सदाबहार कोसेली ‘पवनको पेडा’ «

सदाबहार कोसेली ‘पवनको पेडा’

मिठाईहरूको बादशाहका रूपमा पेडालाई लिने गरिन्छ । दूधको खुवा बनाई त्यही खुवाबाट पेडा बन्छ । पेडाको कुरा गर्दा नेपालमा प्रचलित एउटा नाम हो भैरहवास्थित पवन मिष्ठान्न भण्डारको पेडा । पवनको पेडा भने पछि भैरहवा, बुटवल मात्र होइन, काठमाडौंमा समेत एउटा ब्रान्ड बनेको छ ।
भैरहवाको पवनको पेडा मन पराउने धेरै नै छन् । देशभित्रबाट मात्र होइन देश बाहिर रहेका नेपालीहरूले पनि भैरहवाबाट कोही विदेश भ्रमणमा गए पवनको पेडा कोसेली ल्याउन सबैले आग्रह गर्छन् । पवनको पेडा बन्न लागेको गत भदौ २ गते ५० वर्ष पूरा भएको छ । राधेश्याम हलवाई पवन मिष्ठान्नका संस्थापक हुन् । उनले आफ्नो जेठा छोरा पवन हलवाईको नाममा मिष्ठान्न पसलको नाम पवन जुराएका हुन् । राधेश्यामका पिता मोतीलाल हलवाईले गर्ने मिठाई व्यवसायलाई उनले निरन्तरता दिँदै वर्तमान स्वरूपमा ल्याई पुराएका हुन् । राधेश्यामले २०२५ साल भदौ २ गते मिठाई व्यवसाय सुरुवात गरेका हुन् । उनले आफ्नो जन्म महिना पारेर भदौ महिनामा मिष्ठान्न व्यवसाय सुरु गरेका हुन् । ५० वर्षअघिको पवनको पेडाको स्वाद लिएकाहरू अहिले पनि उति बेलाको स्वाद र अहिलेको स्वादमा खासै भिन्नता नरहेको बताउँछन् । बिना मिसावट शुद्ध दूधबाट उत्पादन गरी गुणस्तरीय भएकाले नै पवनको पेडा देश विदेशमा नाम राख्न सफल भएको हलवाईले बताए । “हाम्रो मिठाईमा पुख्र्यौली स्वाद छ र गुणस्तरीयता पनि, हामी शुद्धतामा विश्वास गर्छौं,” उनका जेठा छोरा पवल हलुवाईले भने ।
मैले विगत १० वर्षदेखि पवनको पेडाको स्वाद लिइरहेको छु, त्यति बेलाको स्वाद र अहिलेको स्वादमा कुनै भिन्नता छैन । पो पटक दसंैमा इलाम घर लैजान साथीभाइमार्फत मगाएको छु, पवनको पेडा जिब्रोमा झुन्डिएको नाम हो, काठमाडौंमा कार्यरत सञ्चारकर्मी मुकुन्द दाहालले भने ।
सिद्धार्थनगर नगरपालिकाका अधिकृत दुव्र्यन्त थापा मगरले पनि आफूलाई विदेशमा भएका इस्टमित्र र साथीभाइहरूले पवनको मिठाई मगाउने गरेको बताए ।
पवनको पेडा भनेको भैरहवाको एउटा ब्रान्ड हो । पवनका पेडा पारखी तथा फ्युचरलाइट बोर्डिङ स्कुलका संस्थापक तथा प्राचार्य गम्भीर गुरुङले भने ।
तिहारमा बढी बिक्ने पवनको मिठाईसँगै पेडाको माग दसैंमा पनि अत्यधिक हुने गरेको छ । दसैंमा टीका लगाउन आफन्त कहाँ जानेहरूलाई पानी सँगै मिठाई र पेडा दिइने चलन छ भने टीका लगाउन जाँदा कोसेलीका रूपमा पवनका मिठाई र पेडा कोसेलीको रूपमा जाने गरेको छ । दसैं–तिहारमा फलफूलसँगै स्थान बनाएको पवनको पेडा मिठाईले पनि हो ।
पवन मिष्ठान्न भण्डारमा पेडा सहीत मिठाई किन्नेको भीडनै हुन्छ । स्थानीय बासिन्दाको त प्रायः सधै नै भीड हुन्छ पवन मिष्ठान्नमा । अहिले भैरहवा र ‘पवनको पेडा’ लगभग पर्यायवाची बनिसकेको छ । पवनको पेडाको बखान गरेर नथाक्ने स्वदेश र विदेशमा समेत प्रशस्तै छन् । कसैको घरमा पाहुना आए सत्कारका लागि होस् वा बाहिरबाट आएको व्यक्ति घर फर्किदा कोसेली स्वरूप होस् सवबको रोजाई बन्ने गरेको छ पवनको पेडा । अन्य मिठाईको तुलनामा पेडा धेरै दिनसम्म नबिग्रिने भएकाले पवनको पेडा अमेरिका, बेलायत, मलेसिया थाइल्यान्ड, हङकङ, फिलिपिन्स, भारत क्यानाडा, सिंगापुर, अष्ट्रेलिया, भारत, कम्बोडियालगायत खाडीका धेरै देशमा पुग्ने गरेको पवन मिष्ठानका जन्मदाता राधेश्याम हुलुवाई भन्छन् । ‘चाडपर्वका बेलामा त पेडाको अग्रिम बुकिङसमेत हुनेगर्छ । मिठाईमैं जन्मेको, हुर्केको र वाचेका व्यक्ति हुन राधेश्याम हलुवाई र त्यसको उचित व्यवस्थापन गर्दै अहिलेको अवस्थासम्म ल्याई पुराउन पिताको काँधमा काँध राख्दै अघि बढाउन मद्दत गर्ने छोरा पवन हुन् ।
५० वर्षदेखि लगातार पेडासहित अन्य मिठाईहरूको जुन गुणस्तर हामीले उपभोक्ताहरूलाई दिइरहेका छांै, त्यो गुणस्तर सयौं वर्षसम्म कायम रहोस, भन्ने मेरो इच्छा छ ।

प्रतिक्रिया दिनुहोस्