कोरोनाले निम्त्याएको गरिबी र बेरोजगारी

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण हाल विश्व अर्थतन्त्रको अवस्था दिन–प्रतिदिन ओरालो लाग्दै गयरहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले गत अप्रिलमा गरेको प्रक्षेपणअनुसार विश्व अर्थतन्त्र सन् २०२० मा ३ प्रतिशतले ऋणात्मक हुने भनिएकोमा जुनको प्रक्षेपणले ४.९ प्रतिशतले ऋणात्मक हुने भनिएको छ । विकसित मुलुकको अर्थतन्त्र अप्रिलमा ६.१ प्रतिशतले ऋणात्मक हुने भनिएकोमा जुनमा ८.० प्रतिशतले ऋणात्मक हुने भनिएको छ । उदीयमान मुलुकहरूको अर्थतन्त्र १ प्रतिशतले ऋणात्मक हुने भनिएकोमा अहिले ३.० प्रतिशतले ऋणात्मक हुने भनिएको छ । त्यसैगरी संयुक्त राज्य अमेरिकाको अर्थतन्त्र ८ प्रतिशतले घट्ने र बेलायतको अर्थतन्त्र १०.२ प्रतिशतले घट्ने भनिएको छ । हाम्रै छिमेकी मुलुक भारतको अर्थतन्त्र पनि ४.५ प्रतिशतले घट्ने भनिएको छ ।
कोरोना भाइरसको दुष्प्रभाव पछिल्लो महिनामा अमेरिका, बेलायत, ब्राजिल, भारत आदि ठूला अर्थतन्त्र भएका मुलुकका अर्थतन्त्रमा झन्–झन् व्यापक हुँदै गएकाले विश्व अर्थतन्त्रको अवस्था अन्तर्राष्ट्रिय मुद्रा कोषको पछिल्लो प्रक्षेपणमा अझ खराब हुने देखिएको छ । अप्रिल–जुनको त्रैमासमा अमेरिकाको अर्थतन्त्र अघिल्लो त्रैमासको तुलनामा ३२.९ प्रतिशतले खुम्चिएको र बेलायतको अर्थतन्त्र २०.४ प्रतिशतले खुम्चिएको जानकारी त्यहाँको सरकारी तथ्यांकले देखाएको छ ।
हाल विश्वको अर्थतन्त्र यसरी तीव्र रूपमा खस्किँदै गएसँगै विश्वमा गरिबी र बेरोजगारी पनि तीव्र रूपमै बढ्दै गइरहेको छ । यसको प्रभाव नेपालमा समेत परेको छ । नेपालमा पनि गरिबी र बेरोजगारी बढ्दै गइरहेको छ । यसले नेपालको अर्थतन्त्रमा समेत प्रभाव पारेको छ । साना किसान, ज्याला–मजदुरी गर्ने, साना स्वरोजगार गर्ने र भारतमा सानोतिनो रोजगारी गरेर गुजारा चलाउँदै आएकाहरूको अवस्था भोकमरीको रूपमा पुगेको छ । यो ज्यादै दुःखको कुरा हो ।
हाल नेपालमा चार महिनासम्म लगातार बन्दाबन्दी हुँदा भएको आर्थिक क्षतिको हिसाब गरिसाध्य छैन । लगातार चार महिनासम्म बन्दाबन्दीमा बसेर उकुसमुकुस भएका जनताले बन्दाबन्दीलाई केही हदसम्म खुकुलो पार्न माग गरे । आर्थिक गतिविधि बन्द गरिएपछि सरकारको ढुकुटीसमेत रित्तिन थालेकाले सरकारले पनि राजस्वका निमित्त आर्थिक गतिविधि सुचारु गर्न चाहिरहेको थियो । त्यसैले सरकार र जनता दुवैको चाहनाबमोजिम गत साउन १ गतेबाट बन्दाबन्दी केही हदसम्म खुकुलो पारियो । पसलहरू खुले, सहरभित्रका सार्वजनिक सवारी साधनहरू खुकुलो पारियो । बाहिरबाट उपत्यका प्रवेश गर्न खुकुलो पारियो । ठूला होटल–व्यवसाय, लामो दूरीका यातायातका साधन, आन्तरिक तथा बाह्य हवाई उडान सुचारु गर्ने दिन पनि तोकियो । तर, बन्दाबन्दी खुलाएको एक महिना नपुग्दै उपत्यकामा संक्रमण ह्वात्तै बढ्यो । भाइरस समुदायमा प्रवेश ग¥यो र देशका धेरै ठाउँमा सिल गरियो । उपत्यका प्रवेश गर्न र उपत्यकाबाट बाहिर निस्कन पुनः प्रतिबन्ध लगाइयो । सञ्चालनमा आइसकेका देशका आर्थिक गतिविधिहरू पुनः स्थगित गर्नुप¥यो । त्यसैले नेपालमा गरिबी र बेरोजगारीको समस्या सिर्जना भयो । यसले सुध्रन लागेको नेपालको अर्थतन्त्रलाई पुनः पछाडि धकेलेको छ ।
हालको सन्दर्भलाई मध्यनजर गर्दा हाल नेपालमा सञ्चालित उद्योगधन्दा, व्यापार, व्यवसाय तथा गैरकृषि क्षेत्रहरू बन्द रहेका छन् । त्यसैले यस्ता क्षेत्रमा आबद्ध मानिसहरू निष्काम वा बेरोजगार भएका छन् । तर, नेपालको कृषि क्षेत्रलाई भने कोरोना भाइरसले प्रभाव पारेको छैन । बन्दाबन्दीका बेला पनि कृषि क्षेत्र बन्द भएन । त्यसैले यस क्षेत्रमा आबद्ध किसानहरू निष्काम वा बेरोजगार रहनु परेन । किसानहरूले मौसमअनुसार काम गर्ने गर्छन् । उनीहरू वर्षैभरि खेतीबारीमा व्यस्त रहन्छन् । किसानहरूको अन्नपानीको स्रोत कृषि भएकाले कृषि कार्यलाई वर्षैभरि सक्रिय राख्छन्, अनि कृषिबाट राम्रो आम्दानी पनि गर्छन् । नेपाल एक कृषिप्रधान देश हो । त्यसैले नेपालमा कृषिको महŒव र सम्भावना अति नै धेरै छ । त्यसैले हामी सबैले कृषिको महŒव र सम्भावनालाई बुझ्न जरुरी छ । तर, नेपालमा आजसम्म पनि परम्परागत कृषि प्रणाली रहेको छ । त्यसैले नेपालमा कृषिलाई आधुनिकीकरण गर्नु आवश्यक छ । यदि कृषिलाई आधुनिकीकरण गरियो भने यसले किसानलाई मात्र होइन, सिङ्गो नेपाललाई नै एक समृद्ध र आत्मनिर्भर मुलुक बनाउने कुरामा कुनै आपत्ति छैन । हाल कोरोना भाइरसले नेपालीलाई कृषिको महŒव बुझ्न सहयोग गरेको छ भन्न सकिन्छ । त्यसैले यो कोभिड–१९ को घटना नेपालको कृषि विकासका लागि ‘सट इन द आर्म’ हुन सक्छ ।
—सुजन पौडेल