१७३ मिटर उचाइबाट बञ्जी जम्प गर्न पुल बन्दै «

१७३ मिटर उचाइबाट बञ्जी जम्प गर्न पुल बन्दै

सिन्धुपाल्चोक-जिल्लाको प्रमुख पर्यटकीय गाउँ हेलम्बुमा एक सय ७३ मिटर उचाइबाट साहसिक खेल बञ्जीजम्प गर्न पाइन भएको छ । हेलम्बु गाउँपालिका–१ स्थित ङिवादावामा बन्न लागेको पुलबाट बञ्जीजम्प खेल सञ्चालन हुन लागेको हो ।
कुल तीन सय ७० मिटर लम्बाइमा बन्न लागेको पुलको झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता र्भसकेको छ । गाउँपालिकाका अनुसार उमा÷थानी हिमशिखर जेभीसँग दुई करोड ३५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।
गुम्बाको सहर भनेर चिनिने हेलम्बुमा आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न बञ्जीजम्प खेलाउने उद्देश्यका साथ पुल निर्माण गरिन लागिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । बञ्जीका लागि गाउँपालिकाले गतवर्ष डा एनएल जोशी कन्सल्टेन्सीलाई विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने जिम्मा दिएको थियो । डीपीआरले पाँच करोड ३९ लाख बजेट लाग्ने अनुमान गरेको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय सडक पूर्वाधार निर्देशनालयबाट १८ महिना अवधिमा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको हो ।
ह्योल्मो जातीप्को बसोबास रहेको हेलम्बु धार्मिक सांस्कृतिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । पर्यटन प्रवद्र्धनका लागि ६० किलोमिटर लामो ग्रेट ट्रेलको निर्माण कार्य अधिल्लो वर्षबाट सुरु भइसकेको छ । “पर्यटक भित्र्याई हेलम्बुवासीलाई अर्थतन्त्रमा अब्बल बनाउने यो अभियान हो”, गाउँपालिका अध्यक्ष शेर्पाले भने, “झोलुङ्गे पुल तयार भएपछि बञ्जीजम्पको कामको थालनी गरिनेछ ।”
साहसिक खेल बञ्जी खेलाइने पुलले स्थानीय पाङगाङमा र धवागाङ गाउँलाई जोड्छ । पुल निर्माण भएपछि एक गाउँबाट अर्को गाउँ पुग्न अहिले खर्चिँदै आएको झण्डै पाँच घण्टाको समय बढीमा पाँच मिनेटमा पार गर्न सकिने गाउँपालिकाका सव—इन्जिनीयर शेरबहादुर राईले बताए । “अहिले जनताले सास्ती पाइरहेका छन्” उनी भन्छन्, “पुल बनेपछि यात्रा सहज हुन्छ, उकाली ओराली गर्नुपर्ने झण्झण्डबाट गाउँवासीले छुटकारा पाउनेछन् ।”
पुल निर्माणपछि त्यहाँबाट नजिकै रहेको सिमिसिदाङ हिमाल पनि देख्न सकिन्छ । मेलम्ची आनेपानी आयोजनाको अम्बाथानमा रहेको मुहानसमेत हेर्न पाइने हुँदा पर्यटक आकर्षित हुने गाउँपालिका अध्यक्ष निमाग्याल्जेनले विश्वास गरे ।
कूल १६० मिटर उचाइको बञ्जीजम्प २०५६ सालदेखि जिल्लाको भोटेकोसी नदीमा सञ्चालन हुँदै आएको छ । अब बन्ने बञ्जी भोटेकोसीको भन्दा १३ मिटर बढी उचाइको हुने छ ।

किशोर बुढाथोकी

प्रतिक्रिया दिनुहोस्