Logo

सरकारी आइसोलेसनभन्दा कोरोना संक्रमित होम तथा कम्पनीका आइसोलेसनमा बढी

पोखरामा कोरोना संक्रमण दर बढेसँगै सरकारी संस्थागत आइसोलेसन उपचार केन्द्रभन्दा होम आइसोलेसन तथा विभिन्न निजी कम्पनीको आइसोलेसनमा बढी संक्रमितहरूलाई व्यवस्थापन गरिन थालिएको छ ।
पोखरासहित कास्की क्षेत्रमा कोरोना संक्रमण दर दैनिकजसो बढ्दै गएपछि हाल सरकारी संस्थागत आइसोलेसनभन्दा होम तथा विभिन्न कम्पनी एवं संस्थाहरूले आफ्नो ढंगले आइसोलेसनको व्यवस्था मिलाउने गरेको कास्कीका जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले बताए ।
उनका अनुसार सरकारी आइसोलेसन उपचार (स्वास्थ्य) केन्द्रमा हाल करिब ८८ जना रहेका छन् भने १ सय ४० जना होम आइसोलेसन तथा निजी विभिन्न कम्पनीले आइसोलेसनमा व्यवस्थापन गरेका छन् । उनले भने, “कोरोना संक्रमण देखा पर्दैमा त्रसित हुनुपर्दैन ।
यद्यपि कोरोना लक्ष्यण बिना नतिजा मात्र पोजेटिभ देखिएमा स्वास्थ्यमा कुनै समस्या नआएमा होम आइसोलेसनमा बस्न सकिन्छ, यदि कम्पनीको हकमा कम्पनीले आइसोलेसनको व्यवस्था मिलाउनेछ ।”
कोरोना संक्रमित भएका व्यक्तिमा स्वास्थ्यमा समस्या आएमा, मुटु, मधुमेह, उच्च रक्तचाप लगायतका दीर्घरोग भएकाहरूलाई स्वास्थ्य उपचार केन्द्रको आइसोलेसनमा राख्नुपर्ने जनस्वास्थ्य अधिकृत आचार्यले बताए ।
यसैबीच, पोखरामा हाल ७९ जना कोरोना संक्रमित व्यक्तिहरू होम आाइसोलेसनमा रहेको पोखरा महानगरपालिकाका जनस्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए । उनका अनुसार ५८ जना कोरोना संक्रमितहरूलाई विभन्नि संघ–संस्था तथा कम्पनीहरूले निजी रूपमा आइसोलेसनमा व्यवस्थापन गरेका छन् । २ सय १४ जना कोरोनाको संक्रिय केसमध्ये स्वास्थ्य उपचार केन्द्रका आइसोलेसन कक्षमा ७७ जना छन् । पोखरामा हालसम्म ४ सय ५३ जनामा कोरोना संक्रमण देखा परेको जनस्वास्थ्य अधिकृत आचार्यले बताए ।
हालसम्म पोखरामा कोरोना संक्रमणबाट २ सय ३२ जनामा निको भएको छ भने ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । दीर्घ रोगी भएकाहरूलाई कोरोना संक्रमण देखा परेमा उनीहरूको स्वास्थ्यमा तत्काल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी स्वास्थ्य उपचार केन्द्रको आइसोलेसनमा राख्नुपर्ने उनले बताए ।
उनले भने, “अन्य सामान्य मानिसहरूलाई बिना लक्षण कोरोनाको पोजेटिभ मात्र देखिएकाहरूलाई वातावरण भएसम्म होम आइसोलेसनमा यदि संस्थागत एवं कम्पनीको हकमा संस्थाले व्यवस्थापन गर्दा राम्रो हुन्छ यसको अभ्यास पोखरामा सुरु भएको छ ।”
पोखरामा पछिल्लो समयमा समूहमा कोरोना संक्रमण देखा परेसँगै स्वास्थ्य उपचार केन्द्रमै उनीहरूलाई व्यवस्थापन गर्न कठिन हुन थालेको जनस्वास्थ्य अधिकृत आचार्यले बताए ।
कोरोना संक्रमण देखा परेकाहरू अन्य व्यक्तिमा सर्न नदिन आफैं सतर्क हुनुपर्ने, घर परिवार र छरछिमेकमा सर्न नदिन आफैं सावधानी अपनाउनु पर्ने उनले जोड दिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्र, सिशुवाको लेखनाथ सामुदायिक लायन्स अस्पताल र कृषि तालिम केन्द्रमा सरकारी आइसोलेसन उपचार केन्द्र स्थापना भएको छ ।

प्रतिक्रिया दिनुहोस्