होम आइसोलेसनमा बसेका संक्रमितहरू बजार डुल्छन् «

होम आइसोलेसनमा बसेका संक्रमितहरू बजार डुल्छन्

हेटौंडा-कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा रहेकाहरूले हेलचेक्र्याईं गर्दा हेटौंडामा थप संक्रमणको जोखिम बढेको छ । होम आइसोलेसनमा बसेकाहरूमाथि सम्बन्धित निकायले आवश्यक निगरानी नगर्दा संक्रमितहरू घरबाहिर निस्कने गरेको गुनासो आउन थालेको छ ।
पछिल्लो समय संक्रमितहरू घरबाहिर निस्किएर बजारमा सामान किन्न जाने, मर्निङ वाकमा जाने, पूजा गर्नका लागि भन्दै फूल टिप्न बाहिर निस्कने जस्ता कामहरू भइरहेको भन्दै आफूलाई स्थानीयले गुनासो गर्ने गरेको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले जानकारी दिए । सोमबार साँझसम्ममा हेटौंडामा २ सय जनाभन्दा बढी संक्रमित होम आइसोलेसनमै छन् । उनीहरूले आवश्यक मापदण्ड पूरा गरी घरमै जानकारी सम्बन्धित निकायलाई गराए पनि उनीहरूले लापरबाही गरिरहेको गुनासो आएको चौलागाईंले बताए ।
हेटौँडामा रहेको आइसोलेसन वार्डमा बेड अभाव भएपछि साउन अन्तिम सातादेखि घरमा आइसोलेसन बनाएर संक्रमित बस्न सुरु गरेका थिए । मंगलबार बिहान मात्र फरक–फरक टोलका तीन जना संक्रमित घरबाहिर निस्किएको गुनासो आफूलाई आएको जनस्वास्थ्य अधिकृत चौलागाईंले बताए । “संक्रमितहरू घरभित्रै बस्नुपर्नेमा घरबाहिर निस्कँदा समुदायमा त्रास फैलिएको छ भने जोखिम पनि बढेको छ । मलाई ३ जनाले फोन नै गरे । अरु धेरै त्यसरी निस्केर हिँड्ने गरेको अनुमान छ । उनीहरूलाई घरभित्रै बस्न बाध्य बनाउन स्थानीय जनप्रतिनिधि पनि सक्रिय हुनुपर्ने देखिन्छ,” उनले भने ।
संक्रमितको नाम गोप्य हुनु र संक्रमित बसिरहेको घरको बारेमासमेत टोल छिमेकलाई पनि जानकारी नहुनु जस्ता कारणले जोखिम धेरै बढेको स्थानीयको गुनासो छ । मकवानपुरमा हालसम्म ४ सय १४ जना संक्रमितले कोरोनालाई जितेका छन् । हेटौैंडाको गौरीटार आइसोलेसनमा ८५ जना र कर्रा आइसोलेसनमा एक जना संक्रमित उपचाररत छन् । जिल्लामा सोमबार बेलुकासम्ममा ७ सय २० जनालाई संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्