सडक छेउका संरचना हटाउन निर्देशन
![](https://www.karobardaily.com/wp-content/uploads/2020/08/road.png)
पाँचथर-मेची राजमार्गअन्तर्गत (तत्कालीन चारआली–इलाम–फिदिम) पाँचथरको सदरमुकाम फिदिम बजार क्षेत्रमा सडक विस्तार हुने भएको छ । राजमार्गलाई विस्तार गर्न बजार क्षेत्रमा सडक छेउछाउ रहेको संरचना हटाउन १५ दिने सूचना प्रकाशित भएको हो । सडक डिभिजन कार्यालय इलामले पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजार क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना १५ दिनभित्र हटाउन डिभिजनले सार्वजनिक सूचना जारी गरेको छ ।
मेची राजमार्गअन्तर्गत फिदिम बजारमा यसअघि साघुरो रहेको सडकलाई विस्तार गरिने भएको हो । निकै लामो समयदेखि सडक विस्तारको कुरा चले पनि कार्यान्वयन हुनसकेको थिएन । सडक दुवैतर्फ १५ मिटरका दरले विस्तार गर्ने सम्बन्धी निर्णय विक्रम संवत २०३४ सालको राजपत्रमा सूचना प्रकाशित भइसकेको छ । सोही आधारमा नगर क्षेत्रभित्र काम अगाडि बढाउन लागिएको हो ।
चालू आर्थिक वर्ष ०७७÷७८ मा काम सक्ने गरी सडक विस्तार तथा स्तरोन्नतिको कार्य गर्नुपर्ने भएकाले सडक क्षेत्र मिचेर बनाइएका संरचना हटाउन सूचित गरिएको डिभिजन कार्यालय इलामले जनाएको छ । सूचना जारी भएको १५ दिनसम्म पनि संरचना नहटे सार्वजनिक सडक ऐन २०३१ अनुसार हुने उल्लेख छ । ऐनमा सरकारले आफै हटाउने प्रावधान छ । सार्वजनिक सडक ऐन २०३१ अनुसार निर्धारित सूचनाअनुसार संरचना नहटाइए सडक बिभागले संरचना हटाइ स्थानीयलाई भत्काउदाको खर्च बेहोनु पर्ने प्रावधान रहेको छ ।
सडक विभागले सूचना प्रकाशित गरेपछि फिदिम बजार क्षेत्रमा निकै तरंग छाएको छ । बजार क्षेत्रबाट निकै घर विस्थापित हुने भएका छन् । धेरै स्थानीयको घरसहित जग्गा पनि नरहने भएपछि केही स्थानीयमा निराशासमेत छाएको छ । सडक विस्तार भएसँंगै धेरै स्थानीय घरविहीन हुने भएका छन् ।