८० हजार श्रमिक तत्काल उद्धार प्रतीक्षामा «

८० हजार श्रमिक तत्काल उद्धार प्रतीक्षामा


प्रमुख आठ श्रम गन्तव्यबाट सवा लाख नेपालीले तत्काल उद्धार गर्न निवेदन दिएपनि हालसम्म ४७ हजार श्रमिकको मात्र उद्धार गरिएको छ । कोरोनाभाइरस (कोभिड–१९) कारण रोजगारी गुमाएर र अन्य कारणले विदेशमा अलपत्र परेका श्रमिकमध्ये सोमबारसम्म ४७ हजार ४ सय ५८ को उद्धार गरिएको छ । यो संख्या अन्य उद्धार गरिएका गैरश्रमिक बाहेकको संख्या मात्र हो ।
कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) सोमबारसम्म ५८ हजार ७ सय ४८ नेपालीको उद्धार गरिसकेको जनाएको छ । हालसम्म उद्धार गरिएकामध्ये श्रमिक बाहकको १० हजार २ सय ९० मात्र गैरश्रमिक रहेका छन् । उद्धारको लागि निवेदन दिएका भन्दा नेपाल तत्काल आउनुपर्ने श्रमिकको संख्या बढी भएपछि सरकारले सात नियोगमा अलपत्र श्रमिकका लागि सेल्टर समेत तयार गरेको छ । श्रम गन्तव्यमा अलपत्र पर्ने श्रमिकको संख्या बढ्दै गएपछि मन्त्रालयले तत्काल उद्धार गर्न नसकिएका र उडानको पर्खाईमा रहेका श्रमिकका लागि साउदी अरब, कुवेत, दुबइ, ओमान, कतार, मलेसिया र बहराइनमा रहेका ७ वटा नियोगमा सेल्टर हाउस समेत सञ्चालनमा ल्याएको जनाएको छ । सेल्टरको क्षमता कम भएका कारण हजारौं श्रमिक महिनौंदेखि खाने र बस्नेको स्थानको समेत अभाव रहेको छ । कतिपय श्रमिकलाई नियोग, गैरआवासिय नेपाली संघ र संघसंस्थाले खाने बस्नेको व्यवस्था गरिरहेको भएपनि सबै श्रमिकले सो सुविधा नपाएको गुनासो गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भदौ १८ सम्म १ लाख २५ हजार ९ सय ६० श्रमिकले उद्धारको लागि निवेदन दिएको जनाएपनि हालसम्म आधाभन्दा कमको मात्र उद्धार गरिएको जनाएको छ । मन्त्रालयले कतार, मलेसिया, साउदी अरब, युएई, ओमान, बहराइन, कुवेत, दक्षिण कोरियाका १ लाख २५ हजार श्रमिकले उद्धारका लागि निवेदन दिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले निवेदन दिएका श्रमिकको प्राथमिकताअनुसार नेपाल ल्याउने काम भइरहेको जानकारी दिए ।
श्रममन्त्री रामेश्वर राय यादवले समेत केही दिनअघि कोभिड १९ को संकटमा श्रमिकलाई व्यवस्थापन गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा संक्रमणका कारण विदेशमा रहेका श्रमिकलाई स्वदेश फर्किन सहजीकरण गर्ने र स्वदेश फिर्तापछि पुनस्र्थापना सम्बन्धमा अध्ययन गरी कार्ययोजना बनाइरहेको जनाएका छन् । विदेशमा अलपत्र पर्ने नेपालीमध्ये श्रमिकको संख्या बढिरहेका कारण सरकारले मुख्य श्रम गन्तव्यलाई लक्षित गरी उडान तालिका तयार गरेको छ ।
हालसम्म सबैभन्दा बढी युएईबाट १६ हजार ३ सय ७६, मलेसियाबाट ९ हजार १ सय ८३ कतारबाट ७ हजार ३ सय ९४ श्रमिकको उद्धार गरिएको सीसीएमसीले सार्वजनिक गरेको सोमबारसम्मको प्रतिवेदनमा उल्लेख छ । यसैगरी कुवेतबाट ६ हजार ९ सय ६, साउदी अरबबाट ४ हजार ६ सय ४३, बहराइन ९ सय ८० र ओमान ८ सय ११ रहेको छ । यी देशबाट आउने अधिकांश श्रमिक भए पनि सीसीएमसीले भने उनीहरूको पेशाबारेमा उल्लेख गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्