व्यवसायलाई पनि बचाऔं, बैंक पनि बाँचौं : गभर्नर अधिकारी «

व्यवसायलाई पनि बचाऔं, बैंक पनि बाँचौं : गभर्नर अधिकारी


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्त कम्पनीलाई अस्वस्थ प्रतिस्पर्धा नगरी व्यवसायलाई पनि बचाउन तथा बैंक पनि बाँच्नु पर्ने सुझाव दिएका छन् ।
अधिकारीले मंगलबार बैंक तथा वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सँग एकीकृत निर्देशिका २०७७ बारे छलफल गर्दै अर्थतन्त्र अप्ठयारो स्थितीमा रहेकोले व्यवसायलाई पनि बचाउनु पर्ने र बैंक पनि बाँच्नुपर्ने हुनाले सोही अनुसारले काम गर्न सुझाव दिएका हुन् ।
उनले बैंक तथा वित्त कम्पनीलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न पनि निर्देशन दिए । “हाल प्रस्पिर्धात्मक व्यवसाय गर्ने समय होइन,” उनले भने । वित्तीय बजारमा अस्वस्थ प्रतिस्पर्धा देखिएकाले उनले ऋणको ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गरे भोलिका दिनमा समस्या आउनसक्ने पनि बताए ।
‘क’, ‘ख’ र ‘ग’ वर्गकै वित्तीय संस्थाहरुको सीइओहरुलाई बोलाइएको सो बैठकमा राष्ट्र बैंकले जारी गर्न लागेको एकीकृत निर्देशिका २०७७ को बारेमा जानकारी गराउँदै उनले गत भदौ २१ सम्म ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा कुल ३,९३८ अर्ब निक्षेप र ती संस्थाबाट ३,२५५ अर्ब कर्जा प्रवाह भएको जानकारी दिए । उनले पछिल्लो समय कर्जा स्रोत परिचालन अनुपात ७२ प्रतिशत रहनुले लगानीका लागि पर्याप्त साधन उपलब्ध भएको तथा बंैकिङ क्षेत्रको पुँजी पर्याप्तता अनुपात १५ प्रतिशत र खराब कर्जा अनुपात १.८ प्रतिशत रहेका कारण वित्तीय क्षेत्र स्थायित्व कायम रहेको पनि बताए । तर, कोभिड संक्रमणका कारण वित्तीय क्षेत्रमा परेको दवावलाई यथार्थरुपमा परिसूचकमा प्रतिविम्बित गर्ने जिम्मेवारी बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीहरुमा रहेकोमा उनको जोड थियो ।
बैंक तथा वित्तीय संस्थाहरुसँग अधिक तरलता रहेको र यसलाई समस्या भन्दा पनि सहजताको सूचकको रुपमा लिनुपर्नेमा जोड दिँदै उनले तरलता बढेको अवस्थामा कर्जा दुरुपयोग हुन सक्नेतर्फ सजग रहनु पर्ने बताए ।
पुनरकर्जाको लागि आवेदन लिन बैंक तथा वित्तीय संस्थाहरुले आनाकानी गरिरहेको गुनासो प्राप्त भएको उल्लेख गर्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले जारी गरेका नीतिगत व्यवस्थाप्रति जिम्मेवार रहन समेत सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
गभर्नर अधिकारीले निर्यातको स्थिरता, आयातमा भएको व्यवस्थापन, चालू खाता घाटामा उल्लेख्य सुधार रहेको बताउँदै शोधनान्तर स्थिति २८२ अर्बले बचतमा रहेको र विदेशी विनिमय सञ्चिति १४ खर्बभन्दा माथि रहनुले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्न सक्ने अवस्था रहेको उल्लेख गरे ।
बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागितामा वेबिनारमार्पmत आयोजना गरिएको उक्त छलफललाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कोभिड–१९ को संक्रमणको अवधिमा समेत मुलुकको समष्टिगत आर्थिक स्थायित्वसँग सम्बन्धित परिसूचकहरु सकारात्मक रहेका धारणा राखे । राष्ट्र बैंकले मंगलबार नै जारी गर्ने एकीकृत निर्देशनका विषयमा छलफल गरिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले मंगलबारबाट तीन दिन बैंक तथा वित्तीय संस्थाका राजस्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन जारी गरेको छ । सरकारले भदौ २५ सम्म राजस्व तिरिसक्न करदाताहरुलाई अनुरोध गरेसँगै राष्ट्र बैंकले भदौ २३ गतेबाट तीन दिनसम्म राजस्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको हो ।
राजस्व उठाउने म्याद सकिन लाग्दा सीमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुने भएकाले सहज तरिकाले राजस्व तिर्ने वातावरण बनाउनका लागि निर्देशन जारी गरेको राष्ट्र बैंक जनाएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै बैंक तथा वित्तीय संस्थाहरुले सीमित शाखा मात्रै खुल्ला गरी समिति कर्मचारी राखेर सेवा दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्