर पहल गरिरहेको अध्यक्ष बोहराको भनाइ छ । साथै शिक्षकको नियमितता र शैक्षिक गुणस्तरका लागि विद्युतिय हाजिरी प्रणालीलगायत अन्य व्यवस्थापनका कार्यहरु पनि सुरु गर्न लागिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्